यी हुन् खरायो र कछुवाको गतिमा बढेका हाइड्रोपावर कम्पनीहरु (सूचीसहित)

Aug 01, 2024 06:02 AM Merolagani



एमाले र कांग्रेस गठबन्धनको सरकार बनेपछि शेयर बजार निरन्तर उकालो लागिरहेको छ भने बुधबारको कारोबारले यसअघिको अलटाइम कारोबार समेत ब्रेक गरेको छ । बुधबार २१ अर्ब ९१ करोड रुपैयाँको शेयर कारोबार हुँदा हाइड्रोपावर समूहको कारोबार समेत नेप्से अल टाइम हाइ हुँदाको कारोबार रकम भन्दा बढी पुगेको छ ।


२०७८ सालको भदौ २ गते नेप्से अल टाइम हाइ हुँदा हाइड्रोपावर समूहको कारोबार रकम ६ अर्ब ८२ करोड रहेकोमा बुधबार हाइड्रोपावर समूहको मात्रै कारोबार ६ अर्ब ९४ करोड रुपैयाँको भएको छ । हाइड्रोपावर समूहमा २०७८ को भदौ ३ गते ७ अर्ब २४ करोड रुपैयाँको शेयर कारोबार भएको रेकर्ड छ ।

विगत १ महिनामा नेप्से परिसूचक ३५.५३ प्रतिशतले बढ्दा हाइड्रोपावर समूह ३१.८७ प्रतिशतले बढेको छ । नेप्सेमा सूचीकृत विभिन्न विभिन्न उपसमूहमध्ये हाइड्रोपावर समूहको शेयर कारोबार सबैभन्दा बढी हुने गरेको छ । मौद्रिक नीति सार्वजनिक भएपछिको केही दिनको कारोबार वाणिज्य बैंक समूहमा देखिए पनि गएको दुई कारोबारदेखि फेरि हाइड्रोपावर समूहमै कारोबार बढेको छ । वाणिज्य बैंक समूहको कारोबार साढे ४ अर्बसम्म पुगेकोमा अहिले घटेर साढे २ अर्बमा सीमित हुन पुगेको छ भने हाइड्रोपावरको कारोबार भने झनै बढ्दै जानुले वाणिज्य बैंकको शेयरमा नाफा गरेका लगानीकर्ता हाइड्रोपावरतर्फ सिफ्ट भएको रुपमा बुझ्ने गरेका छन् ।

समूहगत रुपमा हाइड्रोपावर समूह ३१.८७ प्रतिशतले मात्रै बढेको देखिए पनि समूहभित्रका कतिपय कम्पनीको शेयर मूल्य भने १ महिनामा ६५ प्रतिशतसम्मले बढेको देखिएको छ । १ महिनाको तथ्यांक अनुसार रसुवागढी हाइड्रोपावर सबैभन्दा ठूलो प्रतिशतले बढेको छ । गत महिना २ सय ६४ रुपैयाँमा रहेको कम्पनीको शेयर बुधबार ३ सय ३५ रुपैयाँ ९० पैसामा कारोबार भयो । त्यसैगरी मन्दाकिनी हाइड्रोपावर १ महिना अघि ५ सय ३० रुपैयाँ रहेकोमा अहिले बढेर ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ जुन ६२.२६ प्रतिशतको वृद्धि हो । त्यसैगरी अरुण भ्याली हाइड्रोपावर ५६.८७ प्रतिशत, राधी विद्युत ५६.५० प्रतिशत, रिडी पावर ५५.९४ प्रतिशत, अपि पावर ५५ दशमलब ५८ प्रतिशत, पिपुल्स हाइड्रोपावर ५३.९९ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर ५३.८५ प्रतिशत, सिगंटी हाइड्रो इनर्जी ५२.५२ प्रतिशत र घलेम्दी हाइड्राे ५२.७९ प्रतिशतले बढेको छ ।

हाइड्रोपावर समूह ३० प्रतिशतभन्दा बढीले बढ्दा पनि मैलुङखोला जलविद्युत र बुद्धभुमी नेपाल हाइड्रोपावर भने १ महिनाको दौरानमा शेयर मूल्यमा गिरावट आएको देखिएको छ । मैलुङखोला गत महिना जुन ३० मा ६ सय ९८ रुपैयाँमा कारोबार भएकोमा ३१ जुलाईमा १३.३२ प्रतिशतले घटेर ६ सय ५ रुपैयाँमा कारोबार भएको छ । त्यस्तै बुद्धभुमी नेपाल हाइड्रोपावर १ महिनाको दौरान १ रुपैयाँ मात्रै मूल्य घटेको छ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, तेर्हथुम पावर, विन्द्यबासिनी हाइड्रोपावर, ग्रिन भेन्चर, अप्पर लोहोरे खोला हाइड्रोपावर, सामलिङ पावर र इष्टर्न हाइड्रोपावर १ महिनामा १० प्रतिशतभन्दा कम बढेका हाइड्रोपावर हुन । बजार बढ्दै जाँदा धेरै नबढेका कम्पनीहरुमा आँखा लगाउनु बुद्धिमानी हुन्छ । हाइड्रोपावर कम्पनीहरु किन्ने सोचमा हो भने यी कम्पनीहरुमा आँखा लगाउने कि ?

 




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।