बैंकका शेयर हुनेहरू मालामाल, एक महिना नपुग्दै शेयरमूल्य ५० प्रतिशतले बढ्यो, कुन बैंककाे बृद्धि कति ?

Jul 28, 2024 06:15 PM Merolagani



पछिल्लो ४ हप्तामा वाणिज्य बैंकहरुको शेयरमूल्य सबैभन्दा धेरै बढेको छ। यस अवधिमा बैंकिङ उपसमूहको सूचक झण्डै ५० प्रतिशतले बढेको छ।

तथ्याँक अनुसार गत असार १६ गते १०६६.९१ विन्दुमा रहेको बैंकिङ उपसमूहको सूचक आइतबारसम्ममा बढेर १५७४.३४ विन्दुमा पुगेको छ। जुन ४७.५६ प्रतिशतको बृद्धि हो।

यस अवधिमा बैंकिङ समूहको सूचक अन्य उपसमूहको सूचकको तुलनामा सबैभन्दा धेरै बढेको छ। वाणिज्य बैंकहरुको शेयरमूल्य ६० प्रतिशतसम्मले बढेको छ।

विगत एक महिनामा लक्ष्मी सनराइज बैंकको शेयरमूल्य सबैभन्दा धेरै ६१.५७ प्रतिशतले बढेको छ। यो वाणिज्य बैंकहरुमा सबैभन्दा ठुलो बृद्धि हो।

यसै गरी हिमालयन बैंकको पनि शेयरमूल्य ६०.२३ प्रतिशतले बढेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ५९.०१ प्रतिशत, प्रभु बैंकको ५८.६२ प्रतिशत र कुमारी बैंकको ५७.३३ प्रतिशतले बढेको छ।

यता स्ट्यान्डर्ड चाटर्ड बैंकको सबैभन्दा कम २८.२१ प्रतिशतले बढेको छ भने एभरेष्ट बैंकको ३०.९८ प्रतिशत र एनआइसि एशिया बैंक र नविल बैंकको ४० प्रतिशतले बढेको छ।

  • २०० मुनिका बैंक नै रहेनन्

केही समय अघिसम्म अधिकाँश वाणिज्य बैंकको शेयरमूल्य २०० रुपैयाँभन्दा तल थियो। आइतबारसम्ममा सबै वाणिज्य बैंकको शेयरमूल्य २०० रुपैयाँभन्दा माथि उक्लिएको छ।

आइतबार कुमारी बैंकको शेयरमूल्य सबैभन्दा कम २१२ रुपैयाँ छ जुन एक महिना अघि १३५ रुपैयाँमा थियो। प्रभु बैंकको शेयरमूल्य २१८ रुपैयाँ पुगेको छ जुन एक महिना अघि १३८ रुपैयाँ थियो।

अहिले ११ बैंकको शेयरमूल्य २०० देखि ३०० रुपैयाँको विचमा रहेको छ।

स्ट्यान्डर्ड चाटर्ड बैंकको शेयर आइतबार प्रतिकित्ता ७१८ रुपैयाँमा खरिदबिक्री भएको छ जुन वाणिज्य बैंकहरुमा सबैभन्दा धेरै हो। यस्तै एभरेष्ट बैंकको पनि शेयरमूल्य ६७८ रुपैयाँ पुगेको छ भने नविल बैंकको ६३३ रुपैयाँ र एनआइसि एशिया बैंकको ५५२ रुपैयाँ छ।

  • कारोबार रकममा पनि उछाल

वाणिज्य बैंकहरुको कारोबार रकममा पनि उछाल देखिएको छ। एक महिना अघिसम्म दैनिक १५-१६ करोड रुपैयाँको शेयर कारोबार हुँदै आएकोमा अहिले दैनिक २ अर्ब माथिको कारोबार हुन थालेको छ।

आइतबार भने बैंकिङ क्षेत्रमा अधिक कारोबार भएको छ। आइतबार यस समूहको ३ अर्ब ९६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको छ जुन १३ उपसमूहमा सबैभन्दा धेरै हो। आइतबार बैंकिङ  समूहले कारोबार रकममा पनि सबै उपसमूहलाई पछि पारेको छ।

  • मौद्रिक नीतिपछि मूल्यमा झनै उछाल

मौद्रिक नीतिपछि वाणिज्य बैंकहरुको शेयरमूल्यमा झनै उछाल आएको छ। केन्द्रिय बैंकले गत शुक्रबार मौद्रिक नीति सार्वजनिक गदै बैंकको नाफा बढ्ने गरी नीतिगत व्यवस्था हेरफेर गरेपछि आइतबार वाणिज्य बैंकहरुको शेयरमूल्यमा उछाल देखिएको छ।

आइतबार स्ट्यान्डर्ड चाटर्ड बैंकबाहेक सबै बैंकको शेयरमूल्यमा सर्किट लागेको छ। बैंकिङ  उपसमूहको सूचक नै ९.८९ प्रतिशतले बढेको छ।

मौद्रिक नीतिमा बैंकहरुले असल कर्जाको १.१० प्रतिशत मात्रै प्रोभिजनिङ गर्नुपर्ने व्यवस्था गरिएको छ। अहिले बैंकहरुले असल कर्जामा १.२० प्रतिशत प्रोभिजनिङ गर्दै आएका थिए। यसले गर्दा बैंकहरुको करिब ५ अर्ब रुपैयाँले नाफा बढ्ने देखिएको छ।

अर्कोतर्फ असार मशान्तसम्म पाकेको ब्याजलाई साउन मशान्तसम्म असुल गरे पनि नाफामा देखाउन पाउने व्यवस्था गरेको छ भने खराब कर्जा उठेमा त्यसलाई सुक्ष्म निगरानी कर्जामा बर्गीकरण गर्न पाउने व्यवस्था गरेको छ जुन कर्जामा ५ प्रतिशत मात्रै प्रोभिजनिङ गर्नु पर्छ।

अहिले खराब कर्जा उठे पनि बैंकहरुले छ महिनापछि मात्रै असल कर्जामा बर्गीकरण गर्न पाउँथे जसले गर्दा गत चैत र असार मशान्तमा भएका असुलीलाई पनि नाफामा देखाउन पाएका थिएनन्। केन्द्रिय बैंकको लचिलो व्यवस्थासँग पछिल्लो समय भएका असुलीलाई नाफाको रुपमा देखाउन पाउने भएका छन् जसले बैंकको नाफा सुध्रिने र लाभांश क्षमता समेत बढ्ने भएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षमा पनि कर्जा लगानी बढाएर नाफा बढाउने बाटो खेलिदिएको छ। पूँजीकोष दबावमा रहेका बैंकहरुलाइ पूँजीकोष सहज हुने गरी नीतिगत व्यवस्था गरेको छ जसले बैंकहरुलाई बैंकमा थुप्रिएको लगानीयोग्य रकम लगानी गर्ने बाटो खुलेको छ भने व्यवसायीले समेत कर्जा लिन सक्ने गरी लचिलो व्यवस्था गरेको छ। यसले बैंकहरुको लगानी बढ्ने छ भने व्याज आम्दानी समेत बढेर नाफा बढाउन सहयोग पुर्याउने छ।




comments powered by Disqus

संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको अधिकतम सीमा खारेज, व्यक्तिगतकाे हटेन

Jul 26, 2024 12:55 PM 0

नेपाल राष्ट्र बैंकले संस्थागत लगानीकर्ताको लागि शेयर धितो कर्जाको अधिकतम सीमा खारेज गरेको छ। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो व्यवस्था गरेका हुन्।