यस साता ४ कारोबार दिनका लागि बजार खुलेको थियो। जसमध्ये सबै कारोबार दिन नेप्से बढेर बन्द भएको थियो। बैंक तथा वित्तीय संस्थाहरुलाई शेयर बजारमा लगानी गर्ने वातावरण केही सहज भएसँगै यस साताको बजार उकालो लागेको हो।
यस साता सेन्सेटिभ इण्डेक्स ६.७८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.९४ प्रतिशत बढेको छ।
यस साता नेप्सेसँगै दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत काराबार रकम ४७.८९ प्रतिशत अर्थात १ अर्ब ७८ करोड रुपैयाँ बढी हो। यस साता दैनिक औषत शेयर संख्या ५४.०९ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ४३.२३ प्रतिशत बढी हो।
नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७८ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।

यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १३.४४ प्रतिशत बढेको छ। गत साता १०५१.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४१.३२ अंक बढेर ११९२.७३ विन्दुमा पुगेको छ। यस साता सबैभन्दा कम बढ्ने उपसमूह भने लघुवित्त रहेको छ। सो उपसमूहको परिसूचक यस साता १.०७ प्रतिशत बढेको छ।
अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ३८७.७५ अंक बढेको छ। गत साता ९९९६.२९ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता बढेर १०३८४.०४ विन्दुमा पुगेको छ।

नेप्सेमा यस साता तीन कम्पनीको १ करोड ९१ लाख २४ हजार ३४६.७१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता समता घरेलु लघुवित्त र युनाइटेड इदी मार्दीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो भने अरुण भ्याली हाइड्रोपावरका हकप्रद शेयर सूचीकृत भएको हो।

यस साता बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २९.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता एनआईसी एशिया बैंकको शेयरमूल्य २५.७७ प्रतिशत र नबिल बैंकको १९.२६ प्रतिशत बढेको छ। कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस साता सर्वाधिक १३.३३ प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावटदर भने १० प्रतिशतभन्दा कम रहेको छ।

फ्लोरसिट विश्लेषण गर्दा यस साता नेशनल लघुवित्त वित्तीय संस्था, आरबिबि म्युचुअल फण्ड १, मेगा म्युचुअल फण्ड १ लगायतका स्टकहरु मोस्ट पपुलर बाइ स्टक सूचीको शीर्ष स्थानमा रहेका छन् भने मकर जितुमाया सुरु हाइड्रोपावर, माण्डु हाइड्रोपावर लगायतका स्टकहरु मोस्ट पपुलर सेल स्टक सूचीको शीर्ष स्थानमा रहेका छन्।

