उपभोक्तालाई कम्पनीको मालिक बनाउने अभियानमा- वाइ वाइ, उत्कृष्ट ब्राण्डकाे प्रवेशले नेप्सेमा चमक आउने

Jul 05, 2024 06:11 PM Merolagani

नेपालको सबैभन्दा मौलिक उत्पादन के के हुन् ? सूची बनाउने हो भने लामै बन्छ । तर, बजारमा लोकप्रियताको आधारमा सबैभन्दा लोकप्रिय खाद्य वस्तु कुन हो ?

जवाफ झट्ट आउँछ— खानामा दालभात तरकारी अनि खाजामा मम र चाउचाउ ।

दालभात तरकारी र ममको आफ्नै किसिमको लोकप्रियता छ भन्नेमा शंका छैन । तर, बजार मूल्यको आधारमा चाउचाउले जुन लोकप्रियता पाएको छ, संभवतः त्यति लोकप्रियता कुनै खाद्य उपजले पाएको छैन ।

अनि चाउ चाउ भन्ने वित्तिकै बच्चादेखि वृद्धसम्मको दिमागमा एउटै कुरा आउँछ—वाइ वाइ । नास्ता वा खाजाको रुपमा वाइ वाइ देश विदेशमा जति लोकप्रिय छ, बजार मूल्य (अर्थात् ब्राण्ड भ्यालु)को आधारमा विश्लेषण गर्दा आजको दिनमा वाइ वाइको जुन बजारको ‘लोकप्रियताको मूल्य’ संभवतः आजको दिनमा अरु कुनै नेपाली उत्पादनको छैन भन्दा अन्यथा हुँदैन । नेपालमा त यो लोकप्रिय छ नै विश्वव्यापीरुपमा यस्ले जुन लोकप्रियता पाएको छ, त्यसको कारण विदेशमा रहेका कतिपय नेपालीहरुबीच नयाँ कथन लोकप्रिय हुन थालेको छ- "जहाँ  नपहुँचे नेपाली, त्यहाँ पहुँचे वाइ वाइ"

भनिरहनै पर्ने वाई वाई पुग्नुको अर्थ नेपाली उत्पादन पुग्नु हो र नेपालको नाम पुग्नु हो । विदेशीहरुका समेत लोकप्रिय रहेको वाइ वाइले सगरमाथाको देश, बुद्ध जन्मेको देश, भौगोलिक विविधताको देशसगँ सँगै नेपालको अर्काे एउटा परिचय थपिदिएको छ—वाइ वाइ उत्पादन हुने देश ।

अहिले वाइवाइ विश्वका ४० भन्दा बढी देशमा पुगेको छ । विश्वभरका डलर अर्बपतिहरुको सूची छाप्ने फोब्र्स पत्रिकाले वाइ वाइ चाउचाउको उत्पादक चौधरी समुहका मालिक विनोद चौधरी ‘वाइ वाइ बिलेनियर’ को रुपमा परिचय स्थापित गरिदिएको छ । यस्ले नै वाइ वाइको लोकप्रियता आंकलन गर्न सकिन्छ । भन्नै पर्दैन फोर्ब्सकै विश्लेषणको आधारमा चौधरी नेपालका एक मात्र ‘डलर अर्बपति’ हुन् । र, त्यसको जगमात्र होइन, सिंगो आधार नै वाइ वाइ हो भन्ने कुरामा पनि कुनै शंका छैन ।

विसं २०४१ मा ललितपुरको भैंसेपाटीमा उद्योग स्थापना गरि शुरु भएको वाइ वाइ नेपालको दोस्रो ‘नुडल्स’ हो, तर बजारको प्रभाव र विश्वव्यापी लोकप्रियताको आधारमा वाइ वाइ पहिलो र एक मात्र उत्पादन हो भन्नेमा शंका छैन ।

केही अध्ययनहरुले हरेक नेपालीले औसतमा वार्षिक ४० प्याकेट चाउचाउ खाने गरेको देखाएको छ, त्यसमध्ये जसमध्ये २५ प्याकेट वाइ वाइ खान्छन् । त्यसको अर्थ वाइ वाइले नेपाली बजारमा हाल ६५ प्रतिशत बजार हिस्सा ओगटेको छ ।

