३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM Merolagani



सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।

 

उनी यस अघि शेयर बजार बुलिस ट्रेन्डमा रहँदा प्रवेश गर्ने अभागी लगानीकर्ता हुन्। उनी आफैले आफैलाई अभागी भन्छन्। किनकि जब उनी दोस्रो बजार प्रवेश गरे त्यति बेला देखि शेयर बजार घट्दो क्रममा गयो। सोही कारण उनी आफूले आफैलाई अभागी भन्छन्। “जब मैले शेयर किने त्यही बेला देखि शेयर बजार घट्न थाल्यो। भन्नुस् त म भन्दा अभागी अरू को होला ? ” उनले भने।

तर चालिसेले यो घट्दो अवधिमा एउटा भूल भने गरेनन्। त्यो हो उनले किनेको शेयर बिक्री गरेनन्। जसले उनलाई शेयर बजार प्रवेश गर्ने सल्लाह दिएका थिए। शेयर बजारमा सबै कुरा गर्नु तर घाटामा शेयर कहिल्यै नबेच्नु भन्ने सल्लाह चालिसेले पाएका रहेछन्। “मलाई शेयर बजार प्रवेश गर्ने प्रेरित गर्नु हुनेले शेयर बजारमा नाफा मात्रै हुन्छ। घाटा कहिल्यै हुँदैन। कहिल्यै घाटा नखाने उपाय भनेको घाटामा कहिल्यै शेयर नबेच्नु हो। जबसम्म घाटामा शेयर बिक्री गरिँदैन तबसम्म शेयर बजारमा घाटा हुने सम्भावना नै हुँदैन भनेर भन्नु भएको थियो ” चालिसेले सुनाए। सोही मन्त्र उनले मनमा गाँठो पारेर राखेका रहेछन्। सोही कारण उनले घाटामा शेयर नबेचेको सुनाए।

त्यसकारणले उनले अहिलेसम्म शेयरमा घाटा बेहोर्नु परेको रहेनछ। तर कागजमा हिसाब गर्दा भने अझै पनि उनको पोर्टफोलियो केही घाटामा नै छ। तर त्यो कागजमा मात्रै हो। उनकै मन्त्र अनुसार भन्ने हो भने उनले आफ्नो मूल धनबाट कति पनि रकम गुमाएका छैनन्। भलै कागजमा उनको मूल धन अझै उक्सिसकेको अवस्था छैन।

अहिले शेयर बजार बढ्दो क्रममा छ। सबैले आफूले यति कमाएको उति कमाएको भनेर सुनाउँछन्। अर्कोतर्फ शेयर बजार बढेको भनेर सङ्घीय संसदमा नै एक स्वतन्त्र सांसदले शेयर बजार धेरै बढेको भनेर सचेत गराएको उनलाई कत्ति पनि चित्त बुझेको रहेनछ। “एउटा सांसदले शेयर बजार बढेको भनेर संसदमा भनेछन्। खै शेयर बजार बढेको ? मेरो लागि त अझै बढेकै छैन। मैले किनेका केही कम्पनीको शेयर मूल्य मात्रै बढेका छन्। त्यो पनि निक्कै कम,केही अरू कम्पनीको त अझै मैले किनेको मूल्य आएकै छैन। कसरी उनले शेयर बजार बढेको भनेका होलान्। मलाई उनले भनेको कुरा चित्त बुझेको छैन।”

हुन पनि हो । ३२ सय विन्दुको सेरोफेरोमा बजारमा फसेकाहरूको लागि त अझै शेयर बजार बढेकै छैन। उनीहरूले त्यसबखत  शेयर किन्न चुकाएको मूल्य अझै आएकै छैन। यस बीचमा मेरो लगानीले त्यसबेला पुगेको कम्पनीको मूल्य र अहिले कायम भएको मूल्य दाँजेर हेर्ने प्रयास गरेको छ। जसमा साँच्चै चालिसेले भने जस्तै त्यसबेला कम्पनीले तय गरेको मूल्य र अहिले तय हुन पुगेको मूल्यमा धेरै फरक छ। चालिसे सही छन्।

