चालु आवमा चार हाइड्रोपावरले पाए हकप्रद शेयर निष्काशन अनुमति, अझै एक तिहाई 'पाइप लाइन'मा (सूचीसहित)

Apr 04, 2025 06:06 AM MeroLagani



नेप्सेमा सूचीकृत भएका ९१ वटा हाइड्रोपावर कम्पनीमध्ये अहिले एक तिहाई कम्पनी हकप्रद शेयर निष्काशन गर्ने तयारीमा लागेका छन् । नयाँ आयोजनामा लगानी गर्न र ऋण तिर्नका लागि भनेर अधिकांश हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेका छन् ।

नेप्सेमा अहिले ९१ वटा कम्पनी सूचीकृत छन् भने त्यसमध्ये ३१ वटा कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने तयारी गरेका छन् । ३१ मध्ये पनि ११ वटा कम्पनीले हकप्रद शेयर निष्काशनको लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)मा अनुमति माग गरेर पाइपलाइनमा बसेका छन् । एउटा हाइड्रोपावरले अहिले हकप्रद निष्काशन गरिरहेको छ भने बाँकी हाइड्रोपावर कम्पनीले साधारण सभाबाट हकप्रद शेयर निष्काशन गर्ने एजेन्डा साधारण सभाबाट पास गराएका छन् ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अनुसार बाराही हाइड्रोपावर, शिवश्री हाइड्रोपावर, बुद्धभुमी नेपाल हाइड्रोपावर, छ्याङदी हाइड्रोपावर, बरुण हाइड्रोपावर, राप्ती हाइड्रो, खानीखोला हाइड्रोपावर, तेर्हथुम पावर, जोशी हाइड्रोपावर र रिभर फल्स पावरले हकप्रद शेयर निष्कासन गर्ने स्वीकृतिका लागि निवेदन दिएका छन् । अधिकांशले कर्जा तिर्नका लागि हकप्रद शेयर जारी गर्न पाउने व्यवस्था भएपछि सो हकप्रद शेयर जारी गर्न अघि सरेका हुन । हाइड्रोपावरमा दीर्घकालीन ऋण हुन्छ । सो ऋण चुक्ता हुनासाथ शेयरधनीले लाभांश पाउन सक्ने प्रलोभनमा धेरै लगानीकर्ता पछिल्लो समय यस्ता हकप्रद दिने कम्पनीहरुमा झुम्मिने गरेका छन् ।

चालु आर्थिक वर्षमा लिबर्टी इनर्जी कम्पनी, बलेफी हाइड्रोपावर, ङादी गु्रप पावर र दोर्दी खोला जलविद्युत कम्पनी गरी अहिलेसम्म ४ वटा हाइड्रोपावर कम्पनीले हकप्रद निष्काशनको अनुमति पाएका छन् । लिबर्टीले १ बराबर शून्य ५ को अनुपातमा ७५ लाख कित्ता बराबरको ७५ करोड रुपैयाँको हकप्रद शेयर निष्काशन गरेको थियो भने बलेफी हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता बराबरको १ अर्ब ८२ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको शेयर निष्काशन गरेको थियो ।

त्यसैगरी ङादी ग्रुप पावर लिमिटेडले १ बराबर १ को अनुपातमा १ करोड ८५ लाख १२ हजार ७ सय ९२ दशमलब २२५ कित्ता शेयर बराबरको १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २ सय २२ रुपैयाँ ५० पैसाको हकप्रद शेयर निष्काशन गरेको थियो । अहिले दोर्दी खोला जलविद्युत आयोजनाले १ बराबर १ को अनुपातमा १ करोड ५ लाख ४२ हजार ६ सय ४ कित्ता बराबरको १ अर्ब ५ करोड ४२ लाख ६० हजार ४ सय रुपैयाँ बराबरको हकप्रद शेयर निष्काशन गर्दैछ ।

