सासंदहरुले शेयर बजार कति बुझेका छन् ? अर्थ समितिमा “बोल्नेलाई भन्दा सुन्नेलाई लाज” काे अवस्था

Aug 08, 2024 05:56 PM merolagani



सुवास निरौला

सङ्घीय संसद, प्रतिनिधि सभा, अर्थ समितिले आज बैठक डाक्यो। मिनी संसद्को रुपमा परिचित समितिमा आज माननीय सदस्यहरूले राम्रै छलफल गरे।

खासगरि पछिल्लो समय संघीय संसदमा एक स्वतन्त्र सांसदले अहिले शेयर बजारमा तीव्र कर्नरिङ भइरहेको र त्यसको छानबिनको लागि सरकाले समिति नै गठन गर्नु पर्ने माग गरेपछि आज मिनी संसदमा शेयर बजार सम्बन्धी छलफल गरिएको हो। आजको मुख्य एजेण्डा नै “नेपालको पूँजी बजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल” भन्ने रहेको थियो। जुन छलफलमा केही शेयर बजार बुझेका सांसदले राम्रै प्रश्न गरे भने धेरै जसो सांसदको भने बढिरहेको शेयर बजारबारे चिन्ता जाहेर गरेको देखियो।

पूर्वअर्थमन्त्री समेत रहिसकेका सांसदले समेत शेयर बजार बढेकोमा चिन्ता व्यक्त गरे। अझै यस विषयमा धितोपत्र बोर्डले चनाखो हुनु पर्ने भनेर झकझक्याए। अझै एक अर्थमन्त्रीले त दोस्रो बजार सञ्चालक नेपाल स्टक एक्सचेन्ज कै कर्मचारीले समेत दोस्रो बजारमा इनसाइडर ट्रेडिङ गर्ने गरेको आफू अर्थमन्त्री हुँदा थाहा पाएको समेत सुनाए। अर्का अर्थ मन्त्रीले आफूलाई थोरै बचाउ गर्दै शेयर बजार बढ्नै नहुने आफ्नो मनसाय नरहेको तर शेयर बजारमा राम्रा कम्पनीको शेयर मूल्य बढ्नु राम्रो भए पनि फन्डामेन्टल्लि राम्रो अवस्था नरेका कम्पनीको शेयर मूल्य बढेको प्रति चिन्ता गरे।

कुन सांसदले शेयर बजार प्रति कस्तो धारण राखे भनेर उनीहरूको नामै भने यो लेखमा उल्लेख गरिएको छैन। तर उनीहरूको आशय के कस्तो थियो भन्ने मात्रै यहाँ व्यक्त गर्न खोजिएको छ।

छलफलमा सहभागी सांसदको शेयर बजार सम्बन्धी ज्ञानले त जगै हँसायो। एक सांसदले एकै दिनमा शेयर बजार एक सय ४५ प्रतिशतले बढ्ने अर्को दिन एक सय आठ प्रतिशतले घट्ने गरेको भनेर चिन्ता गरिन्। जबकि शेयर बजार प्रतिशतमा त बढ्छ। तर कुनै पनि निश्चित कम्पनीको शेयर मूल्य एक दिनमा १० प्रतिशत र समग्र सूचक ६ प्रतिशत भन्दा बढी घट/बढ नहुने नियम छ। तर त्यसको समेत उनलाई जानकारी भएको देखिएन।

अर्का सांसदले कुनै एक कम्पनीको नेटवर्थ ९० रुपैयाँ रहेको तर सो कम्पनीको अहिले बजार मूल्य एक हजार माथि कसरी उक्लियो भनेर प्रश्न गरे। उक्त कम्पनीको वास्तविक मूल्य ९० रुपैयाँ नै हुनु पर्ने उनले तर्क गरे। जबकि दोस्रो बजारमा कुनै नयाँ कम्पनी सूचीकृत हुन आए त्यसको सुरुवाती मूल्य नै नेपाल स्टक एक्सचेन्जले नेटवर्थको तीन गुणासम्म दिने गर्छ भन्ने समेत ज्ञान उनमा देखिएन।

अझै सासंदहरुले कुनै पनि कम्पनीको मूल्य यति नै हुनु पर्ने जस्तो गरी अभिव्यक्ति दिए। जबकि कुन कम्पनीको मूल्य कति हुनु पर्ने हो त्यो मूल्य निर्धारण गर्ने जिम्मा बजारको हुने गर्छ।

अर्को तर्फ नियामक निकायको स्वीकृतिमा काम गरिरहेका कम्पनीको नामै तोकेर कम्पनी खराब भन्न समेत एक सांसदले छुटाएनन्।

यस अघि नियामक निकाय धितोपत्र बोर्डले समेत कुन कम्पनीमा गरिएको लगानी जोखिममा छ भनेर लिस्टै सार्वजनिक गर्दा त्यस बखतका बोर्ड अध्यक्षले आफ्नो जागिर नै गुमाउनु परेको थियो। त्यसरी कारोबारमा रहेका कम्पनीको बारेमा अभिव्यक्ति दिँदा त्यस कम्पनीमा आबद्ध हजारौँ लगानीकर्ताको लगानीमा असर गर्छ भन्ने चेत समेत सांसदमा देखिएन।

लगानीकर्तालाई भलाइको लागि आफूले शेयर बजारको बारेमा टिप्पणी गरेको एक पूर्वअर्थमन्त्रीले भने। तर जुन तरिकाले सासंदहरुले पर्याप्त ज्ञान बिना नै शेयर बजार बारे टिप्पणी गरिरहेका थिए। त्यसलाई शेयर बजार बुझेका र त्यहाँ उपस्थित अन्य मानिसहरूले सरम महसुस गरिरहेको देखियो। जसलाई शेयर बजारमा के कसरी कारोबार हुन्छ। शेयर बजार जस्तो संवेदनशील विषयमा के बोल्न हुन्छ। के बोल्नु हुँदैन। बिना प्रमाण “रे” को आधारमा प्रश्न उठाउने सांसदले लगानीकर्ताको हितको लागि कुरा गरिरहेको भन्दा उनीहरूले लगानीकर्ताको हित कसरी खोजिरहेका होलान् त्यो आफैमा सोचनीय विषय हुन जान्छ।  




comments powered by Disqus

तीन कारणले शेयर बजारमा ५.१८ प्रतिशतको पहिरो, तर कारोबार रकममा कीर्तिमान बन्नुले के अर्थ राख्छ ?

Aug 06, 2024 05:41 PM 0

सुवास निरौला

मंगलबार शेयर बजारमा एकाएक ५.१८ प्रतिशतको पहिरो गयो। नेपाल स्टक एक्सचेन्जको कारोबार मापक सूचक ‘नेप्से’ १४५.०५ अंकले घट्दा सूचक २६५१.३२ अंकमा ओर्लियो।