त्यसबेला तय भएका कतिपय कम्पनीको मूल्य अहिले बढी भइसकेको छ भने केहीको अझै हुन बाँकी देखियो। मेरो लगानीले सेक्टर वाइज छुट्टाएर त्यस बेला तय भएका कम्पनीको मूल्यसँग अहिले कायम भएको मूल्य दाँजेको छ। शेयर बजारको प्राविधिक भाषामा भन्नु पर्दा केही कम्पनीको मूल्य ब्रेक आउट हुँदै गएका छन् भने केही हुने क्रममा देखिएका छन्। मूल्य ब्रेक आउट भएका कम्पनीलाई हेर्दा अरू कम्पनीको पनि ब्रेक आउट हुने सम्भावना देखिन्छ। यदि सबै कम्पनीले त्यस बेलाको मूल्य ब्रेक आउट गर्न सके चालिसेको मूल मन्त्रले साँच्चिकै काम गरेको प्रमाणित हुने छ भने चालिसे पनि नाफामा जाने छन्।

अब हेरौँ सूचक ३२ सय आसपासमा कायम भएका कम्पनीका शेयर मूल्य र अहिले कायम भएको शेयर मूल्य। त्यो पनि सेक्टर वाइज। यस अघि ३२ सयको हाराहारीमा सन् २०२१ अगस्ट महिनामा शेयर बजारले रेकर्ड कायम गरेको थियो।  २०२१ अगस्ट ८ तारिखमा कायम भएको मूल्यलाई २०२४ अगस्ट महिनामा कायम भएको मूल्य सँग दाँजिएको छ। त्यो पनि एडजस्टेड प्राइसमा।  

सबैभन्दा पहिले वाणिज्य बैङ्कहरूमा तीन वाणिज्य बैंकले त्यस बेला कायम गरेको मूल्य भन्दा बढी मूल्य पाइसकेका छन्। उनीहरूको मूल्यमा ब्रेक आउट देखिएको छ। जसमा स्टान्डर्ड चार्टर्ड बैंक नेपाल एसबिआइ बैंक र एभरेस्ट बैंक छन्। अरूको मूल्य ब्रेक आउट हुन बाँकी छ। सबैभन्दा धेरै मूल्य नेपाल बैंकको बढ्न बाँकी छ। उसको मूल्य अझै ४० प्रतिशत बढे मात्रै त्यति बेला शेयर किन्ने ब्रेक इभन पोइन्टमा(बिइपि)मा पुग्ने छन्।

अब पालो विकास बैंकको। ६ विकास बैंकको मूल्य ब्रेक आउट भइसकेको छ। सबैभन्दा धेरै कर्पोरेट विकास बैंकका शेयर धनीले कमाएको देखिन्छ । ज्योति विकास बैंकको शेयर मूल्य अब झण्डै २९ प्रतिशत बढे मात्रै त्यस बेला शेयर किन्ने नाफामा जाने छन्।

फाइनान्समा पाँच फाइनान्सको शेयर मूल्य ब्रेक आउट भएको छ। अरू हुने क्रममा देखिएका छन्। जसमा सबैभन्दा बढी नेपाल फाइनान्सका लगानीकर्ता नाफामा देखिएका छन् भने गोर्खा फाइनान्सको शेयर मूल्य अझै झन्डै ३९ प्रतिशत बढे मात्रै नाफामा जाने छन्।

होटेल समूहका शेयरधनी त झन्डै झन्डै सबै नाफामा देखिएका छन्। होटेल समूहका सूचीकृत चन्द्रागिरि हिल्स मात्रै त्यस बेलाको मूल्यमा पुग्न सकेको छैन। अब १५ प्रतिशत बढे उसको मूल्य पनि ब्रेक आउट हुने छ।

जलविद्युत कम्पनीमा भने अझै धेरै लगानीकर्ता फसेको देखिन्छ। तर सात कम्पनीको मूल्य भने ब्रेक आउट भएको छ।

लगानी समूहमा सूचिकृत पाँच कम्पनी मध्ये तीन कम्पनीको शेयर मूल्य ब्रेक आउट भएको छ। अब दुई कम्पनीको शेयर मूल्य ब्रेक आउट हुन बाँकी छन्।

जीवन बिमा समूहमा भने सबैजसो कम्पनी सङ्घर्षरत देखिन्छन्। उक्त समूहका लगानी गर्ने लगानीकर्ताले त्यस बेला चुकाएको मूल्य आउन अझै निक्कै बाँकी छ।

