तर अब त्यो सपना सकियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यो सपना देख्न समेत नसक्ने अवस्था सृजना गरिदिए । मध्यम वर्गको ‘आइफोन सपना’लाई समाप्त गरिदिए ।
ट्रम्पले शुरु गरेको व्यापार युद्धका कारण आइफोन निर्माता एप्पल लगायतका कम्पनीहरुको शेयर मूल्यमा ‘ऐतिहासिक गिरावट’ त आएको छ नै, विश्वभरकै मूल्य सृंखला खल्बलिएको छ । त्यसको असर अब आइफोनको मूल्यमा देखिने छ । र, विश्लेषकहरुका अनुसार आइफोन (अरु समानको कुरो त छदैंछ)को मूल्य आकासिनेछ । त्यसले विश्वभरकै आइफोनको बजारलाई सिमित गर्नेछ ।
गत वर्षसम्मको तथ्यांक हेर्ने हो भने एप्पलले हरेक वर्ष करिब २२ करोड आइफोन विक्री गर्छ, अमेरिकादेखि युरोपसम्म अफ्रिकादेखि एशियासम्म ।
तर, अब त्यस्तो हुने छैन, किनकी ट्रम्पले शुरु गरेको व्यापार युद्धको कारण अहिले अमेरिका भर्सेस अन्य देशहरुका बीचमा कसले कति कर लगाउने भन्ने प्रतिस्पर्धा शुरु भएको छ । त्यसले विश्वकै मूल्य सृंखलालाई यस्तोसँग खल्बलाएको छ कि त्यो लिकमा आउन सहज छैन ।
अमेरिकामा सबैभन्दा सस्तो आइफोन १६ मोडलको ७९९ डलर पर्छ भने सबैभन्दा महंगो आइफोन प्रो म्याक्सको मूल्य १५९९ डलर पर्छ । ट्रम्पले शुरु गरेको व्यापार युद्धको कारण केही समय भित्रै आइफोन १६ मोडलको मूल्य ७९९ बाट बढेर १२ सय डलर हाराहारीमा पुग्ने र आइफोन प्रोम्याक्सको मूल्य २ हजार डलर भन्दा पनि निकै माथि पुग्ने प्रक्षेपण गरिएको छ ।
त्यो अमेरिकाको मूल्य हो । त्यहाँबाट त्यसमा आन्तरिक र वाह्य करहरु थपिंदै नेपाल जस्तो आइपुग्दा कति मूल्य वृद्धि हुन्छ ? यसै अनुमान गर्न सकिन्छ । अर्थात् अब नेपाल जस्ता धेरै देशका आम नागरिकहरुको लागि ‘आइफोन सपना’ देख्न पनि मुस्किल हुने निश्चित छ ।
विर्सन नहुने कुरा के हो भने आइफोन जस्ता अधिकाँश अमेरिकी ब्राण्डका समानहरु चीनमा पनि उत्पादन गरिन्छ । त्यसले गर्दा चीनले अमेरिकालाई तह लगाउन मूल्य नियन्त्रण गरेर आफ्नो समान विक्री गर्छ कि भन्ने आश धेरैलाई छ । तर, त्यो त्यति भरपर्दाे देखिदैन । किनकी अमेरिकाको व्यापार युद्धको मुख्य निशाना नै चीन भएपछि त्यसको मारमा हरेक उत्पादनहरु पर्दछन् । त्यसमाथि अमेरिकासँग वारपारको व्यापार युद्धपछि चीनले उसका उत्पादनहरुलाई ‘एसम्बल्ड’ गर्न छोडेर आफ्नै उत्पादनको बजार विस्तारमा लाग्ने निश्चित छ । त्यसको अर्थ के हो भने अब आइफोनको बजार पहिलेजस्तो सहज पक्कै हुँदैन । निश्चित छ बजार घट्छ, मूल्य आकासिन्छ र सँगसँगै विश्वका खासगरि मध्यम वर्गका मानिसहरुको आइफोन पनि सपना पनि ‘सम्झिने पानी छम्किने’ अवस्थामा पुग्छ ।