उनले पदभार ग्रहण गर्दै नेप्सेले गर्नु पर्ने तीनवटा मुख्य सुधार के हाे भन्दै सरकारवालाकाे सुझाव मागेका छन । मेराेलगानीका उप सम्पादक सुवास निराैलाकाे चापागाईँसँग प्रश्न छ, भर्खरै नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुनुभएको छ। कस्तो अनुभूति गरिरहनु भएको छ ?
नेपालको इकोनमीमा पूँजी बजार मेरुदण्डका रुपमा रहेको छ। त्यसमा पनि नेपाल स्टक एक्सचेन्ज बजार सञ्चालकको हैसियतको रुपमा छ। फेरि यो नेपाल सरकारले लगानी गरेको एक मात्र स्टक एक्सचेन्ज हो। अनुभूतिकै कुरा गर्दा मैले सही ठाउँमा सही जिम्मेवारी पाएको अनुभूति गरिरहेको छु। अहिले मैले भन्नै पर्दा एकदमै थोरै बोलेर धेरै काम गर्नु पर्ने हुन्छ।
तपाईले नेपाल स्टक एक्सचेन्जमा जिम्मेवारी पाए भने यस्तो परिवर्तन चाहिँ गर्ने प्रयास गर्ने छु भन्ने कुनै योजना बनाउनु भएको छ
?
यसमा के छ भने कुनै पनि कुराको ग्रोथ हुन निश्चित समय त लाग्छ नै। प्राकृतिक ग्रोथ टिकाउ पनि हुन्छ। फेरि म प्राकृतिक ग्रोथमा विश्वास गर्ने मान्छेमा पर्छु। तथापि मैले आवेदन दिँदै गर्दा केही योजना पेस गरेकै छु। किनकि निवेदन दिँदा नै बिजनेस प्लान दिनु पर्ने नियम नै थियो। फेरि यो बजारको जानकार व्यक्तिहरूमा नै म पनि पर्ने भएकोले मेरो प्रस्तुति त्यहाँ राम्रो नै भयो।
नेपाल स्टक एक्सचेन्जको जति लामो इतिहास छ। पुरानो इतिहास बोकेको संस्था भएकोले यसमा हामीले अहिले समय सापेक्ष बनाउँदै लैजाने मेरो योजना छ। त्यसको लागि रिसर्च गर्ने, रिसर्चबाट फाइन्डआउट भएका विषयलाई कार्यान्वयन गर्दै लैजाने मेरो योजना छ। फेरि यस संस्थामा म मात्रै छैन। मेरा संस्थापकहरूमाथि बोर्ड पनि छ। त्यसैले मैले मात्रै छुट्टै यही गर्छु भन्ने हुँदैन। सबैले मिलेर गर्ने हो। त्यसको लागि आज बुधवार बिहानै हामीले बैठक गरेका थियौ। खासगरि संस्थामा काम गर्ने साथीहरूसित बैठक भएको थियो। त्यसमा केही कुरा उठेका थिए। जस्तै बजारमा आ-आफ्नै क्षमता र विज्ञता भएका लगानीकर्ताहरू हुनुहुन्छ। त्यसैगरी स्टक एक्सचेन्जको स्टेकहोल्डरहरु पनि हुनुहुन्छ। उहाँहरुसित नेपाल स्टक एक्सचेन्जको राम्रो तीन वटा पक्ष के के हुन् र सुधार्नु पर्ने कुराहरू के के हुन् ? भनेर माग्ने निर्णय गरेका छौ। आजको तपाईसँग भएको यो भलाकुसारी मार्फत पनि आम सर्वसाधारण लगानीकर्तालाई पनि यहीबाट म आह्वान पनि गर्न चाहन्छु। यसको बारेमा हामी हाम्रो वेभ साइटमा पनि सूचना राख्ने छौ।
राम्रा पक्ष आउँदा हामीलाई हौसला मिल्छ भने सुधार्नु पर्ने सुझावले हामीलाई केही गर्न उत्प्रेरित गर्ने छ। सुझाव मार्फत आएका सुधार्नुपर्ने कुराहरूलाई हामी छान्छौ। त्यसमाथि छलफल गर्ने छौ। त्यसपछि त बजारले नै हामीलाई सिकाउने छ।
अहिले चाहिँ चलिरहेको संस्थामा संस्थागत सुशासन र पारदर्शितामा मेरो जोड रहने छ। त्यसैगरी डिजिटाइजेसन र टेक्नोलोजीलाई स्तरोन्नति गरिने छ। किनकि यो टेक्नोलोजी बेसको सेवामूलक संस्था हो। फेरि टेक्नोलोजी समय समयमा अपग्रेड भइरहन्छन्। त्यसैअनुसार अपग्रेड भइएन भने पछि परिन्छ। त्यसैले यसमा हामीले अलि बढी नै लगानी पनि गर्नुपर्छ।
जहिलेदेखि मैले यो जिम्मेवारी पाएँ त्यति नै बेलादेखि मैले महशुस गरिरहेको विषय भनेको लगानीकर्तालाई सचेतनाको एकदमै बढी खाँचो छ। हेर्दा सुन्दा सरल देखिन्छ, सुनिन्छ। सबैलाई थाहा छ जस्तो पनि लाग्छ। सबैलाई मलाई आउँछ जस्तो लाग्छ। तर यसलाई अझै प्रभावकारी बनाउनु पर्ने देखिन्छ। लगानीकर्तालाई सचेत गराउन सकियो भने के हुन्छ भने नलेज र कन्फिडेन्स बढ्छ। कन्फिडेन्स बढेपछि बजारको साइज बढ्छ। साइज बढेपछि यसको इम्प्याक्ट सबैतिर पोजेटिभ जान्छ। 
तपाईले यो बजारको जानकार व्यक्तिहरूमा नै म पर्छु भनेर भन्नु भयो। अन्तर्राष्ट्रिय बजारका स्टक एक्सचेन्जहरूले दिने सेवा सुबिधा र नेपालको स्टक एक्सचेन्जले दिने सेवा सुविधामा फरक छ जस्तो लाग्छ कि लाग्दैन ? त्यसैगरि नेपाल स्टक एक्सचेन्जले केही इस्टुमेन्टहरु बढाउनु पर्ने देख्नु हुन्छ कि हुँदैन ?
