हाल मूल्य बढ्ने क्रममा रहेका कम्पनीहरूमा ङादी ग्रुप पावर, सानिमा माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर आदिको नाम उल्लेखनीय छ। यी सबै कम्पनीहरू चुक्ता पूँजीको हिसाबले ठूला कम्पनीहरू हुन्।
यी कम्पनीहरूले आफ्नै परियोजना मात्र निर्माण गरेका छैनन्, आफ्ना सहायक कम्पनीमार्फत पनि जलविद्युत् आयोजना निर्माणमा संलग्न छन्। केहीले त अन्य कम्पनीहरूले निर्माण गरेका आयोजना तथा कम्पनीहरूमा पनि लगानी गरेका छन्। ठूला कम्पनी भएका कारणले यिनीहरूले लामो समयदेखि आफ्नो लगानीलाई विविधिकरण गर्दै आएका छन्।
अब भने यस्ता विविधीकृत लगानीहरूबाट लाभ लिन थालेका छन्। अर्थात्, ती लगानीबाट लाभ लिने वा ती लगानीबाट फिर्ता रकम लिएर नयाँ लगानी गर्ने समय आएको छ। यही अवस्थालाई दोस्रो बजारमा ‘क्यास’ गर्न थालिएको देखिन्छ, जसका कारण माथि उल्लेखित कम्पनीहरूको शेयर मूल्य बढिरहेको हो भन्ने विश्लेषण एक ब्रोकर कम्पनीका सञ्चालकले गरेका छन्।
“अहिले ङादी ग्रुप पावर, सानिमा माई हाइड्रोपावर, राधी विद्युत् कम्पनी, बुटवल पावर कम्पनी, अरुण भ्याली हाइड्रोपावर, रिडी हाइड्रोपावर कम्पनी आदिको शेयर मूल्य लगातार बढ्दो क्रममा छ। यसको मुख्य कारण भनेको ती कम्पनीहरूले आफ्ना सहायक कम्पनी वा अन्य कुनै कम्पनीमा गरेको लगानीबाट शेयर बिक्री गरी नगद प्राप्त गर्दै छन् भन्ने व्यापक चर्चा बजारमा छ। ‘क्यास गर्दै छन्’ भन्नुको अर्थ उनीहरूले ती कम्पनीहरूमा रहेको शेयर बिक्री गर्दै छन् भन्ने हो। सहायक कम्पनीको शेयर बिक्रीबाट ती कम्पनीहरूले उल्लेख्य नाफा कमाउने अपेक्षा गरिएको छ। त्यसैले चुक्ता पूँजी धेरै भए पनि यस्ता कम्पनीप्रति लगानीकर्ताको आकर्षण बढ्दो छ। नाफाको सम्भावनाले गर्दा मात्र होइन, ठूला लगानीकर्ताहरूले यस्ता कम्पनीहरूको शेयर किन्न थालेका छन्, जसले गर्दा साना लगानीकर्ता पनि उनीहरूसँगै लागिरहेका छन्,” ती ब्रोकर कम्पनीका सञ्चालकले मेरो लगानीसँग भने।
तर लगानीकर्ताहरूबीच एउटा अन्योलपूर्ण प्रश्न छ – के जलविद्युत् कम्पनीले आफ्ना सहायक कम्पनीको शेयर बिक्री गर्न पाउँछन् त?
यही विषयमा मेरो लगानीले नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नवराज अधिकारीसँग बुझ्दा उनले भनेः
“सबैभन्दा पहिला भन्ने हो भने, नियमभित्र बसेर जो–कोहीले शेयर कारोबार गर्न पाउँछन् – चाहे त्यो व्यक्ति होस् या संस्था। कुनै पनि संस्थाको प्रमुख उद्देश्य भनेको नाफा कमाउनु हो। त्यसैले जलविद्युत् कम्पनीले अन्य कम्पनीमा गरेको लगानीको शेयर बिक्री गर्न पाउँछन्। तर त्यो शेयर बिक्री योग्य छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुन्छ।
जस्तै, जुन कम्पनीमा लगानी गरिएको छ त्यो संस्थापक शेयर हो भने सम्बन्धित क्षेत्रको नियमन निकायको नियमअनुसार बिक्री गर्नुपर्छ। बैंक, वित्तीय संस्था र बीमा कम्पनीको हकमा अझ स्पष्ट नियमन हुन्छ। यदि जलविद्युत् कम्पनीले अर्को जलविद्युत् कम्पनीमा लगानी गरेको हो भने र त्यसको लक-इन अवधि समाप्त भइसकेको छ भने उनीहरूले त्यो शेयर बिक्री गर्न सक्छन्। यदि सञ्चालक समितिमा बसेको व्यक्ति हो भने पनि नियमानुसार मात्रै शेयर किनबेच गर्न पाइन्छ।”