३० प्रतिशत जति अटाे माेवाइल्स व्यवसायी पलायन हुँदेछन्ः नाडाका अध्यक्ष चौधरीसँगकाे अन्तरवार्ता

Aug 02, 2024 06:13 PM merolagani



राष्ट्र बैंकले ल्याएकाे चालु आर्थिक वर्षको मौद्रिक नीति लचिलाे भनिएपनि अटो मोबाइल व्यवसायीहरूले भने उक्त माैद्रिक नीतिले आशा जगाउन नसकेकाे प्रतिक्रिया दिएका छन् । शेयर बजारका लागि माैद्रिक नीतिले केही लचकता अपनाइएको भएपनि अटो मोबाइल व्यवसायीलाई भने माैद्रिक नीति 'कागलाई बेल पाक्याे हर्ष न बिस्मात' भनेजस्तै भएकाे छ ।

 

&

मौद्रिक नीतिमा के अपेक्षा राख्नु भएकाे थियाे र निराशा हुनु भयाे ? विगतका वर्षहरुमा जस्तै यसपाली पनि नाडा अटाे साे गर्दै हुनुहुन्छ, त्यसले व्यवसायीकाे आशा जगाउने अपेक्षा कति गर्नु भएकाे छ ? माैद्रिक नीतिपछि शेयर बजार बढेकाे छ, त्याे पैसा अटाे माेबाइल क्षेत्रमा कत्तिकाे आउला ? यी लगायत अन्य बिषयमा केन्द्रित रहेर नाडाका अध्यक्ष करण चौधरीसँग मेराेलगानीका उप सम्पादक सुवास  निराैलाले गरेकाे कुराकानीः

 

कस्तो रह्यो यसपालिको मौद्रिक नीति ?

मौद्रिक नीतिमा अटो मोबाइल व्यवसायीहरूले धेरै आशा गरेका थिए। बजेटले आशा जगाउन नसके पनि मौद्रिक नीतिमा हामीले धेरै नै आशा गरेका थियौ। मौद्रिक नीतिले अहिले सुस्ताइरहेको अटो मोबाइल व्यवसाय कसरी अघि बढाउन सकिन्छ भनेर कडा भन्दा कडा सुझाव हामीले दिएका थियौं। जतिबेला हामीले सुझाव दिएका थियौं। ठिक त्यही बेला सरकार फेर बदल भयो। एकाएक नयाँ संयन्त्र आयो। त्यसलाई बुझाउने प्रयास पनि नगरिएको होइन। तर हामीले जे कुरा माग गरिरहेका थियौं। त्यो केही पनि कुरा सुनिएन। अटो मोबाइल्स व्यवसायीहरूको लागि समग्रमा भन्नु पर्दा यो मौद्रिक नीतिले निराश नै बनायो।

भनेपछि तपाईहरूको खास अपेक्षा के थिए ?

हामीले राखेको माग भनेको लोन टु भ्यालुको इस्यु थियो। हामीले आजको दिनमा वर्किङ क्यापिटलको कुरा गरेका थियौ। जति पनि मध्यम स्तरका व्यवसायहरू चलायमान गर्ने के गर्न सकिन्छ भन्ने ठूलो आशा र अपेक्षाका साथ मागहरू राखेका थियौं। तर ती माग पुरा नहुँदा अब आउने अटो मोबाइल क्षेत्रको बाटो अन्योलमा परेको ठहर गरिरहेका छौ।

तर अहिले चौतर्फी रुपमा मौद्रिक नीति राम्रो आएको प्रतिक्रियाहरू आइरहेका छन्। अहिलेको मौद्रिक नीतिले ऋण बिस्तार सहज बनाउँछ भनिँदैछ। त्यसले गर्दा यसको थोरै भएपनि राम्रो इफेक्ट यो क्षेत्रलाई पनि पर्ला नि ?

