बुधबार नेप्से सूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा पुगेको छ। बुधबार पनि केहि कम्पनीहरुमा नाफा बुकिङले गर्दा बजारमा केहि बिक्री चाप बढेको थियो। तर बजारमा खरिदकर्ता पनि उतिकै सक्रिय भइरहेका छन्।
तिब्र उतारचढाव भएको बजारमा पनि बुधबार कारोबार रकम भने अघिल्ला दिनहरुको तुलनामा निकै घटेको देखिन्छ। बुधबार १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँ बराबरको ४ करोड १४ लाख ५४ हजार ६११ कित्ता शेयर खरिदबिक्री भएको छ। केहि दिन अघि मात्रै ३० अर्ब माथिको शेयर कारोबार भएकोमा बुधबार कारोबार रकम ह्वातै घटेको छ। लगानीकर्ता पर्ख र हेरको अवस्थमा रहँदा कारोबार रकम घटेको हो।
यस दिन कारोबारमा आएका १३ उपसमूहमा ५ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने बाँकी ८ उपसमूहको सूचक नकारात्मक देखिएको छ। फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै ४.९९ प्रतिशतले बढेको छ भने ब्यापार उपसमूहको सूचक सबैभन्दा धेरै २.०९ प्रतिशतले घटेको छ।
बुधबार ४ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने ५ कम्पनीको ९ प्रतिशतभन्दा धेरैले बढेको छ। यता कर्णली डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ भने मातृभूमी लघुवित्तको ५.९८ प्रतिशत र सम्पदा लघुवित्तको ५.४८ प्रतिशतले घटेको छ।
बुधबार पनि हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै ६६ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने अपि पावरको ४५ करोड ७८ लाख, एभरेष्ट बैंकको ४५ करोड ९ लाख र सानिमा हाइड्रोपावरको ३६ करोड रुपैयाँको शेयर कारोबार भएको छ।