हामी अहिले ग्लोबल भिलेज भइसक्यौ। त्यसले गर्दा हामी साँघुरिएर बस्नु भन्दा अन्तर्राष्ट्रिय बजारको स्तर मेन्टन गर्नको लागि पनि अन्तर्राष्ट्रिय रणनीतिक साझेदार संस्था जोड्न सक्यौँ भने त्यसले बजारमा छुट्टै भाइब्रेन्ट ल्याउँछ। नेपालमा रेटिङ कम्पनीहरूले पनि त्यसैगरी काम गरिरहेकै छन्। त्यसले गर्दा यो विषय मैले आफ्नो बिजनेस प्लानमा पनि राखेको थिएँ र अब आउने दिनमा यो विषय म बोर्डमा छलफल गर्न लैजान्छु। त्यसरी रणनीतिक साझेदार ल्याउन सकियो भने विश्व बजारमा भइरहेको रिसर्च र प्रविधि परिवर्तनहरू आदान प्रदान गर्न सकिन्छ। कर्मचारी आदान प्रदान पनि हुन सक्छ। काम गर्ने शैली पनि सिक्ने सिकाउने अवसर प्राप्त हुन्छ। अर्कोतर्फ उनीहरूले कस्ता प्रडक्ट कहिलेदेखि चलाउँदै आएका छन्। त्यो पनि थाहा हुन्छ। त्यसले पनि नेपालमा नयाँ प्रडक्ट भित्र्याउन सक्ने सम्भावना देखेको छु। आज मैले नियुक्ति लिएको दोस्रो दिन हुँदै छ। यहाँ मैले सबै कुराहरू भन्न सकिन होला। तर यति भन्छु कि यसमा म सकारात्मक छु।
नेप्सेको प्राथमिक निष्कास गर्ने कुरा पनि पछिल्लो समय आएको थियो। यसमा तपाईको जोड रहन्छ कि रहँदैन ?
हिजोको बैठकमा साथीहरूले यो कुरा राख्नु भयो। त्यस विषयमा चाँहि अहिले नै मैले केही भन्न सकिन। तर सञ्चालक समितिमा कुरा गरेर भने केही भन्न सक्छु।
निजी क्षेत्र र सरकारीमा काम गर्ने शैलीमा निक्कै भिन्नता हुन्छ। फेरि आफूले गर्न खोजेको कुरा पुरा गर्न माथिल्लो निकायका मानिसहरूसित कहिले काही जुध्न पनि सक्नु पर्छ। तपाई यस विषयमा कत्तिको तयार हुनुहुन्छ ?
त्यसरी जुध्नु नै पर्छ जस्तो मलाई लाग्दैन। अहिले सरकारी निकाय पनि धेरै हाई टेक भइसकेको छन्। आज भन्दा पाँच १० वर्ष अघि भन्दा अहिले धेरै परिवर्तन पाउनुहुन्छ। मैले जुन नियामकसँग बसेर काम गर्नुपर्छ त्यहाँ पनि मैले योङ इनरर्जेटिक नै सिनियरहरु पाएको छु। उहाँहरुले पनि अब केही गर्नुपर्छ भन्नुभएको छ। त्यसले गर्दा पनि त्यति गाह्राे नहोला। स्वाभाविक रुपमा आँफै पनि निजी क्षेत्रबाट आएकोले अहिले हाइब्रिड जस्तो हुन्छ होला जस्तो लाग्छ। सरकारी र निजी क्षेत्रको अनुभव मिसाउँदा झन् राम्रो अपरच्युनिटिको रुपमा लैजान सकिन्छ जस्तो लाग्छ। मेरो भनाइ भनेको हरेक कुरामा पोजेटिभ भएर जाने हो। समाधान खोज्ने। हिजो के भयो भन्नेतिर नअलमलिने। थोरै बोल्ने र आउटपुट निकालेर देखाउने बेला आएको छ। किनभने यो बजार सेन्सेटिभ छ। त्यसले गर्दा धेरै बोल्नु हुँदैन। जे बोल्ने हो त्यो आधिकारिक हुनुपर्छ। नत्र यसले बजारमा असर गर्न सक्छ।
हुन त नेप्से प्रमुखको जिम्मेवारी चार वर्षको हुन्छ। तर यस अघिका प्रमुखलाई सरकारले तीन वर्षको लागि मात्रै नियुक्ति दिइएको थियो। तपाई कति वर्ष यहाँ रहनुहुन्छ ?
मैले नियुक्ति पत्र हिजो मात्रै बुझे। बुझेकै दिन देखि म यहाँ आए। आउने एक महिना भित्रमा मैले व्यवसायिक प्लान बनाएर दिनुपर्छ। त्यसपछि मात्रै कति वर्ष हुन्छ भन्ने टुङ्गो लाग्छ। जहाँसम्म चार वर्ष नै हुन्छ जस्तो लाग्छ।