मेरो हात पनि बाँधि दिनु भयो अनि खुट्टा पनि बाँधि दिनु भयो अनि बसेर खानु भन्नु भयो। डाउन पेमेन्ट पनि नचलाउने थोरै इभिमा मात्रै ७५ प्रतिशतसम्म छ। त्यो बाहेक अरू नट एलाउड। वर्किङ क्यापिटललाई पनि टाइट गर्दै लैजानुहुन्छ। ग्रस इनकमलाई पनि टाइट गर्दै जानुहुन्छ भने कसरी ऋण बिस्तार हुन्छ ? ऋण बिस्तार हुँदैन।

तर मौद्रिक नीति पछि शेयर बजारमा निक्कै उछाल आएको छ। मौद्रिक नीति नै राम्रो भयो भनेर नै यो उछाल आउँछ भनिँदै छ। बढेको शेयर बजारले पनि बजारमा डिमाण्ड बढाउने सम्भावना होला नि ?

बढेको शेयर बजारलाई लिएर अटो मोबाइल सेक्टरमा डिमाण्ड बढ्छ भनेर यसलाई जोड्न मिल्दैन। टोटल नीति नै खुकुलो भएको टाइममा चाँहि ऋणको डिमाण्ड बढ्ने हो। यो पाली सेक्टरवाइज गरेको छ जस्तो लाग्छ।  यो चेन्ज नहुनु नै अटो मोबाइल क्षेत्रको लागि नकारात्मक हो।

भनेपछि चालु वर्ष यो सेक्टरमा अपेक्षाकृत वृद्धि नदेखिने भयो ?

मेरो आंकलनमा आउने वर्ष लगभग २०/२५ प्रतिशत अटो मोबाइल व्यवसायी पलायन हुन्छन् वा विलय हुन्छन्।

भनेपछि तपाईले झन् धेरै खतराको सङ्केत पो गर्नु भयो ?

अटो मोबाइल सेक्टर अहिले यस्तो अवस्थामा छ। जो बाहिरबाट हेर्दा साह्रै राम्रो छ। तर वास्तविकतामा त्यस्तो छैन। सबै जनाले अटो मोबाइल सेक्टर असाध्यै राम्रो भनिरहेको सुनिन्छ। तपाईहरूले पनि त्यो सुनिरहनु भएको होला। खासगरी मानिसहरूले इभिले राम्रो गरिरहेको छ भन्छन्। गएको पाँच वर्षमा जो व्यवसायी इभिमा स्वीच हुनु भयो उहाँहरु अलिकति फस्टाउनु भयो। तर यति भन्दा भन्दै पनि उहाँहरुको समस्या आफ्नै होला। किनकि मानिसहरूको आ-आफ्नै समस्या हुन्छ। अटो मोबाइल व्यवसाय भनेको गाडी बिक्री गर्नु मात्रै होइन। मेसिनरी पार्टपुर्जा र इन्धन समेत त्यसमा जोडिएर आउँछ। त्यसकारण यी क्षेत्रलाई नीतिले समेट्न सकेको छैन।

साना साना व्यवसायीको माग समेटिएको छैन। साना साना व्यवसायीको अहिले नाफा र नोक्सानको मात्रै कुरा छैन। जीवन र मरणको कुरा छ। त्यसकारण सरकारको नीति यस क्षेत्र केन्द्रित र अपेक्षित हुनु पर्थ्यो जस्तो लाग्छ।

तपाईले पनि अघि भन्नु भयो कि अहिले इभिमा डिमाण्ड बढेको छ भनेर। अहिले कस्तो छ इभिको डिमाण्ड ?

अवश्य पनि इभिमा आम उपभोक्ताहरूको उत्सुकता बढेको छ। यो बिलकुलै नयाँ सेगमेन्ट भएकोले पनि इभिमा आम उपभोक्ताको चासो बढ्नु स्वाभाविक नै हो। सोही समयमा पेट्रोल डिजेल गाडीको बिक्री नहुनुले अर्को समस्या थपेको छ। यसकारणले ओभरअल इभि बिक्री भएको हो। इभि मुलुकको लागि अति आवश्यक हो। त्यही दाँजोमा पेट्रोल डिजेल गाडी पनि त्यति नै आवश्यक हो।

किन ?

