अन्तिम १५ मिनेटको औसत मूल्यलाई अन्तिम मूल्य मान्ने नियमको लुपहोल, उच्च मूल्यमा ठूलो कित्ताको म्याचिङ कारोबार गरेर बढाउन थाले शेयर मूल्य

Apr 09, 2025 06:14 AM MeroLagani



अन्तिम १५ मिनेटको भारित औसत कारोबार मूल्यलाई ‘क्लोजिङ प्राइस’को रुपमा गणना गर्ने व्यवस्था नेप्सेले गत चैत्र ७ गतेदेखि लगायो । मूल्यमा खेल्ने शेयर खेलाडीहरुले नेप्सेको यो व्यवस्थामा पनि ‘लुपहोल’ पत्ता लगाएका छन् ।

पछिल्लो समय आफ्नो कम्पनीको शेयर मूल्य माथि राख्न खेलाडीहरुले अन्तिम १५ मिनेटको बीचमा ठूलो कित्ताको म्याचिङ कारोबार उच्च मूल्यमा गर्ने गरेका छन् जसले गर्दा कम्पनीको शेयर मूल्यको क्लोजिङ प्राइस उच्च देखिने गरेको छ । शेयर खेलाडीहरुले आफ्नो कम्पनीको शेयर मूल्य उच्च राख्न नियोजित रुपमै यो लुपहोलको प्रयोग गर्ने गरेका छन् ।

मंगलबारको कारोबारमा सिन्धु विकास बैंकको शेयर ११ सय रुपैयाँमा अन्तिम कारोबार भएको छ । बैकको कारोबार अवधिभर उच्च मूल्य १२ सय ४७ रुपैयाँ, न्यूनतम मूल्य १ हजार ८६ रुपैयाँ ९० पैसा थियो भने अन्तिम १५ मिनेटको भारित औसत मूल्य निकाल्दा १२ सय १ रुपैयाँ ९१ पैसा कायम भयो । यो मूल्य नै बुधबारको लागि शुरुवाती मूल्य कायम हुन्छ ।

बारको प्रिओपन सेसनमा यही मूल्यको २ प्रतिशत तल वा माथिबाट शेयर कारोबार शुरु गर्न सकिन्छ । सिन्धु विकास बैंकको फ्लोर सिट विश्लेषण गर्दा अन्य कारोबार नियमित नै देखिए पनि ७२ नम्बर ब्रोकरले गरेको २४ हजार ५ सय कित्ताको एउटा म्याचिङ कारोबारले कम्पनीको मूल्यलाई १२ सय १ रुपैयाँ ९१ पैसा कायम गर्न सफल भएको देखिन्छ । नेप्सेको पछिल्लो क्लोजिङ प्राइस गणना विधि अनुसार अन्तिम १५ मिनेटको भारित औसत कारोबार मूल्यलाई क्लोजिङ प्राइस गणना गर्ने गरिएको छ । अन्तिम १५ मिनेटमा उच्च मूल्यमा ठूलो कित्ताको शेयर कारोबार गरेर पछिल्लो समय खेलाडीहरुले शेयरको मूल्यलाई उच्च मूल्यमा कायम राख्ने गरेको भेटिएको छ ।

यसअघि ६२ नम्बरको ब्रोकरले उपकार लघुवित्तको शेयर मूल्यलाई यही लुपहोलको प्रयोग गरेर माथि राख्न सफल भएकाे थियाे । अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य मानिने हुँदा अपरेटरहरुले अहिले ठूलो कित्ताको शेयर आफ्नै समूहका साथीहरु माझ उच्च मूल्यमा कारोबार गराएर शेयर कारोबार गरेको भेटिएको छ । यसमा अपरेटरहरुले खर्च गर्नुपर्ने भनेको ब्रोकर कमिसन र पुँजिगत लाभ कर मात्रै हो । माथिल्लो मूल्यमा शेयर बेच्न सकेमा अपरेरटरले ठूलै आर्थिक लाभ समेत हासिल गर्न सक्ने देखिन्छ ।

