कारोबार शुरु भएको १ घण्टापछि ४३ अंक भन्दा बढीले घटिसकेको भए पनि कारोबार बन्द हुँदा भने सकारात्मक रुपमा बन्द भएको थियो । शेयर बजारले २५ सयको प्रतिरोध पार गर्ने प्रयास गरे पनि पार गर्न नसकेर सो प्रतिरोध भन्दा तल नै आएर बजार बन्द भएको छ । बजारमा शेयर किन्ने कि बेच्ने भन्ने दोधारमा परेका लगानीकर्तालाई टप ब्रोकरले शेयर किनिरहेका छन् वा बेचिरहेका छन् भन्ने तथ्यांकले शेयर खरिद बिक्रीको निर्णय गर्न सजिलो हुने विश्वासका साथ टप २० ब्रोकरमध्ये कुन ब्रोकरले कति रकमको शेयर किने र कति रकमको शेयर बेचे भन्ने जानकारी टेबलमा दिएका छौं । टप ब्रोकरलाई पछ्याउने लगानीकर्ताहरुले ब्रोकरको खरिद बिक्री प्याटर्नलाई अध्ययन गरेर समेत शेयर खरिद गर्ने वा बिक्री गर्ने भन्ने निर्णय गर्ने गरेका छन् ।
सोमबार झन्डै १४ अर्बको शेयर कारोबार हुँदा धेरै रकमको शेयर कारोबार गर्ने टप २० ब्रोकरमध्ये आधा भन्दा बढी ब्रोकरले बिक्री भन्दा खरिदमा नै जोड दिएको देखिन्छ । सोमबारको कारोबार अनुसार ब्रोकर नम्बर ५८ ले १ अर्ब ५५ करोेड रुपैयाँको कारोबार गरेको छ जुन कुल कारोबार ११ दशमलब १७ प्रतिशत हुन आउँछ । ५८ नम्बर ब्रोकरले ६६ करोड ९७ लाख रुपैयाँको शेयर बिक्री गरेको छ भने ८८ करोड ४८ लाख रुपैयाँको शेयर खरिद गरेको छ । ब्रोकरको खरिद अनुपात ५६.९२ प्रतिशत र बिक्री अनु्पात ४३.०८ प्रतिशत देखिन्छ ।
कारोबार रकमको आधारमा अठारौं नम्बरमा रहेको ५० नम्बरको ब्रोकरले ४६ करोड २९ लाख रुपैयाँको कारोबार गरेकाे छ । उक्त ब्रोकरले पनि बिक्री भन्दा बढी खरिदलाई नै जोड दिएकाे छ। ५० नम्बरले २४ करोड ५१ लाख रुपैयाँको शेयर खरिद गर्दा २० करोड ७८ लाख रुपैयाँको शेयर बिक्री गरेकाे छ।
त्यसैगरी कारोबार रकमका आधारमा १९ नम्बरमा परेको ४८ नम्बर ब्रोकरले कुल कारोबारमा ५४.८८ प्रतिशत खरिद गरेकाे छ । ब्रोकर नम्बर ३२ ले कुल कारोबार रकमको ५४.४३ प्रतिशत, ५७ नम्बर ब्रोकरले कुल कारोबार रकमको ५२ दशमलब ८१ प्रतिशत, १६ नम्बर ब्रोकरले ५२.५४ प्रतिशत, ४९ नम्बर ब्रोकरले ५१.९९ प्रतिशत, ३३ नम्बर ब्रोकरले ५१.६१ प्रतिशत, ४१ नम्बर ब्रोकरले ५१.३० प्रतिशत र ४२ नम्बर ब्रोकरले ५०.४४ प्रतिशत खरिद गरेको तथ्यांकले देखाएको छ । यद्यपि यी ब्रोकरहरुले बिक्री अनुपात भन्दा खरिद अनुपात बढी भए पनि ५८ र ४९ बाहेक सबै ब्रोकरको कारोबार रकम १ अर्ब रुपैयाँभन्दा कम छ ।
झन्डै १४ अर्ब रुपैयाँको कारोबारमा ५८, ४५, ३४ र ४९ नम्बर ब्रोकरको कारोबार रकम १ अर्ब रुपैयाँ भन्दा बढी छ । १ अर्ब रुपैयाँ भन्दा बढी कारोबार गर्ने ब्रोकरमध्ये ५८ र ४९ नम्बर ब्रोकरको शेयर बिक्री भन्दा बढी खरिद नै देखिएको छ ।