किन आयो माइक्रोफाइनान्सको शेयरमा उछाल?

Jul 28, 2024 05:41 AM Merolagani



बाबुकृष्ण महर्जन

सत्ता समीकरण परिवर्तनसँगै बिहीबारसम्म शेयर बजार बढ्दा नेप्से परिसूचकले २६ प्रतिशतले बढेको छ भने माइक्रोफाइनान्स परिसूचक २४.७८ प्रतिशतले बढेको छ । नेप्से उकालो लाग्दै गर्दा कारोबार रकम समेत बढ्दै गएको छ ।


नेप्से अहिलेसम्मको उच्च विन्दु अर्थात ३१९८.६० विन्दुमा हुँदा समेत माइक्रोफाइनान्सको कारोबार २ अर्ब रुपैयाँ नाघ्न सकेको थिएन । नेप्से ३२ सयको आसपासमा रहँदा कुल कारोबार २१ अर्ब ३१ करोड रुपैयाँ रहेकोमा माइक्रोफाइनान्सको मात्रै कारोबार १ अर्ब ३८ करोड रुपैयाँ थियो । अहिले नेप्से परिसूचक २५ सय ६८ को हाराहारीमा रहँदा पनि माइक्रोफाइनान्सको कारोबार रकम साढे २ अर्ब नाघेको छ । नेप्से उच्च विन्दुमा र माइक्रोफाइनान्स उपसमूह अल टाइम हाइमा हुँदा समेत नपुगेको उच्च कारोबारका साथ बिहीबार माइक्रोफाइनान्स समूहका कम्पनीको शेयरको कारोबार भयो ।

नेप्सेमा सुचीकृत ४८ वटा कम्पनीहरुमध्ये ४७ वटा शेयरको मूल्य बढ्दा १ वटा मात्रै कम्पनीको शेयर मूल्य घटेको थियो भने १० वटा कम्पनी सर्किट लेभलमा कारोबार भएको थियो । उपकार, जीवन विकास, गणपति, आरएसडीसी, नाडेप, लक्ष्मी, डिप्रोक्स, ग्लोबल आइएमई, एनआइसी एसिया र ग्रामीण विकास लघुवित्त सर्किट लेभलमा कारोबार भए । बिहीबार नेप्से परिसूचक १.२६ प्रतिशतले बढ्दा माइक्रोफाइनान्स समूहमा भने ६.८२ प्रतिशतको वृद्धि देखियो । माइक्रोफाइनान्स समूहको अल टाइम हाइ ५ हजार ९ सय ९१ हो भने बिहीबार माइक्रोफाइनान्स समूह सूचक ५ हार ५ सय ७१ दशमलब १४ विन्दुमा बन्द भयो । कारोबार रकमका आधारमा हाइड्रोपावर समूहपछि सबैभन्दा धेरै कारोबार हुने समूहमा माइक्रोफाइनान्स समूहको कारोबार भयो । बिहीबार २ अर्ब ५४ करोड रुपैयाँको माइक्रोफाइनान्स समूहको शेयर कारोबार भएको थियो । माइक्रोफाइनान्स समूहमा विगत ५ दिनदेखि लगातार १ अर्ब रुपैयाँ भन्दा माथि नै कारोबार भइरहेको छ ।

किन बढ्दैछ माइक्रोफाइनान्स समूहको शेयर

बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा त्यसको सबैभन्दा ठूलो मार माइक्रोफाइनान्स कम्पनीहरुमा पर्यो । वाणिज्य बैंकमार्फत ऋण लिएर ग्रामीण क्षेत्रमा ऋण दिने कम्पनीको रुपमा स्थापित यी कम्पनीहरु त्यस बेला घाटामा सञ्चालित थिए । वाणिज्य बैंकबाट १३–१४ प्रतिशतमा ऋण लिएर माइक्रोफाइनान्सले १५ प्रतिशतमा ऋण दिनुपर्ने बाध्यकारी अवस्थाका कारण माइक्रोफाइनान्स पिडित थिए । अहिले बैंक व्याज घट्दै जाँदा यो अवस्थामा व्यापक परिवर्तन भएको छ भने माइक्रोफाइनान्सका ऋणीहरुले समेत ऋण नतिर्ने आन्दोलन चलाएका कारण दोहोरो पीडामा थिए । माइक्रोफाइन्सविरुद्धको आन्दोलन मत्थर भइसकेको छ भने नियामक राष्ट्र बैंक समेत अहिले माइक्रोफाइनान्सप्रति नरम देखिएका छन् । ठूला लगानीकर्ता रोहन कार्कीले विभिन्न कारणहरुले माइक्रोफाइनान्समा आकर्षण देखिएकाे बताए ।