शेयर बजार विश्लेषक सुवाचन्द्र ढुंगानाले बजारका ठूला लगानीकर्ताले आफूसँग भएको शेयरलाई माथिल्लो विन्दुमा लैजान प्रयास गर्नु स्वभाविकै भएको बताए । १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य गणना गर्ने नियमले अन्तिम केही सेकेन्डमा नेगेटिभ सर्किटमै कारोबार भइरहेको कम्पनी सर्किट लेभलमा कारोबार गराउने प्रवृत्तिको भने अन्त्य भएको बताए । ‘लगानीकर्ताले शेयर मूल्य बढाउन नयाँ लुपहोल पत्ता लगाएका छन् । पछिल्लो समय अन्तिम १५ मिनेटको समयमा उच्च मूल्यमा ठूलो कित्ताको शेयर कारोबार गराएर आफूले होल्ड गरेको कम्पनीको शेयर माथिल्लो विन्दुमा पुर्याउने गरेका छन् ।’–उनले भने ।

हरेक नियमभित्र पनि लुपहोल खोजेर नै खेलाडीहरुले शेयर मूल्यलाई माथिल्लो मूल्यमा राख्न प्रयास गरेको देख्न सकिन्छ । यो नियम आउनु अगाडि खेलाडीहरुले कारोबार समयको पहिलो समयमै म्याचिङ कारोबार गराएर शेयर कारोबार बढी देखाउने गरेको भए पनि अब भने शेयर मूल्य पनि माथि देखिने हुँदा अन्तिम १५ मिनेट भित्र गर्ने गरेको उनले बताए । अन्तिम १५ मिनेटको भारित औसतलाई अन्तिम मूल्य मान्दा समस्या भए सबैभन्दा धेरै कारोबार भएको औसत मूल्यलाई पनि अन्तिम मूल्य मान्न सकिने उनको राय थियो।

अन्तिम १५ मिनेटको शेयर कारोबारको भारित औसत मूल्यलाई अन्तिम मूल्य मान्ने नियम लागू भएको पहिलो दिन नै अप्पर हेवाखोला हाइड्रोपावरको शेयर मूल्यलाई अपरेटरले माथिल्लो मूल्यमा नै कायम गर्न सफल भएका थिए । हरेक नियाकीय प्रावधानको लुपहोल प्रयोग गर्न खप्पिस अपरेटरहरुले अन्तिम समयमा १० हजार कित्ता शेयर अन्तिम १५ मिनेटमा कारोबार गराएर शेयर मूल्यलाई माथिल्लो मूल्यमा कायम गराउन सफल भएका थिए । सो दिन ८ सय रुपैयाँको हाराहारीमा कारोबार भइरहेको अप्पर हेवाखोलाको शेयरलाई अन्तिम समयमा बढाएर ८ सय ९५ रुपैयाँ ९५ पैसाको माथिल्लो विन्दुसम्म पुगेको थियो तर अन्तिम १५ मिनेटको समयमा १० हजार कित्ता शेयर माथिल्लो मूल्यमा कारोबार भएको हुँदा अन्तिम कारोबार मूल्य गणना हुँदा भने अप्पर हेवा खोलाको मूल्य ८ सय ८८ रुपैयाँ ५० पैसा कायम भएको थियो । यहाँ अपरेटरले माथिल्लो मूल्यमा सो शेयर मूल्य कायम गर्न झन्डै ८९ लाख ५५ हजार रुपैयाँ १० हजार कित्ता बराबरको ठूलो शेयर कारोबार गर्नु परेको थियो ।

विगत केही महिनादेखि अन्तिम सेकेन्डमा सर्किट लगाएर मूल्य बढाउने विसङ्गती असाध्यै धेरै बढेको थियो। हरेक दिनजसो कुनै न कुनै कम्पनीमा यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिने गरेको थियो। खासगरी यस अघि अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने भएकोले यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। नेप्सेको क्लोजिङ प्राइस र दिनभरिमा बढ्न सक्ने प्रतिशतको लुप होलमा स्पेकुलेटरहरुले खेल्ने गरेका थिए। नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गर्थे,त्यो पनि असाध्यै कम कित्ता शेयरको कारोबारमा। दिनभरि पुनः तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै १० प्रतिशत बढाउने गरिन्थ्यो। जसले एकै पटक अघिल्लो कारोबार र पछिल्लो कारोबार मूल्य आठ प्रतिशतसम्मको फरक पर्ने गरेको भेटिनु सामान्य जस्तै बनेको थियो।

 




comments powered by Disqus

सुन र चाँदीको मूल्यमा भारी गिरावट

Apr 06, 2025 11:27 AM

चैत २४ गते, आईतबार, नेपाली बजारमा सुन र चाँदीको मूल्यमा भारी गिरावट भएको छ । यसदिन सुन प्रतितोला एक हजार ९०० रुपैयाँ घटेको छ भने चाँदी ७० रुपैयाँले घटेको हो ।