नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएपनि मन्त्रालय भागबण्डाको विषय भने अझै टुंगोमा पुगिनसकेको बताए । उनले काँग्रेससँग प्रारम्भिक छलफल भएपनि राष्ट्रिय सहमतीको सरकार गठनका लागि आह्वान गरिएकाले काँग्रेससहितका अन्य राजनीतिक दलहरुसँग फेरि छलफल गरेर मात्रै मन्त्रालयको भागबण्डामा टुंगो लगाउने बताए । प्रमुख सचेतक बर्तौलाले प्रधानमन्त्री दाहालले आगामी असार २८ गते विश्वासको मत लिने भएकाले सोही दिन बेलुकासम्म मन्त्रालयको भागबण्डा टुंगो लगाउनेगरी काँग्रेस सहितका दलहरुसँग छलफल हुने बताए ।
‘२८ गते सम्माननीय प्रधानमन्त्रीजीले तत्कालै आज भोलि नै राजीनामा दिएर एउटा सहज मार्ग प्रशस्त गर्नु भयो भने हामी तयारी अवस्थामा नै रहन्छौं । अन्यथा २८ गतेसम्म नै जानुपर्ने भयो भने २८ गते बेलुकासम्म कसरी जाने भन्ने मन्त्रालयको भागबण्डाको बारेमा हामी टुंगो लगाउँछौं । अहिले चाहीँ केही छलफल भएको छ । टुंगो कुनैपनि लागेको अवस्था रहेन,’ उनले भने, ‘कति दलहरु हाम्रो यो प्रक्रियामा सहभागी हुन्छन्, राष्ट्रिय सरकार निर्माणको प्रक्रियामा भन्नेकुरा त्यो पनि हामीले सबै दललाई आह्वान गरेको कारणले पनि अन्य दलको रेसपोन्सको आधारबाट पनि मन्त्रालय भागबण्डा गर्नेकुरा हुन्छ । त्यसकारण केही दिन यसले समय लिन्छ भन्ने लाग्छ ।’