लगानीकर्ता कार्कीले भने –‘लो सप्लाईका कारण माइक्रोफाइनान्स ट्रेडर फे्रन्डली छ, यो शेयरमा जुनसुकै बेला पनि सर्किट लाग्न सक्छ । ठूलो सप्लाई भएको माइक्रोफाइनान्स भनेको एउटा विकास बैंक जत्रो पनि छैन ।’ –उनले अगाडि भने –‘माइक्रोफाइनान्स कम्पनीहरु फन्डामेन्टली पनि जस्टिफाइड छन् । अधिकांश माइक्रोफाइनान्सको नेटवर्थ भनेको नै २ सय रुपैयाँको हाराहारीमा छ ।’ कोभिडको असर धेरै पछि मात्रै नेपालीहरुको जनजीवनमा देखियो । ग्रामीण भेगका ऋणीहरुले माइक्रोफाइनान्स ऋण तिर्न नसक्ने अवस्था आयो । माइक्रोफाइनान्सले चर्को व्याज असुल गरेको भन्दै आन्दोलन थाल्दा राष्ट्र बैंक समेत माइक्रोफाइनान्समा कडा नियमन गर्न बाध्य भए । ‘नीतिगत रुपमा सबैभन्दा धेरै च्यापेको सेक्टर पनि माइक्रोफाइनान्स नै हो । आन्दोलनकारी र नियामक दुवैको चेपुवामा परेको सेक्टर माइक्रोफाइनान्स हो । आन्दोलनकारीहरु विस्तारै पाखा लागे भने नियामक राष्ट्र बैंक पनि विस्तारै माइक्रोफाइनान्समा लगाएको कडा नीतिहरु खुकुलो बनाउने पक्षमा रहेकाले पनि माइक्रोफाइनान्समा बहार देखिएको हो ।’–लगानीकर्ता कार्कीले भने ।

माइक्रोफाइनान्सको शेयरमा पछिल्लो समय आकर्षण देखिनु प्रमुख कारण बैंकको व्याज दर रहेको उनले बताए । बजारमा तरलता अभाव हुँदा बैंकको बेस रेट नै साढे ११ प्रतिशतसम्म पुगेको थियो, अहिले बेस रेट झरेर ८ प्रतिशतको हाराहारीमा आइसकेको छ । माइक्रोफाइनान्सको ७५ प्रतिशत बिजनेस वाणिज्य बैंकका ऋणमा चल्छ, २५ प्रतिशत मात्रै आफ्नै निक्षेपमा चल्छ । ‘बैंकको बेस रेट घट्दा माइक्रोफाइनान्सले पनि सस्तोमा कर्जा पाउँछ जुन अधिकतम १५ प्रतिशतसम्ममा लगानी गर्न सकिन्छ । बेस रेट सस्तो हुँदा माइक्रोफाइनान्सको समेत नाफा बढ्ने सम्भावना बढ्दै गएको छ जुन अब चाँडै प्रकाशित हुने वित्तीय विवरणहरुमा पनि झल्किन्छ । माइक्रोफाइनान्सको राम्रो वित्तीय विवरणको आँकलन गरेर पनि मइक्रोफाइनान्समा लगानी बढेको हो ।’–उनले भने ।




comments powered by Disqus

संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको अधिकतम सीमा खारेज, व्यक्तिगतकाे हटेन

Jul 26, 2024 12:55 PM 0

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन्।