तर यो मान्यताले यस पटक भने काम गरेको देखिएन। ब्याजदर निरन्तर रुपमा ओरालो लाग्दै आइरहेको छ तर शेयर बजारले भने बढ्दो लय समाउन सकेको छैन।
जबकि असारमा वाणिज्य बैंकहरूको एक वर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.८७६ र साधारण निक्षेपको ४.९१६ प्रतिशत कायम भएको छ। जेठमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.९९८ र साधारणको ५.०१९ प्रतिशत थियो । ०८१ वैशाखमा वाणिज्य बैंकहरूको औसत आधार दर ८.३४, विकास बैंकहरूको १०.१५ र वित्त कम्पनीहरूको ११.६१ प्रतिशत छ । अघिल्लो वर्षको चैतमा वाणिज्य बैंकहरूको औसत आधार दर १०.२७ प्रतिशत थियो ।
यसरी हेर्दा असारसम्म आउँदा बैंक ब्याजदर उल्लेख्य घटेको छ। त्यस आधारमा हेर्ने हो भने यस्तो बेलामा कर्जाको माग उल्लेख्य बढ्नु पर्ने थियो। तर ब्याजदर घटेर तल आउँदै गर्दा समेत कर्जाको माग छैन। वार्षिक बिन्दुगत आधारमा ०८१ वैशाख मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित हुने कर्जा ५.२ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्याङ्क छ । जुन लक्ष्य भन्दा आधाले कम हो। २०७८ अघिको पाँच वर्षसम्म वार्षिक कर्जाको बिस्तार कम्तीमा १६ प्रतिशत रहेको थियो भने अधिकतम २८ प्रतिशतसम्म पुगेको थियो।
जब कर्जा बिस्तार अत्यधिक हुन पुगेको थियो। त्यसले मुलुकको कुल गृहस्थ उत्पादनमा खासै ठूलो फरक नपरेको भएपनि शेयर बजारलाई बढ्न भने निक्कै ठूलो टेवा मिलेको थियो। ब्याजदर सस्तो हुनु र कर्जाको माग धेरै हुनुले त्यस बेला कर्जा बिस्तार असाध्यै धेरै हुन पुगेको थियो। तर यस पटक भने ब्याजदर कम भए पनि कर्जाको माग छैन। बैंक वित्तीय संस्थामा निक्षेप बढेको बढ्यै हुँदा पनि कर्जाको माग आएको छैन। जसले शेयर बजारसमेत प्रभावित हुन पुगेको छ। यस अघि जति धेरै कर्जाको माग हुने गरेको थियो। त्यति नै शेयर बजार पनि बढ्दै जाने गर्थ्यो। त्यसको मुख्य कारण भनेको बैंक वित्तीय संस्थाबाट प्रवाह भएको कर्जा सिधै शेयर बजारमा आउने गर्थ्यो। जसले शेयर बजार बढ्न सहयोग गरेको थियो। तर यस पटक भने नेपाल राष्ट्र बैंकले जुन शीर्षकमा ऋण गएको हो त्यही शीर्षकमा पैसा खर्च गर्नु पर्ने गरी ‘वर्किङ क्यापिटल गाइडलाइन’ (चालु पुँजी मार्गदर्शन)जारी गर्यो। त्यसले व्यवसायी वा ऋणीलाई जथाभाबी पैसा लिन कडाइ गरेको छ। त्यसले गर्दा कर्जा बिस्तार खुम्चिएको महालक्ष्मी विकास बैंकमा अध्यक्ष राजेश उपाध्याय बताउँछन्।
‘वर्किङ क्यापिटल गाइडलाइन’ को सोझो असर शेयर बजारमा परेको छ। अन्य शीर्षकमा लिएको ऋण रकम शेयर बजारमा भित्रिन पाएन। हुन त मार्जिन प्रवृत्तिको कर्जा भने थोरै बढेको छ। तर त्यति मात्रै रकमले शेयर बजारको माग धान्न पर्याप्त भएन। जसले गर्दा बैंकको ब्याजदर घट्दा समेत यस पटक शेयर बजार बढ्न नसकेको उपाध्याय बताउँछन्।
यसले शेयर बजारलाई अनावश्यक उतार चढाव हुनबाट जोगाएको रुपमा लिइएको छ। कर्जामा यस अघिकै जस्तो खुकुलोपना भइ दिएको भए यस पटक पनि शेयर बजारमा उछाल आउन सक्ने सम्भावना देखिन सक्थ्यो। तर केन्द्रीय बैंकको नीतिले गर्दा अन्य शीर्षकमा लिएको ऋणको पैसा शेयर बजारमा आएन। जसले शेयर बजारलाई स्थिर राख्न मदत गरिरहेको बताइएको छ।