उत्पादनमूलक समूहमा पनि पाँच कम्पनी मध्ये तीन कम्पनीले आफ्नो मूल्य पाइसकेका छन् भने दुई कम्पनीका शेयर धनीले अझै त्यस बेलाको मूल्य उठाउन सकेका छैनन्। जसमा शिवम् सिमेन्टका शेयर धनी पर्छन्। शिवम् को मूल्य उकासिन अझै ५० प्रतिशत बढ्नु पर्ने हुन्छ।

सबैभन्दा धेरै मर्कामा लघुवित्तका शेयरधनी देखिएका छन्। तर उक्त समूहमा पनि ९ लघुवित्तको मूल्य ब्रेक आउट भइसकेको छ। तर धेरैको शेयर मूल्य अझै धेरै बढ्नु पर्ने देखिन्छ। अनि मात्रै उक्त समूहका शेयरधनी नाफामा जाने छन्।

केही निर्जीवन बिमा कम्पनीका शेयर मूल्य पनि ब्रेक आउट भएका छन्। तर अझै केही कम्पनीको हुन बाँकी छ।

अन्यमा सूचीकृत कम्पनीमा नेपाल टेलिकमको मूल्य ब्रेक आउट भएको छ भने नेपाल रि इन्स्योरेन्स कम्पनीको मूल्य अब १२ प्रतिशत बढे त्यस बेलाको मूल्यमा पुग्ने छ। ट्रेडिङ समूहका रहेको कम्पनीमा एकको मूल्य ब्रेक आउट भएको छ भने अर्कोको मूल्य हुने क्रममा देखिएको छ।

नोट-: माथि उल्लेखित चार्टमा मर्जरमा गएका कम्पनी र ३२ सयको लाइनमा रहँदा सूचिकृत नभएका कम्पनी समावेश गरिएको छैन। अर्को तर्फ निश्चित कम्पनीले सर्वाधिक कायम गरिएको मूल्यसँग पनि दाँजिएको छैन। निश्चित दिनमा कायम भएको मूल्यसँग दाँजिएकोले मैले त यति मूल्यमा किनेको थिए भनेर प्रश्न नगर्नु होला। अर्को तर्फ स्टान्डर्ड चार्टडको मूल्य आठ हजार पुगेको थियो त्यो मूल्य ब्रेक आउट हुन अझै धेरै बाँकी छ भन्ने पनि हुन सक्छ। तर मेरो लगानीले अघिल्लो बुल र अहिलेको बढ्दो लयलाई मात्रै दाँज्न खोजेको हो। यसले के प्रमाणित गर्न खोजेको छ भने अहिले शेयर बजारको क्षमता बढ्दै गएको देखिन्छ। यस अघि जसरी कम्पनीको शेयर मूल्य कायम हुने र त्यो मूल्य भेट्टाउन अर्को युग पर्खिनु पर्ने अवस्था रहने गर्थ्यो त्यो भने अब साघुँरिदै गएको देखिन्छ। अहिले अघिल्लो बुलको मूल्य ब्रेक आउट हुनुले पनि शेयर बजारमा गरिएको लगानी जोखिम घटेको देखिन्छ। गएको तीन वर्ष अघि लगानी भएका कम्पनीको मूल्य ब्रेक आउट हुनु र हुने क्रममा रहनुले त्यो जोखिम कम गरेको प्रमाणित गर्छ।  तर स्मरण रहोस् दोस्रो बजारमा गरिने लगानी सबैभन्दा जोखिमपूर्ण लगानी हो। त्यसमा आफ्नो लगानीको निर्णय र जिम्मा आफैले लिनु पर्छ। यो लेखको आशय लगानी गर्न प्रेरित गर्नु भन्ने होइन।    

 



comments powered by Disqus

३२ सय विन्दु नजिकको मूल्य ब्रेक आउट हुने क्रम सुरु, कुन कम्पनीले गरे कसको हुन बाँकी ? (सूची सहित)

Aug 10, 2024 05:25 PM 0

सुवास निरौला

अरुण चालिसे (नाम परिवर्तन)शेयर बजारले ३१९८.६० विन्दुको रेकर्ड बनाउँदा फसेका लगानीकर्ता हुन्।