३२ सय अंक टेक्दाको समय भन्दा अहिले धेरै कित्ताको शेयर कारोबार, यसले के संकेत गर्छ ?

Jul 24, 2024 06:06 PM merolagani


सुवास निरौला

दोस्रो बजार बुलिस ट्रेन्डमा छ। गत असार १७ यता शेयर बजार तीव्र गतिमा बढिरहेको थियो। तर त्यो वृद्धिमा बुधवार ब्रेक लाग्यो। तथापि शेयरको माग भने बुधवार पनि घटेन । किनकि पछिल्लो समयकै सर्वाधिक रकमको शेयर कारोबार बुधवार भयो।

बुधवार मात्रै तीन सय ११ स्टकको १ लाख ८८ हजार ८६५ पटकको कारोबारमा १६ अर्ब २० करोड ८५ लाख रुपैयाँ बराबरको ४ करोड ७ लाख ४७ हजार कित्ता शेयर खरिदबिक्री भयो। मंगलबार १४ अर्ब ११ करोडको शेयर खरिदबिक्री भएको थियो। कारोबार रकम र कारोबार कित्ता दुवै बढ्दो क्रममा देखिएको छ। गएको पाँच दिनको औसत कारोबार कित्ता चार करोड रहेको छ। जबकि यस अघिको सर्वाधिक अंक छोएको ३२ सयको बिन्दु अघिको पाँच कारोबार दिनसँग तुलना गर्दा गएको पाँच दिनको कारोबार कित्ता बढी छ। गत बुल अघिको पाँच दिन औसत कारोबार कित्ता तीन करोड २४ लाख मात्रै रहेको थियो। जुन अहिलेको कारोबार कित्ता २४.१८ प्रतिशत बढी हो।

भलै बुधवार दोस्रो बजारमा २५.३२ अंकको करेक्सन देखिदा सूचक २५३६.११ अंकमा खुम्चियो। तर शेयरको माग भने घटेन। बुधवार मात्रै बजारले चार कोड सात लाख कित्ता पचायो। यसले दोस्रो बजारमा शेयरको माग बढी छ भन्ने जनाउँछ। यदि ३२ सय अंकको सेरोफेरोमा यति कित्ता शेयर कारोबार भएको भए २६ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार हुने थियो। किनकि त्यति बेला शेयर मूल्य बढी थिए। अहिले त्यति बेलाको भन्दा शेयर मूल्य सस्तो भएकोले कारोबार रकम १६ अर्ब मात्रै भएको हो। तुलनात्मक रुपमा अहिले शेयर सस्तो नै रहेकोले लगानीकर्ताले यति रकममा बढी शेयर पाएका हुन्।

बजारमा जति धेरै कित्ता शेयरको कारोबार बढ्दै गइरहेको छ। त्यसले बजारमा माग बढी छ भन्ने जनाउ दिन्छ। तर बजार घटेको बेला बढी कित्ता शेयर आउनु भन्दा बजार बढेको बेला बढी कित्ता खपत हुनु शेयर बजारको लागि लाभदायक हुन्छ। घटेको बेला लगानीकर्ताले शेयर मूल्य घटाएरै शेयर दिने गर्छन्। जसले सेलिङ प्रेसर रहेको सङ्केत गर्छ। तर सूचक बढेको बेला बढी कित्ता शेयर कारोबार हुनुले बजारमा बाइङ प्रेस रहेको बुझिन्छ। दोस्रो बजारमा सेलिङ प्रेसर भन्दा बाइङ प्रेसर बढी हुनु राम्रो मानिन्छ।

तथापि जसरी गएको पाँच कारोबार दिनलाई हेर्ने हो भने शेयर बजार बढेको दिनमा समेत सबैभन्दा बढी चार करोड ११ लाख कित्तासम्म कारोबार भइसकेको छ। जसले बजारमा मग अत्यधिक छ भन्ने जनाउ दिन्छ।

तर मौद्रिक नीति जति जति नजिकिँदै छ। त्यति त्यति कारोबार कित्ता र रकम बढ्दै गइरहेको छ। यसले आउने दिनमा मौद्रिक नीति यस अघिको भन्दा खुकुलो आउने सङ्केत दोस्रो बजारले गरिरहेको छ। भनिन्छ कुनै कुरा हुनु भन्दा अघि स्टक मार्केटले केही सङ्केत गर्छ। जुन बढेको कारोबार रकम र शेयर कित्ताले गरिरहेका छन्।

तर नेपालको शेयर बजार सिजनल हुने गर्छ। दोस्रो बजारको लागि जुलाई महिना र डिसेम्बर सिजनको रुपमा लिइन्छ। अहिले जुलाई अन्तिम नजिकिँदै गर्दा सिजन समाप्तिको संकेत पनि दोस्रो बजारले गर्न खोजेको हो कि भन्ने अनुमान लगाउने लगानीकर्ता समेत बजारमा भेटिन्छन्। जसले यति बेला आफूसित भएको शेयर बिक्री गरिरहेका छन्।

यति बेला शेयर बिक्री गर्ने र किन्ने बीच कसले बाजी मार्छ। त्यो भने आउने मौद्रिक नीति पछिको बजारको दिशाले नै निर्धारण गर्ने छ।    





comments powered by Disqus

मौद्रिक नीतिमा ओली झस्किनुको कारण आईएमएफः खतिवडाको अध्ययन कहिले सकिएला ?

Jul 24, 2024 05:44 AM 0

मौद्रिक नीति कहिले जारी होला भन्ने संशय रहेकै बेला अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को एउटा प्रतिवेदनको आधारमा प्रधानमन्त्री केपी ओली झस्किएका छन् ।