हाइ क्याप कम्पनीमा लगानीकर्ता लागेका हुन् त ?

Jul 08, 2024 06:19 AM Merolagani

नेप्सेमा सूचीकृत समूहहरुमध्ये फाइनान्स समूह अल टाइम हाइबाट २५ प्रतिशत मुनि छ भने शेयर बजार मापक नेप्से परिसूचक भने झन्डै ५६ प्रतिशत तल छ ।

नेप्से परिसूचकले करिब ३ वर्ष अगाडि टप लगाउँदा नेप्से परिसूचक ३२ सयको हाराहारीमा थियोे भने फाइनान्स समूह परिसूचक पनि ३२ सयकै हाराहारीमा थियो अहिले नेप्से २१४० को हाराहाराीमा रहँदा फाइनान्स समूह भने २५४० को तहमा छ ।

पछिल्लो समय नेप्सेको बढाई भन्दा छिटो गतिमा फाइनान्स समूह कुँदिरहेको छ । फाइनान्स समूहमा प्रायः न्यून चुक्ता पुँजी भएका कम्पनीहरुको बाहुल्यता छ । फाइनान्समा सूचीकृत कम्पनीमध्ये सबैभन्दा धेरै पुँजी भएको कम्पनी मञ्जुश्री फाइनान्ससँग नै १ अर्ब ३५ करोड रुपैयाँ मात्रै चुक्ता पुँजी छ । फाइनान्स समूहका सबै कम्पनीको वृद्धि हुँदा पनि त्यसले नेप्से परिसूचकलाई हल्लाउन सकेको छैन यद्यपि पछिल्लो दुई कारोबार दिनदेखि फाइनान्स समूहमा समेत करेक्सन देखिएको छ ।

फाइनान्स समूह नचल्दा पालैपालो विकास बैंक, जलविद्युत र बीमा समूह चल्दै गरेकोमा त्यसले बजारलाई साइडवेज मुभ मात्रै दिइरहेको थियो । अब भने विस्तारै ठूला पुँजीका कम्पनीहरुमा कारोबार बढ्न थालेको छ । नेप्सेमा सूचीकृत विभिन्न समूहमध्ये लगानी समूह अन्तर्गत नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) तुलनात्मक रुपमा ठूला पुँजी भएका कम्पनीहरु हुन । विगत केही दिनदेखि यी दुई बाहेक लगानी समूहमा रहेका सबै कम्पनीहरुको शेयर मूल्य बढिरहेको थियो ।

लगानी समूह अन्तर्गत छोटो समयमा सबैभन्दा मूल्य बढेको कम्पनीमा सीइडीबी हाइड्रोपावर कम्पनी (सीएचडीसी) रहेको छ । संस्थापक शेयरधनीको लकिङ पिरियड खुलेपछि इन्ट्रा डेमा ६ सय २७ रुपैयाँसम्म झरेको सीएचडीसीको शेयर मूल्य दुई महिना भन्दा कम अवधिको दौरान झन्डै ११ सय रुपैयाँको हाराहारीमा कारोबार हुन थालेको छ । २ सय ८० रुपैयाँसम्म मूल्य झरेको एनआरएस इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडको शेयर मूल्य पछिल्लो समय ७ सय ७५ रुपैयाँसम्म कारोबार भएको छ । त्यस्तै इमर्जिङ नेपाल लिमिटेड (इएनएल) को शेयर मूल्य ११ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ भने हाथवे इन्भेष्टमेन्ट नेपाल (एचएटीएचवाई) को शेयर मूल्य ९ सय ५० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ।

इमर्जिङ नेपालको चुक्ता पुँजी ५५ करोड ५६ लाख रुपयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको १ अर्ब २२ करोड ३२ लाख रुपैयाँ र हाथवे इन्भेष्टमेन्टको चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँ मात्रै रहेको छ । आइतबारको कारोबारमा विशेष रुपमा लगानी समूहमध्येकै निफ्रा र एचआइडीसीएलको कारोबार धेरै हुन थालेको छ । आइतबार निफ्राको मात्रै ४ लाख ७५ हजार कित्ता शेयरको कारोबार अघिल्लो दिनको तुलनामा ५ प्रतिशतले बढेर भयो । त्यस्तै एचआइडीएलको पनि झन्डै साढे २ प्रतिशतले बढेर कारोबार भयो। कम्पनीको आइतबार १ लाख ८४ हजार २ सय ७८ कित्ता शेयर कारोबार भयो ।

