प्रधानमन्त्री ओली, चन्द्र ढकालको बोली र एउटा अर्थहीन प्रश्न- 'अब के होला ?'

Jul 15, 2024 10:31 AM Merolagani


एकजना बैंकरको छोरीको विवाहमा सहभागी हुन शुक्रबार लाजिम्पाटको शंकर होटलमा पुगेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललाई कसैले सोध्यो- 'गठबन्धन परिवर्तन भएर नयाँ सरकार बन्दैछ । आर्थिक क्षेत्रको अवस्था अब के होला ?'

ढकालले नघुमाईकन छोटो जवाफ दिए- 'आफूले राम्रो गर्ने प्रयास गर्ने हो । अब के होला भनेर सोचेर बस्ने होइन । राम्रो गर्ने प्रयास गरेपछि ढिलो चाँडो राम्रै हुन्छ ।'

अचानक फेरिएको राजनीतिक समीकरणपछि अहिले चिया पसलदेखि सिंहदरबारसम्म, शेयर बजारका लगानीकर्तादेखि सर्वसाधारण मानिसहरुसम्मले एक आपसमा निरन्तर गरिरहेको प्रश्न हो-'अब के होला ?'

यही बीचमा त्यस्ता जमघटहरु, संचारमाध्यम र सामाजिक संजालमा केही लाल वा स्वेत बुझक्कडहरु जन्मन्छन्, जस्ले यसो हुन्छ र उसो हुन्छ भन्दै यस्तो गफ लगाउँछन् कि मानौं उनीहरुकै इशारामा देश चल्छ, राजनीति चल्छ । तिनको कुरा सुन्दा लाग्छ, नेताहरुको भान्छा र बेडरुममा के भयो देखि साउथ ब्लक र बेइजिङले के सोंच्दैछन्, के गर्दैछन् भन्नेसम्म तिनलाई थाहा हुन्छ । जबकी वास्तविकता के हो भने त्यस्ता गफ लगाउनेहरुलाई वास्तविकताको छेउ कुनो समेत थाहा हुँदैन । तर, समाजमा त्यस्तै पात्रहरुको बोलबाला चलिरहन्छ, जस्ले गर्दा भ्रमको खेती फस्टाइरहेको हुन्छ । २-४ महिनाको फरकमा सरकार परिवर्तन हुनु समग्र देशको लागि नै दुर्भाग्य हो। त्यस्ले गर्दा राजनीति अस्थिर हुन्छ, संघ र प्रदेश सरकारका निर्णयहरु अस्थिर हुन्छन् । भ्रष्टाचार बढ्छ र समग्रतामा देशको आर्थिक अवस्था नै तहस नहस हुन्छ । यो नेपालको मात्रै विश्वभरकै अवस्था हो ।

जुन जुन देशमा सरकारहरु अस्थिर छन्, ती देशहरुको अवस्था डामाडोल छ र जुन जुन देशमा राजनीति एउटा दिशामा अगाडि बढेको छ, आवधिक निर्वाचनमार्फत चुनिएका सरकारहरुले तोकिएको अवधिसम्म निर्धक्क तरिकाले काम गरिरहेका छन् ती देशहरु नै विकसित र समुन्नत छन् । कतिपय विकसित देशहरुमा राजनीतिको साथै सरकारहरु अस्थिर भए पनि त्यहाँ राजनीति र प्रशासनिक, आर्थिक क्षेत्रको बीचमा स्पष्टसँग अलग रेखा कोरिएको हुन्छ, जस्ले गर्दा विकासका कामहरुमा अवरोध पुगेको हुँदैन, ती आफ्नै गतिमा चलिरहेका हुन्छन् ।

हाम्रो जस्तो देशमा हरेक व्यक्ति राजनीतिसँग जोडिएकोले यहाँ राजनीतिका भविश्यवक्ताहरु यत्रतत्र भेटिन्छन् भने सर्वसाधारणमा जहिले पनि एउटा प्रश्न उब्जिरहेको हुन्छ- 'अब के होला ?' आजको नेपाली राजनीतिको एउटा वास्तविकता के हो भने नेताहरुले जे जे भने पनि राजनीतिक पार्टीहरु कुनै वाद र सिद्धान्तको आधारमा चलिरहेका छैनन्, उनीहरु केवल क्षणिक लाभ र स्वार्थको आधारमा चलिरहेका छन् भन्ने स्पष्ट छ ।

यदि वाद र सिद्धान्तको आधारमा चलेको भए, त्यसको आधारमा अब यसो होला भनेर अनुमान गर्न सकिन्थ्यो, तर बाद र सिद्धान्तलाई विर्सेर केवल आफ्नो स्वार्थको आधारमा उचाल्ने, पछार्ने राजनीति गरिरहेकोले जुन पार्टी सरकारमा आए पनि, सरकारबाट बाहिरिए पनि फरक पर्ने भनेको नेताहरु वरपरका झुण्ड र स्वार्थ समुहहरु र नेताको चाकरी गरेर राजनीतिक नियुक्ति खान पल्केका तथाकथित विज्ञहरुलाई मात्र हो, अरुलाई तात्विकरुपमा केही फरक पर्दैन । त्यसैले कसैले ‘अब के होला ?’ भनेर प्रश्न गरिरहनुको कुनै औचित्य नै छैन । जसरी धितो पत्र बोर्डमा नेपाल आए पनि, गए पनि कार्की आए पनि, गए पनि केही फरक परेन, पर्दैन । त्यस्तै गरि प्रधानमन्त्री र मन्त्रीहरुमा ओली आए पनि प्रचण्ड गए पनि सर्वसाधारण नागरिकको लागि, देशको समग्र अर्थतन्त्र र विकासको प्रकृयाको लागि केही फरक पर्दैन, फेरि पनि पर्ने छैन ।

त्यसैले उद्यमी चन्द्र ढकालले भनेजस्तै गरि आफ्नो क्षमताले भेटेसम्म राम्रो गर्ने प्रयास गर्ने हो, अब के होला ? भनेर अनावश्यकरुपमा दिमाग खियाउनु अर्थहीन छ ।

comments powered by Disqus

शेयर बजारमा केही लाख लगाएर करोड कमाउने बेला

Jul 13, 2024 12:49 PM 0

तिलक कोइराला

शेयर बजार अति जोखिमको क्षेत्र हो, धेरैले गुमाउँछन् भन्दाभन्दै पनि कहिलेकाँही यति सुन्दर र आशलाग्दा दृश्यहरु देखिन्छन्, जसलाई अवसरको रुपमा लिएर सुझबुझपूर्ण लगानी गर्नेले जीवनमा कहिल्यै नकमाएको धन सम्पति कमाउँछ। शेयर बजारमा यस्ता अवसरहरु विरलै आउँछन्।