एमालेबाट अर्थमन्त्री बन्न सक्ने सम्भावित पात्रको खोजी गरिएको छ । तर, अर्थमन्त्री बन्ने पात्र पौडेलबाहेका अरु नदेखिएका एमालेका एक उच्च नेताले बताए । ‘अहिलेको अर्थतन्त्रलाई सहीबाटो डोप्याउने व्यक्तिको खोजी भइरहेको छ,’ ती उच्च नेताले भने, ‘अनुभवी र परिस्थिति झेल्न सक्ने व्यक्ति पौडेल बाहेक कोही देखिएनन् ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले भोलि विश्वासको मत लिदैछ । भोलि अर्थात असार २८ गते दिउसो प्रधानमन्त्री ‘प्रचण्ड’ नेतृत्वको सरकारले संसदमा विश्वासको मत लिने कार्यक्रम तय भएको छ । प्रचण्ड नेतृत्वको सरकारले संसदमा विश्वासको मत पाउने सम्भावना नदेखिएकाले मुलुकले आइतबारसम्म नयाँ सरकार पाउने सम्भावना छ ।
नेकपा एमाले र काँग्रेससँगको समझदारी अनुसार पहिलो चरणमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने भएका छन् । अर्थमन्त्रालय एमालेको भागमा परेको छ । एमाले भित्र अहिले अर्थमन्त्री हुन लायक नेताको खोजी भइरहेको छ । तर, विष्णु पौडेल बाहेका अरुको बिकल्प नदेखिएको एमालेका नेताहरु बताउँछन् ।
नेपाली कांग्रेस र नेकपा एमालेबीच बराबरकाे हैसियतमा मन्त्रालयको भागबण्डा हुने सहमति भएकाे छ । तर, एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच कुनैपनि मन्त्रालयको भागबण्डा भइनसकेको भन्दै को-को सरकारमा सहभागी बन्छन्, सोही अनुसार मन्त्रालयको भागबण्डा टुंग्याउने बताउँदै आएका छन् ।
उनले सरकारमा सहभागी बन्ने राजनीतिक दलहरूलाई पनि समेटेर जानेगरी छलफल भइरहेको बताए । त्यसका लागि सामान्यतः संसदकाे सिटका आधारमा पार्टीहरूलाई स्थान निर्धारण गर्ने पनि एमालेका अध्यक्ष ओलीले बताए ।