फाइनान्स कम्पनीको शेयर मूल्य सर्किट लेभलमा कारोबार हुँदा समेत नेप्सेमा खासै प्रभाव नजमाउने गरेकोमा वाणिज्य बैंक समूहको शेयर मूल्य ४–५ प्रतिशत वा निफ्रा र एचआईडीएल जस्ता कम्पनीको शेयर मूल्य बढ्दा भने त्यसले नेप्सेमा असर गर्ने गरेको छ ।

नेप्से सूचक आइतबार २१.२७ विन्दुले बढेर २१४०.९७ अंकमा आइपुगेको छ । ६ अर्ब रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १३ मध्ये १० समूहको सूचक बढेका छन् । होटेल तथा पर्यटन समूहमा सबैभन्दा बढी वृद्धि छ । समग्रमा हेर्दा सेयर बजारले विस्तारै लय समाउन थालेको छ । पछिल्ला केही दिनयता बजार सकारात्मक गतिमा अघि बढेको छ ।

फाइनान्स समूहले मात्रै नेप्से परिसूचकलाई उठाउन नसकेपछि कुनै बेला वाणिज्य बैंकको शेयर मूल्य बढाएर त कुनै बेला एनटीसी, निफ्रा एचआइडीसीएल जस्ता हाइ क्याप कम्पनीको शेयर मूल्य बढाएर नेप्सेलाई माथि धकेल्ने काम भइरहेको छ । हाइ क्याप कम्पनीको कारोबार विस्तारै बढ्न थालेकाले आगामी दिनमा नेप्सेलाई एक दुई सय माथि नै टिकाउन सहयोग पुग्ने एक पुराना लगानीकर्ताले मेरो लगानीलाई बताए ।

दुई वर्ष अगाडि विष्णु पौडेल अर्थमन्त्री हुने समयमा पनि हाइ क्याप कम्पनीहरुको शेयर मूल्य बढाएर नै १८ सयको हाराहारीमा रहेको नेप्से परिसूचक २२ सयको तहमा पुगेको थियो । पौडेलको बहिर्गमनसँगै नेप्से फेरि १८ सयकै तहमा झरेको थियोे । राजनीतिक परिवर्तनसँगै फेरि विष्णु पौडेल अर्थमन्त्री हुने आँकलनका बीच कर्पोरेट प्लेयरहरुले ठूला पुँजी भएका कम्पनीहरुलाई चलाउन थालेको उक्त लगानीकर्ताले मेरोलगानीलाई बताए ।

नेप्से २१ सयको लाइनमा टिकेर अगाडि बढिरहेको छ । औसतमा दैनिक कारोबार रकम पनि ५ अर्बभन्दा माथि भइरहेको छ । अझ पछिल्ला दिनमा त ६ अर्ब पनि कटेको अवस्था छ । असार मसान्तको प्रेसरको बेलामा पनि बजारमा उत्साह देखिनुलाई सकारात्मक रुपमा लिइएको छ ।

आगामी दिनमा सेयर बजार सुधारका लागि थप पहलहरु हुन सक्ने देखिन्छ । साउनमा आउने मौद्रिक नीतिले शेयर बजारमा समस्याहरु सम्बोधन गर्ने लगानीकर्ताको विश्वास छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको समिक्षामा घरजग्गा कर्जामा केही खुकुलो गरिएको थियो भने आगामी मौद्रिक नीतिमा मार्जिन कर्जामा थप खुकुलो हुने आशा गरिएको छ । बैकिङ प्रणालीमा तरलता पर्याप्त हुँदा त्यसले बैंकको नाफादायकतामा असर गरेको हुँदा त्यसको बढ्दो तरलताको प्रयोग बढाउन समेत मार्जिन कर्जामा खुकुलो हुन राष्ट्र बैंक बाध्य हुने बताइएको छ जसले आगामी दिनमा पुँजी बजारले माथिल्लो गतिमा जाने अपेक्षा गरिएको छ ।

comments powered by Disqus