ओलीकाे 'लिस्ट' मा फेरि परे पूर्वअर्थमन्त्री खतिवडा, अमेरिकाको राजदूत बन्ने पक्कापक्की भएपछि एमालेभित्र भाँडभैलाे

Jun 19, 2024 03:09 PM Merolagani

‘ओली दाइना हुनुपर्छ, फलिफाप हुन एमालेमा केही गर्नु पर्दैन’ भन्ने कार्यकर्ताको आरोपलाई पुष्टि गर्दै नेकपा एमालेको तर्फबाट डा. युवराज खतिवडालाई अमेरिकाको राजदूत बनाउने तयारी भएको छ । योसँगै एमालेका नेता कार्यकर्ताहरु ‘नियुक्ति पाउनको लागि खतिवडा बाहेक यो पार्टीमा अर्काे कोही छैन’ भन्दै आक्रोशित भएका छन् ।

सरकारले केही दिन अघि नेपाली कांग्रेसको कोटाबाट विभिन्न ११ देशकाका राजदूतहरुलाई फिर्ता बोलाएको थियो । फिर्ता बोलाइएका नेपाली राजदूतहरुमा डा‍‍. शंकरप्रसाद शर्मा, बेलायतका लागि ज्ञानचन्द्र आचार्य, स्पेनका लागि शर्मिला पराजुली ढकाल, डेनमार्कका लागि राम राय, अमेरिकाका लागि प्रा. श्रीधर खत्री, इजरायलका लागि कान्ता रिजाल, दक्षिण कोरियाका लागि प्रा.डा.ज्योति प्याकुरेल, साउदीका लागि नवराज सुवेदी, कतारका लागि नरेशविक्रम ढकाल र मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल रहेका छन् ।

ती राजूतहरुको फिर्तासँगै सरकारले नयाँ सत्ता गठबन्धनको भागवण्डा अनुसार नयाँ राजदूतहरु नियुक्तिको तयारी सुरु गरिएको छ । सत्ता गठबन्धनमा भएको परिवर्तनसँगै विगतमा नेपाली कांग्रेसको तर्फबाट राजदूत नियुक्त भएका अधिकाँश देशहरुमा यसपटक नेकपा एमालेको तर्फबाट नियुक्ति गर्ने तयारी भइरहेको छ । त्यसक्रममा खतिवडालाई फेरि राजदूत अमेरिकाको लागि नियुक्त गर्ने तयारी गरिएको हो । उनीसँगै दावाफुटी शेर्पा, डा.निर्मल विश्वकर्मा लगायतका व्यक्तिहरुलाई ओलीले ‘राजदूत बन्न तयार रहनु’ भन्ने आदेश दिएको बताइएको छ ।

उनीहरुलाई ‘राजदूतको लागि पुरा समय काम गर्न नपाएको’ भन्ने आधारमा राजदूत नियुक्त गर्ने तयारी गरिएको हो । तत्कालिन केपी ओली नेतृत्वको सरकारले २०७७ सालमा नियुक्त गरेका राजदूतहरु मध्ये २०७८ सालमा कांग्रेस माओवादी गठबन्धनको सरकारले अमेरिकामा राजदूत रहेका खतिवडा, स्पेनमा राजदूत रहेकी शेर्पा, दक्षिण अफ्रिकाको राजदूत रहेका विश्वकर्मासहित बेलायतका लोकदर्शन रेग्मी, चीनका महेन्द्रबहादुर पाण्डे, भारतका नीलाम्बर आचार्य बंगलादेशका डा. वंशिधर मिश्र, कतारका नारद भारद्वाज, इजरायलका डा.अञ्जान शाक्य, मलेसियाका उदयराज पाण्डे, र ओमानका शर्मिला पराजुलीलाई नियुक्त भएको २ वर्ष नपुग्दै फिर्ता बोलाएको थियो । त्यही आधारमा अहिले एमाले अध्यक्ष ओलीले आफू नजिकका खतिवडा, शेर्पा र विश्वकर्मालाई फेरि राजदूत बनाउने तयारी गरेका छन् । ओलीले आफूलाई भिनाजु भन्ने अन्जान शाक्यलाई भने राष्ट्रिय सभा सदस्य बनाइसकेका छन् ।

दलित अभियन्ता विश्वकर्मा र प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ ल्यामु शेर्पाकी छोरी दावाफुटीको विषयमा विवाद नभए पनि खतिवडालाई फेरि राजदूत बनाउने विषयमा भने एमाले भित्रै चर्काे विरोध शुरु भएको छ । किनकी खतिवडा एमालेभित्र कुनै उल्लेख्य योगदान नभइ सबैभन्दा धेरै अवसर पाउने अर्थशास्त्री मानिन्छन् । उनले एमालेकै जोडबलमा राष्ट्रिय योजना आयोगको सदस्य र दुई पटक उपाध्यक्ष, नेपाल राष्ट्र वैंकको गभर्नर, प्रधानमन्त्रीको सल्लाहकार, राष्ट्रिय सभा सदस्य, अर्थमन्त्री र अमेरिकाको लागि राजदूत पद सम्हालि सकेका छन् ।

खतिवडाले जति राजनीतिक नियुक्ति पाउने व्यक्ति अहिलेसम्म नेपालमा अरु कोही नभएको एमाले आर्थिक विभागका एक सदस्य बताउँछन् । ‘नेताको व्यक्तिगत काम गरिदिनु भएको होला तर पार्टीमा उहाँले उल्लेख्यरुपमा कुनै योगदान गर्नु भएको छैन । तर, उहाँलाई सधै पदैपद, नियुक्ति नै नियुक्ति, अरुलाई भने एक पटक पनि मौका नदिने, यस्तो भएपछि कार्यकर्ताहरुमा आक्रोश बढ्नु स्वभाविक हो ।’ नाम उल्लेख गर्न नचाहाने ती सदस्यले मेरो लगानीसँग भने ।

उनका अनुसार ओलीले आफूहरुको कुरा सुनुवाई होला भन्ने विश्वास नभए पनि राजदूत नियुक्त गर्दा पुरानालाई होइन, नयाँ र अवसर नपाएका नेता कार्यकर्तालाई प्राथमिकता दिन माग गर्दै दबाव दिने तयारी भइरहेको छ ।

 

comments powered by Disqus

सर्वाेच्च अदालतमा ओलीको ‘किचन क्याविनेट’ का सदस्यले बलजफ्ती गरेपछि रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी प्रकरण थप गिजोलिंदै

Jun 21, 2024 01:44 PM

कानुनका नौ सिङ भन्ने कुरा त सुनिएको थियो । तर, वकिलले चाहे भने मुद्दालाई कसरी घुमाइदिन सक्छन् भन्ने दृष्टान्त गृहमन्त्री रवि लामिछाने ‘अभियुक्त’ रहेको सूर्यदर्शन सहकारी प्रकरणमा देखिन थालेको छ ।