सबै वर्गका मानिसले इभि चढ्न सक्छन् भन्ने छैन। एउटा यस्तो वर्ग छ। जसले पेट्रोल डिजेल गाडी नै चढ्नु पर्छ। उहाँहरुको आवश्यकता पूर्ति गर्न पनि पेट्रोल डिजेल गाडी चाहिन्छ। सरकारले पेट्रोल डिजेल गाडी किन्नेहरूलाई प्रोत्साहित गर्नु पर्छ।

तपाईको कुरा सुन्दा बैंकले ऋण नदिने हो भने यो क्षेत्रको कुनै भविष्य नै छैन भन्ने बुझिन्छ ?

व्यवसाय फस्टाउँदा वा भनौँ राम्रो हुँदा ९० प्रतिशत गाडी बैंकको लोन बाटै बिक्री भएको देखिन्छ।

अहिले पनि त्यस्तै सिचुएसन छ ?

अहिले त बैंकले ऋण नै दिएको छैन। या भनौँ अहिले फाइनान्सिङ नै छैन। अहिलेको अवस्थामा १० देखि २० प्रतिशत मात्रै फाइनान्सिङ होला। अहिले जोसँग नगद छ, उहाँहरुले नै गाडी किनिरहनु भएको छ।

तपाईहरूले सुस्त रहेको बिक्री बढाउन हरेक वर्ष नाडा अटो सो गर्नु हुन्छ। यस वर्ष यो कहिले हुँदै छ ?

आधिकारिक रुपमा यसको बारेमा जनाकारी दिन बाँकी नै छ। हाम्रो २७ अगस्ट देखि सेप्टेम्बर पहिलो दिनसम्म आयोजना गर्न लागेका छौं। यसले अलिकति भए पनि आशा जगाउँछ भन्ने अपेक्षा छ। अलिकति भएपनि निभ्न लागेको बत्ती जोगाउँछ कि भन्ने छ।

यसको आकर्षण के हुन्छ। अहिले केही भन्न मिल्छ ?

अहिलेलाई त्यो कुरा सस्पेन्समै राखौँ।

तै पनि केही त भन्न मिल्ला ?

यो पाली मान्छेहरूको फिडब्याक हेर्दाखेरि ६० प्रतिशत प्रदर्शन इभि कै हुने देखिन्छ। चाहे दुई पाङग्रे हुन् वा चार पाङग्रे अनि साना हुन् वा ठूला सबै इभि कै हुन्छन्।

अब आउँ देशको अर्थतन्त्र तर्फ। अहिलेको इकोनमिक सिनारियो कस्तो छ ?

जटिल छ। एकदम जटिल छ। अहिले हरेक व्यवसाय हात्तीले पानीमा पाइला हालेजस्तो बिस्तारै बिस्तारै गयो भनेचाहिँ केही हदसम्म सुधार होला। नत्र कठिन छ।

सुधारको लागि के गर्नु पर्छ ?

अहिले सरकारले टाइट गरेर न्याक्नु भन्दा सरकारले हरेक सेक्टरलाई कसरी उकास्न सकिन्छ भन्ने तिर केन्द्रित भएर अगाडि बढ्नु पर्छ।

उकास्नको लागि गर्नु पर्ने कुरा के ? मौद्रिक नीतिले केही सुबिधा दियो भनिँदै छ। अर्को तर्फ बजेट पनि आइसक्यो। चालु वर्षको लागि त यिनै दुई नीति हुन् ?

