राजनीति गर्ने भनेकै मन्त्री बन्न हो र मन्त्री बनेपछि राज्यको साधन स्रोतको दुरुपयोग गर्नु हो भन्ने मान्यता नै विकास गरिएको छ ।
तर, भारतमा आइतबार गठन भएको नरेन्द्र मोदी सरकारमा ‘जर्वजस्ती’ राज्यमन्त्री बनाइएका सुरेश गोपीले चलन चल्तीको राजनीतिक मूल्य मान्यता माथि नै कडा प्रहार गरेका छन् । बुझ्नेलाई श्रीखण्ड भनेझैं उनको कुराको मर्म बुझ्ने हो भने त्यो ‘झापड’ ले केवल भारतीय राजनीतिकर्मीलाई मात्र होइन, नेपालका राजनीतिक नेता कार्यकर्ताहरुलाई दह्रोसँग लाग्नु पर्ने हो ।
केरलको त्रिशुरबाट भाजपाका पहिलो सांसद बनेका अभिनेता तथा गायक गोपीले आफूसँग सल्लाह नगरि जर्वजस्ती राज्यमन्त्रीको सपथ दिलाइएको बताए । उनले आफूले मन्त्री बन्नको लागि राजनीति नगरेको बताउँदै सांसदको रुपमा प्रभावकारी भूमिका खेल्नु नै आफ्नो प्राथमिकता भएको बताए ।
शपथ ग्रहण गरेपछि आइतबार राती नै दिल्लीको एक समाचार च्यानलसँग कुराकानी गर्ने क्रममा गोपीले आफूले मन्त्री पद नमागेको अनि चाँडै नै आफूलाई मन्त्री पदबाट मुक्त गरिने आशा व्यक्त गरे । ‘म आफ्नो उद्देश्यमा स्पष्ट छु । सांसदको रूपमा आफ्नो क्षेत्रको विकासको लागि जे काम गर्न सकिन्छ, मन्त्रीको रुपमा त्यो गर्न सकिदैन । त्यसैले मैले पार्टीका कुनै पनि नेतासँग केही मागेको पनि थिइनँ, मसँग सल्लाह पनि नगरि एकै पटक सपथ ग्रहणको लागि बोलाइयो । मलाई लाग्छ, मेरो भावना प्रधानमन्त्री र पार्टी नेताहरुले बुझ्नेछन् र म छिट्टै पदमुक्त हुनेछु,’ उनले भनेका छन् ।
तेलगु, मलायालम लगायत दक्षिण भारतीय फिल्मका प्रतिष्ठित कलाकार उनले सांसदको रुपमा शसक्त भूमिका खेल्दै कलाकारिता पेशालाई निरन्तरता दिन चाहेको स्पष्ट पारेका छन् ।