झण्डै चार दशक लामो यात्रापछि अहिले प्रत्येक दिन फरक फरक स्वादमा १५ लाख प्याकेट उत्पादन हुने गरेको छ । चौधरी ग्रुपका अनुसार वाइ वाइ दुई दर्जन स्वादहरुमा उत्पादन हुने गर्छ ।

ललितपुरको भैंसीपाटीमा पहिलो उद्योग खोलेको वाइ वाइका अहिले त्यहाँ एउटा उद्योग छ भने नवलपरासीमा ५ वटा, बर्दियामा २, सुनसरीमा २ वटा उद्योग छन् । 

नेपालमा मात्र नभएर विदेशमा पनि वाइ वाइ उत्पादन हुने गर्छ । अहिले छिमेकका भारत र बंगलादेश तथा युरोपका सर्बिया, काजकस्तान अनि इजिप्ट र इटालीमा पनि वाइ वाइ उत्पादन र विक्री वितरण हुने गरेको छ ।

नेपाल बाहिर भारतको नेपाली भाषिको बहुल्यता रहेको सिक्किममा पहिलो पटक सन् २००६ मा फ्याक्ट्री खोलेको सीजी फुड्सले सन् २००८ मा उत्तराखण्ड, सन् २००९ मा र २०१३ मा आसाम, सन् २०१४ मा आन्ध्र प्रदेश अनि २०१५ मा बिहारको पूर्णियामा र सन् २०१९ मा राजस्थानमा आफ्नो फ्याक्ट्री स्थापना गरिसकेको छ । अरु केही राज्यहरुमा पनि उद्योग स्थापना गर्ने तयारी भइरहेको जानकारी कम्पनीले दिएको छ । कम्पनीका अनुसार भारतमा रहेको चाउचाउको कूल बजार हिस्साको २७ प्रतिशत वाइ वाइले ओगटेको छ । त्यसलाई बढाएर अबको चार वर्षपछि अर्थात सन् २०२८ सम्ममा भारतीय बजारमा वाइ वाइको हिस्सा ३५ प्रतिशत पु‍र्याउने योजना रहेको कम्पनीका अधिकारीहरुको भनाइ छ ।

आईपीओ निश्काशनः सूचीकृत कम्पनीमा विविधीकरण, उपभोक्तालाई मालिक बनाउने अभियान

सन् २०२६ भित्र नेपाल र भारत दुबै देशमा वाइ वाइको साधारण शेयर आईपीओ निष्काशनको तयारी भइरहेको छ । त्यसबाट कम्पनीको विस्तारका लागि पूँजी निर्माण हुनुको साथसाथै उपभोक्तालाई कम्पनीको मालिक बनाउने अभियानको रुपमा त्यसलाई लिइएको कम्पनीले जनाएको छ ।

चाैधरी ग्रुपका प्रवन्ध निर्देशक निर्माण चाैधरीले मेराेलगानीसँग आईपीओ निष्काशनका विषयमा भने,  "हामी आम नेपाली नागिरकलाई पनि वाइ वाइकाे अनर बनाउन चाहन्छाै किन कि याे ब्राण्ड सबै मिलेर बनाएकाे ब्राण्ड हाे।" 

सरकारले हरेक बजेटमा उत्पादनमूलक कम्पनीलाई शेयर बजारमा सूचीकृत गर्ने भन्ने विषय राख्न छुटाउँदैन।  नेपाल धितोपत्र बोर्डले समेत यो विषय हरेक बर्ष आफ्नो नीति तथा कार्यक्रममा राख्दै आएको छ। तर वर्षमा एक दुई कम्पनी बाहेक उत्पादनमूलक कम्पनी बजारमा आउन सकेका छैनन्। हालकै अवस्था हेर्ने हो भने नेपाल स्टक एक्सचेन्जमा जम्मा ९ कम्पनी मात्रै उत्पादनमूलक समूहमा छन्। लामो इतिहास बोकेको नेपाल स्टक एक्सचेन्जमा जम्मा ९ कम्पनी मात्रै सूचीकृत हुनु भनेको नगण्य नै हो। यस्ताे अवस्थामा नेप्सेमा वाइ वाइकाे प्रवेशले छुट्टै चमक आउने छ  अनि उत्पादनमुलक उद्याेगहरू लिस्टिङ हुने अभियानमा उदाहरणीय अवसर बन्ने छ ।वाइ वाइले शेयर निष्कासन गर्दा लगानीकर्ताले वाइ वाइको मालिक हुने अवसर प्राप्त गर्ने छन् भने दोस्रो बजारमा लगानीको लागि राम्रो कम्पनी लगानीकर्ताले पाउने छन्। अझै वाइ वाइ नेपालमा मात्रै नभएर विदेशमा समेत शेयर निष्कासन गर्ने तयारीमा हुँदा नेपालको कम्पनीले विदेशका लगानीकर्तालाई समेत लगानीको अवसर सिर्जना गर्ने छ। 

