शेयर बजारमा हाइ क्याप कम्पनीमा एकाएक आकर्षण बढ्यो, यसले के सङ्केत गर्छ ?

Aug 06, 2024 05:53 AM Merolagani



सुवास निरौला

सोमबार दोस्रो बजारमा २१ अर्ब ८६ करोडको शेयर कारोबार भयो। सबैभन्दा धेरै एकै कम्पनीको एक अर्ब भन्दा माथिको शेयर किनबेच भयो।

हिमालयन रि इन्स्योरेन्स कम्पनीको सोमबार एक अर्ब २६ करोड रुपैयाँको शेयर किनबेच भयो। जबकि हिमालयन रि इन्स्योरेन्स कम्पनी लो क्याप कम्पनीमा पर्दैन। हिमालयनको चुक्ता पूँजी १० अर्ब भन्दा माथि छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा १० करोड ४० लाख कित्ता शेयर सूचिकृत छन्।

१० अर्ब भन्दा बढी चुक्ता पूँजी भएको कम्पनीको एक अर्ब भन्दा बढीको कारोबार हुनु भनेको अहिले लगानीकर्ताले लो क्याप कम्पनीलाई मात्रै महत्त्व दिएका छैनन्, हाइ क्याप कम्पनीमा पनि त्यति नै धेरै आकर्षण छ भन्ने जनाउँछ। त्यसमा पनि सोमबार हिमालयनको शेयर मूल्य करिब १० प्रतिशतले बढेको थियो। बढेको मूल्यमा समेत लगानीकर्ताले मनग्गे शेयर किने। फेरि यसरी हाइ क्याप कम्पनीमा लगानीकर्ताको आकर्षण हिमालयनमा मात्रै देखिएको होइन। असार १७ यता हाई क्याप कम्पनीका मूल्य पनि उल्लेख्य बढेका छन्।

असार १७ यता शेयर बजार तीव्र गतिमा बढ्न थालेको हो। त्यस यता हाइ क्याप कम्पनीका मूल्य १७ प्रतिशतदेखि ६४ प्रतिशतसम्म बढेका छन्। जसमा सबैभन्दा कम नागरिक लगानी कोषको मूल्य १७.५९ प्रतिशत बढेको छ भने प्रभु बैंकको ६४.०१ प्रतिशतसम्म बढेको छ।

यस अघि हाइ क्याप कम्पनीको शेयरमा खासै आकर्षण नदेखिने गरेकोमा अहिले किन हाइ क्याप कम्पनीमा लगानीकर्ताको आकर्षण बढ्यो भन्ने प्रश्नमा एक ब्रोकर भन्छन्- “लगानी क्षमता राम्रो भएका लगानीकर्ताले लो क्याप कम्पनीमा आफूले चाहे जति शेयर किन्न सक्दैनन्। लो क्याप कम्पनीमा शेयर सप्लाई थोरै हुने गर्छ। अलिकति शेयरको माग बढ्ने बित्तिकै त्यसको मूल्य धेरै बढ्छ। यसैगरी बिक्री गर्नु पर्ने अवस्थामा पनि एकै चोटि २०/५० हजार कित्ता शेयर तुरुन्तै बिक्री गर्न सकिँदैन। त्यसले गर्दा बढी शेयर किन्न चाहनेले हाइ क्याप कम्पनीको शेयर नै रोज्ने गर्छन्। उनीहरूले शेयर किन्दा पनि कम्तीमा २०/५० हजार कित्ता शेयर किन्छन् भने बेच्दा पनि त्यति नै बिक्री गर्न सक्छन्। जसलाई बजारले सहजै पचाउने गर्छ। त्यस कारण अहिले शेयर हाइ क्याप कम्पनीमा समेत लगानीकर्ताको आकर्षण बढेको हो ।”

हाइ क्याप कम्पनीको शेयर मूल्य बढ्नुले दोस्रो बजारमा सूचक समेत बढ्न निक्कै ठुलो टेवा दिने गर्छ। सोही कारण पनि अहिले सूचक २८ सयको लाइनमा उक्लिन खोजिरहेको छ। यसै गरी हाइ क्याप कम्पनीको आकर्षण कायमै रहे दोस्रो बजारले यस अघि कायम गरेको उच्चतम बिन्दुको रेकर्ड ब्रेक गर्ने ती ब्रोकरको अनुमान छ।

दोस्रो बजारमा लगानीकर्ताहरूले हाइ क्याप कम्पनीको शेयरमा लगानी बढाएकै कारण दोस्रो बजारमा कारोबार रकम समेत बढ्दै गएको हो। साउन लगे यता दोस्रो बजारको औसत कारोबार रकम नै १५ अर्ब माथि उक्लिएको छ। जसले आउने दिनमा शेयर बजारलाई थप माथि लैजान टेवा दिने ती ब्रोकरको भनाई छ।  




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।