लगानीकर्ताकाे अपेक्षा अनुसार अर्थमन्त्रीमा पौडेल नभई वर्षमान पुन हुने भएपछि बजारले बढ्दो क्रमलाई निरन्तरता दिन सकेन र दोस्रो दिनै अर्थात फागुन २२ गते मंगलबार बजार सूचक घटेर बन्द भयो ।
बजारको हरेक गतिविधि नियाली रहेका वर्षमान पुनले अर्थमन्त्रीमा नियुक्त भएसँगै शेयर बजारको सुधार गर्ने, आफू ६५ लाख लगानीकर्ताकाे पक्षमा रहेको र बजारकै हितको लागि काम गर्ने प्रतिवद्धता जनाउँदै ढुक्क भएर शेयर खरिद गर्न आग्रह समेत गरेका थिए ।
अर्थमन्त्रीको उक्त प्रतिवद्धताले कमजोर बनेको लगानीकर्ताको मनोभावना उठाउने शक्ति मिल्यो । बजार सूचक १९ सयको असपासबाट बढेर २१ सय माथिको विन्दुमा पुग्यो । अर्थमन्त्री पुनले प्रतिवद्धता जनाए अनुसार केही दिन शेयर बजारकाे सुधारका लागि सरोकारवालाहरुसँग सुझावको माग गरियो । अर्थमन्त्री पुनको उक्त सकृयताप्रति खुलेरै प्रसम्सा भयो । निरन्तरको घटाईले थला परेको बजार उठाउनेमा लगानीकर्ता झनै आशावादी रहे ।
यद्यपि शेयर बजारका लगानीकर्ताले गरेको आशा र प्रसम्शा लामो समय टिक्न सकेन । अर्थमन्त्री पुनले सुरुवाती चरणमा देखाएको सकृयतालाई निरन्तरता दिन सकेनन । मागिएको सुझाव कार्यान्वयन गरिएन । आगामी आर्थिक वर्षको लागि ल्याइएको बजेटमा समेत शेयर बजारको लागि प्रभावकारी नीति ल्याउन सकेनन । अर्थमन्त्रीको यस्तो कार्यशैली प्रति लगानीकर्ता रुष्ट थिए । शेयर बजारबाट उठाउँदै आएको पूँजीगत लाभकर नै अन्तिम हुनुपर्ने लगानीकर्ताको माग थियो । सरकारले लगानीकर्ताको माग र सरोकारवाला निकायबाट प्राप्त सुझाव केही कुरा सम्बोधन गरेन ।
त्यसैगरी, यसै अन्तरालमा विगत ५ महिनादेखि रिक्त रहेको नेपाल धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रकृयामा भएको राजनीतिक चलखेलले झनै शेयर बजारलाई निरुत्साहित पार्यो । अर्थमन्त्रीबाट शेयर बजारको लागि केही नहुने मनस्थिती लगानीकर्तामा विकास भएको छ । शेयर बजारका लगानीकर्ताको सरकार प्रति चरम असन्तुष्टि बढ्दै गरेको अवस्थामा बनेको कांग्रेस-एमालेको नयाँ गठबन्धनले शेयर बजारलाई उत्साहित गराएकाे छ ।
आज मंगलबार पनि बजारमा ठिक चार महिना पहिला जस्तै दुई पटकसम्म सर्किट लागेर केहि समयको लागि शेयर बजार बन्द भयो । सानो सानो अन्तरालमा साइडवयज गतिमा चलेको बजार एकै दिन १०५ अंक अर्थात ५ प्रतिशतसम्म बढ्यो । सुस्ताएको बजार यसरी उत्साहित हुनुमा अर्थमन्त्रीमा शेयर बजारका लगानीकर्ताले रुचाएका व्यक्तित्व विष्णु पौडेल आउने सम्भावना नै रहेको लगानीकर्ताको बुझाई छ ।
मुलुकको अर्थतन्त्रको बागडोर समाल्दै गरेका अर्थमन्त्री वर्षमान पुनसँग शेयर बजारका लगानीकर्ता बीचमा चर्चा कमाउने प्रसस्तै सम्भावनाहरु थिए । सरकारका नीतिहरुकै चपेटामा परेकाे कारण ३६ महिनादेखि बजारले गति समाउन सकेको छैन । उक्त अप्ठेरा नीतिहरुलाई सहज बनाउँदै लगानीको वातावरण बनाउने, धितोपत्र बोर्ड अध्यक्ष स्तस्फूर्त रुपमा नियुक्ति गरी बजारको हितमा काम अगाडि बढाउने, पुँजी बजारबाट पुँजी निर्माण गरि समग्र अर्थतन्त्रलाई नै चलयामान बनाउने अवसरबाट अर्थमन्त्री वर्षमान पुन चुकेको लगानीकर्ताहरुको आरोप छ ।
अर्थमन्त्री पुनले बजारका हित भन्दा सिमित व्यक्तिको स्वार्थ पूर्तिमा केन्द्रित भएको चौतर्फी आरोप छ । यसै कारण सरकार परिवर्तन तथा पुनको बहिरगमन हुने खबरले शेयर बजारमा उत्साहा ल्याएको जानकारहरुको भनाइ छ । सोमबार राती एमाले र माओवादीको गठबन्धनको सरकार तोडिदै कांग्रेस माओवादीको गठबन्धनमा नयाँ सरकार बनाउने समझदारी भएको छ । राजनीतिक घट्नाक्रसँगै नेप्से सूचकमा पनि उतारचढाव भएको छ ।