मौद्रिक नीतिले व्यवसायमा कुनै परिवर्तन ल्याउन सक्दैन। व्यवसाय जस्तो थियो, त्यस्तै नै हुने छ। तर सुन्नमा आएको छ कि  कालो सूचीको प्रावधानलाई परिवर्तन गरेको छ। त्यसले गर्दा बजारमा सुरक्षा के लाई मान्ने र के लाई नमान्ने भन्ने कुराको ठूलो प्रश्न खडा गरेको छ। यो प्रश्न उठाउँदै गर्दा आज त्यो सेक्टर त्यो सेगमेन्टलाई हामीले जुन क्रेडिट दिन्छौ। त्यो अब दिने कि नदिने भन्ने इस्यु पनि छ। त्यसले गर्दा यसले अझै खुम्चाउँदै जाने वाला छ।

भनेपछि राष्ट्र बैंकले जुन १२ प्रतिशतको ऋण बिस्तारको लक्ष्य लिएको छ। त्यो पुरा हुँदैन भन्ने तपाईको अनुमान हो ?

जुन लक्ष्य लिनु भएको छ, त्यो पुरा होस् मेरो शुभकामना छ। त्यो कुरा गर्नै पर्छ। बढ्नु पनि पर्छ। तर यसमा संशोधन गर्नु पर्छ।

लोन बढाउने लक्ष्य राख्ने तर सबै कुरामा टाइट पनि गरिराख्ने भन्ने हुन्छ ? हुँदैन। ऋण बिस्तार हुन त खुला हुनु पर्छ नि। होइन र ? । त्यो भनेको भविष्यमा गर्दै जानु पर्छ। तर त्यसको लागि अहिले उपयुक्त समय होइन।

शेयर बजारले अहिले जुन इफेक्ट देखाइराखेको छ। त्यो क्षणिक हो भन्नु पर्छ हो ?

हो। मेरो अनुमानमा त्यही हो।

शेयर बजारलाई हेरिरहनु भएको छ ?

मलाई लाग्दैन,नेपालको शेयर बजार कुनै साइन्टिफिक्ट रूपले अघि बढेको छ। यो बुलिस र बियरिसको जुन ट्रेन्ड देखिन्छ। त्यो व्यक्ति विशेषले ड्राइभ गरिरहेको छ। मेरो लागि शेयर बजारले त्यति माने राख्दैन।

अहिले २०/२१ अर्बको कारोबार भइरहेको छ। त्यसले अलि धेरै नै मानिस एक्टिभ भइरहेको जस्तो देखिन्छ

यसले अटो मोबाइल सेक्टरलाई कतै पनि छुँदैन।  

शेयर बजारबाट नाफा गरेपछि केही मानिसले त गाडी किन्लान् नि ?

नाफा गरेपछि केही प्रतिशत आफ्नो लक्जरीको लागि खर्च गर्दा हुन्छ। तर त्यतिले माग धान्दैन।

अन्तिममा सिजी होल्डिङ कसरी अघि बढिरहेको छ ?

अरूको जस्तै सिजिको व्यवसाय पनि कठिन छ। व्यवसाय भनेको जस्तो छैन। सिजी होल्डिङ एउटा कम्पनी हो। गोरुलाई आफ्नै सिङ भारी भने जस्तै सबैलाई आ-आफ्नै समस्या छ। समस्या कम गर्न आशा र अपेक्षा आवश्यक छ। त्यो आउँछ भन्ने आशामा छौं।

थप ग्रोथको लागि केही योजना छन् ?

व्यवसायमा त्यति बेला ग्रोथ वा एक्सपान्सनको योजना बनाउने हो जति बेला व्यवसाय चलेको हुन्छ। अहिले भएकै व्यवसाय चलेको छैन। ग्रोथ गर्ने कुरा त टाढै राखौँ। 

 




comments powered by Disqus

वाणिज्य बैंकको शेयर सस्तो कि महंगो ? सूचीसहित

Jul 30, 2024 06:09 AM 0

राजनीतिक समिकरणपछि लय समाएको शेयर बजार ३० प्रतिशतभन्दा बढीले बढ्दा धेरै समयदेखि पछि रहेको बैकिङ समूह ४७ दशमलब ५० प्रतिशतले बढेको छ ।