राइट शेयरको प्रभाव कम्पनीले प्रस्ताव गर्ने सूचना चुहिए देखि नै पर्न सुरु गरेर बिद्युत् नियमन आयोगमा दर्ता हुँदा होस् वा धितोपत्र बोर्डमा निवेदन पर्दा, अझै स्वीकृत हुँदासम्म यसको प्रभाव रहने गर्थ्यो। तर अहिले समय फेरिएको छ। कम्पनीले हकप्रद निष्कासन गर्ने खबरले मात्रै दोस्रो बजारमा शेयर मूल्य बढ्ने गरेको छैन। चुक्ता पूँजी कम हुने कम्पनीको मात्रै थोर बहुत प्रभाव रहने गरेको भएपनि चुक्ता पूँजी बढी भएका कम्पनीमा पहिले जस्तो प्रभाव पर्न छाडेको छ। तर पनि शेयर बजारमा हकप्रदको चार्म अझै घटी सकेको छैन। आज पनि कम्पनीले हकप्रद दिने भनेपछि धेरै लगानीकर्ताले उक्त कम्पनीमा लगानी बढाउने गरेका छन्।
मेरो लगानीले हकप्रद शेयर भर्नु लगानीकर्ताको लागि फाइदाजनक लगानी साबित गर्छ या गर्दैन भनेर मूल्यको तुलना गरेको छ। अझै बुल ट्रेन्ड सुरु हुनु र नहुनुले के फरक पार्यो भनेर पनि हेरिएको छ। जसमा यदि बुल ट्रेन्ड सुरु नभएको भए आज पनि धेरै कम्पनीका हकप्रद शेयर भर्नेले नाफा बनाउन अझै केही समय पर्खनु पर्ने थियो भने बुल ट्रेन्ड आएकोले सबैजसो हकप्रद शेयर भर्ने नाफामा गएका छन्।
मेरो लगानीले पछिल्लो समय हकप्रद शेयर निष्कासन गर्ने १६ कम्पनीको शेयर मूल्यलाई तुलना गरेको छ। जसमा गत असार १७ गतेको मूल्य र पछिल्लो पटक तय भएको मूल्यमा तुलना गरिएको छ। किनकि असार १७ यता शेयर बजारले बुलिस ट्रेन्ड समाएको हो। त्यस उता शेयर बजार आफ्नै लयमा थियो। असार १७ गतेको मूल्यसँग तुलना गर्दा १६ कम्पनीमा सात कम्पनी मात्रै फाइदामा थिए भने पछिल्लो समय तय भएको मूल्यमा तुलना गर्दा सबै कम्पनीका हकप्रद शेयर भर्ने फाइदामा गएको देखिन्छ।
असार १७ सम्ममा सबैभन्दा बढी हिमालयन ऊर्जा विकास कम्पनीको हकप्रद शेयर भर्ने फाइदामा थिए। उनीहरू ६२ प्रतिशतसम्म फाइदामा थिए। त्यस बेला अपर तामाकोशीका शेयरधनीलाई ३६ प्रतिशतसम्म नोक्सान थियो।

तर बुल सुरु भए यता भने सबै कम्पनीको हकप्रद शेयर भर्ने फाइदामा गएका छन्। पछिल्लो समय तय भएको मूल्यसँग तुलना गर्दा सबैभन्दा बढी मल्टी प्रपोज फाइनान्सका शेयरधनी शतप्रतिशत नाफामा देखिएका छन्। उनीहरूले १४३ प्रतिशत नाफा गरेका छन् भने दोस्रोमा घलेम्दी हाइड्रोका शेयरधनी छन्। जसले १०५ प्रतिशत नाफा कमाए। अर्थात् उनीहरूको लगानी डबल भएको छ। सबैभन्दा कम कमाउनेमा अपर तामाकोशीका शेयरधनी छन्। उनीहरूले सबैभन्दा कम १३.५६ प्रतिशत मात्रै कमाएका छन्। यदि अहिले शेयर बजार बुलिस ट्रेन्डमा नगएको भए त्यो नाफा हुन पनि हम्मे हम्मे पर्ने थियो।

पछिल्लो तथ्याङ्कले कम चुक्ता पूँजी भएका कम्पनीको हकप्रदमा लगानी गर्नु अहिले पनि लगानीकर्ताको लागि फाइदाको सौदा हुन सक्ने देखाएको छ भने चुक्ता पूँजी बढी भएका कम्पनीको हकप्रद भर्नेले नाफा बनाउन दोस्रो बजारमा बुलिस ट्रेन्डलाई नै पर्खनु पर्ने हुन्छ।