यता बैठकमा पार्टी नेताहरुले पनि एक मतले त्यसै गलेर छोड्ने भन्दा लोकतान्त्रिक प्रक्रिया अनुसार संसदमा विश्वासको मत लिएर अघि बढ्न पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए । संसद फेस गरेर विश्वासको मत लिने गरेर अघि बढ्ने कुरामा प्रधानमन्त्रीले धारणा बनाएकाे र पार्टीको तर्फबाट पनि सबै नेताहरुले एकमतले विश्वासको मतको सामना गर्न र त्यसका लागि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने, राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि, काँग्रेस र एमालेसँग पनि अहिले सहमती भएपनि विभिन्न पक्षहरुसँग कुराकानी गर्ने र अगाडि बढ्ने भन्ने निर्णय भएको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।
माओवादी केन्द्रका नेताहरुले दुई दलबीच सरकार बनाउने सहमती गर्ने र त्यसपछि राष्ट्रिय सहमतीको सरकार बनाउने भन्नेकुरा राजनीतिक रुपले गलत भएकाले त्यसको प्रतिवाद गरेर अघि बढ्नुपर्नेमा पनि जोड दिएका थिए । त्यसैगरी बैठकले काँग्रेस–एमाले सत्ता समिकरणले संविधान संशोधन गर्ने सहमती गरेर २०४७ सालको संविधान व्यूत्याउने षडयन्त्र गरेको जिकिर गर्दै आपत्ति समेत जनाएको छ ।
बैठकमा नेताहरुले काँग्रेस, एमालेका केही नेताहरुसँग छलफल गरेर विश्वासको मत लिन सम्पूर्ण शक्ति परिचालन गर्न प्रधानमन्त्री दाहाललाई सुझाव दिएका थिए ।