गत आर्थिक वर्षमा ६ कम्पनीले कुल ७ करोड ३८ लाख २४ हजार १३२ कित्ता हकप्रद शेयर निष्कासन गर्न सेबोनबाट स्वीकृति पाएका थिए । घलेम्दी हाइड्रोपावरले १ बराबर २ को अनुपातमा १ करोड १० लाख कित्ता, सिंगटी हाइड्रो इनर्जीले १ बराबर १ को अनुपातमा १ करोड ४५ लाख कित्ता, अरुण भ्याली हाइड्रोपावरले १ बराबर १ को अनुपातमा १ करोड ८६ लाख ७९ हजार ६ सय २६ कित्ता, रिडी पावर कम्पनीले १ बराबर शून्य दशमलब ५ को अनुपातमा ७७ लाख ४४ हजार ५ सय ६ कित्ता, हिमालयन ऊर्जा विकास कम्पनीले ९९ लाख कित्ता तथा आँखुखोला जलविद्युत आयोजनाले १ बराबर १.५ को अनुपतमा १ करोड २० लाख कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।

आँखु खोलाले हकप्रद शेयर निष्कासनबाट प्राप्त हुने रकममध्ये ८० करोड रुपैयाँ गणेश हिमाल हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्धित आँखुखोला २ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत शेयर स्वामित्व हुने गरी स्वपूँजी लगानी गर्नेछ भने बाँकी रहेको ४० करोड रुपैयाँ कम्पनीद्वारा निर्मित आँखुखोला १ आयोजना निर्माणका लागि बैंकबाट लिएको दीर्घकालीन ऋणको आंशिक भुक्तानी गर्न प्रयोग गर्ने जनाएको छ।

त्यसैगरी घलेम्दी हाइड्रोपावरलले हकप्रद शेयरबाट संकलित रकम सांग्रिला उर्जा प्रा.लि. द्वारा प्रवर्द्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको (४ घण्टा अर्ध जलासययुक्त) छुजुङ्ग खोला जलविद्युत आयोजनामा ११० करोड रकम (शेयर लगानीको ५९%) शेयर कायम हुनेगरी लगानी गर्ने प्रतिबद्धता गरेको र दोश्रो त्रैमास सम्ममा ५०.७० करोड लगानी गरिसकेको जनाएको छ। ६३ मेगावाटको छुजुङ्खोला जलविद्युत आयोजनाको काम आगामी केही वर्षभित्र सम्पन्न गर्ने गरी प्रस्ताव गरिएको छ।

अहिले सेबोनको पाइपलाइनमा रहेका मध्ये बाराही, शिवश्री, बुद्धभूमि नेपाल, छ्याङदी, बरुण, राप्ती हाइड्रो, खानीखोला, तेर्हथुम पावर र रिभर फल्स पावरले १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने अनुमति मागेको छ भने जोशी हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशत, पिपल्स पावरले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने अनुमति माग गरेको हो ।

त्यसबाहेक युनाइटेड मोदी हाइड्रोपावरले चुक्ता पुँजीको ६५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभा लगेको छ । यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको भएपनि त्यसलाई संशोधन गरी अहिले ६५ प्रतिशत गरेको हो ।

त्यसैगरी पाँचथर पावर, दिव्यश्वरी हाइड्रोपावर, माइखोला हाइड्रोपावर, मोदी इनर्जी, माउन्टेन हाइड्रो नेपाल, पाँचथर पावर, पिपल्स हाइड्रोपावर, साहस ऊर्जा, सयपत्री हाइड्रोपावर, थ्रीस्टार हाइड्रोपावर, युनाइटेड इदी मार्दी आरबी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरले १ बराबर १ को अनुपातमा हकप्रद निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गराएका छन् । साधारण सभाबाट प्रस्ताव पारित गराएर विद्युत नियमन आयोगबाट समेत हकप्रद शेयर निष्काशन अनुमति लिनुपर्ने प्रावधान छ । नियमन आयोगबाट अनुमति लिएपछि मात्रै हाइड्रोपावर कम्पनीहरुले सेबोनमा आवेदन दिने प्रावधान छ ।

त्यसैगरी मन्दाकिनी हाइड्रोपावर १ बराबर १.२५, रुरु जलविद्युत आयोजनाले ८० प्रतिशत, राधी विद्युत कमपनीले ६९.८९ प्रतिशत, हिमालयन पावर पार्टनरले ५० प्रतिशत, माउन्टेन इनर्जी नेपालले ५० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पारित गरेका छन् ।




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारी गिरावट

Apr 06, 2025 11:27 AM

चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।