कम्पनीको शेयर संरचना  

अहिले कम्पनीमा विनोद चौधरीका जेठा छोरा निर्वाण चौधरीको ७६ प्रतिशत स्वामित्व छ भने एमरएस एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, विनोदका माइला छोरा राहुल चौधरीको करिब ४ प्रतिशत र कान्छा छोरा बरूण चौधरीको ०.२ प्रतिशत स्वामित्व छ ।

वाइवाइ उत्पादन गर्ने सीजी फुड्स नेपाल प्रालिले सन् २०२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । सन् २०२१ मा ७ अर्ब २३ करोड ४० लाख रुपैयाँ, सन् २०२० मा ५ अर्ब ६६ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

 समाजिक उत्तरदायित्वमा  वाइ वाइ

आजभन्दा १५ वर्षअघि वाइ वाइले पहिलो सन्देशमुलक विज्ञापन ‘वाइवाइ ज्ञानोदय छात्रवृत्ति’ सञ्चालन ग‍र्यो । २०६६/६७ देखि सुरु भएको ज्ञानोदय छात्रवृत्रि योजनामा हजारौं विद्यार्थीले छात्रवृत्रि पाएको जनसम्पर्क महाप्रवन्धक मधुसुधन पौडेल पौडेल बताउँछन् । उनका अनुसार कुनै पनि वस्तुको ब्रान्ड समाजमा स्थापित भएपछि समाजले ब्रान्डबाट अपेक्षा खोज्ने मनोविज्ञान बुझेर नै वाइ वाइले सामाजिक चेतना फैलाउने अभियान सञ्चालन गरेको हो ।

 त्यस्तै वाइवाइले करिब एक दशक अघिदेखि ‘हिमाल पहाड तराई, सबको मनमा वाइ वाइ’ भन्ने नारा बनाएर एक प्रकारको अभियान नै संचालन गर्यो । झट्ट हेर्दा त्यो एउटा कम्पनीको विज्ञापन भए पनि त्यसले नेपाली समाज जातजातिमा विभाजन देखिएको बेला सबै नेपालीलाई बाध्ने सुत्रको एउटा प्रयास गरेको थियो, जुन निकै प्रभावकारी भएको पौडेल बताउँछन् ।

खाना खानुअघि हात धुने सन्देश होस् या लोडसेङिङ भएको समयमा उज्यालो बाँड्ने अभियान पनि सामाजिक उत्तरदायित्वकै कामहरु थिए ।

वाइवाइले संचालन गरेको ‘आदर्श नागरिक बनौं’ भन्ने अभियान साँँच्चैको प्रभावकारी अभियान सावित भएको छ । जसअन्तर्गत ट्राफिक प्रहरीसँगको सहकार्यमा दुर्घटनामा परेका व्यक्तिलाई अस्पताल लैजानलेलाई आर्थिक सहयोग वाइ वाइले गर्दै आएको छ ।

‘मान्छेको जीबनभन्दा ठूलो अरु केही हुन सक्दैन, दुर्घटनामा परेको व्यक्तिलाई बचाउन सबैले सहयोग गर्नुपर्छ भन्ने सन्देशसहितको यो अभियानले समाजमा निकै ठूलो छाप पारेको हाम्रो विश्वास छ,’ पौडेले भने।

comments powered by Disqus