कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी ८० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १६ करोड रुपैयाँबराबरको १६ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये पहिलो चरणमा कम्पनीले १ लाख ६० हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि र १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ।
त्यस्तै, कम्पनीले आफ्ना कर्मचारीहरुका लागि २८ हजार ८०० कित्ता र सामूहिक लगानी कोषहरुलाई ७२ हजार कित्ता शेयर निष्काशन गरी बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेको ११ करोड ९५ लाख २० हजार रुपैयाँबराबरको ११ लाख ९५ हजार २०० कित्ता शेयर सर्वासाधारणका लागि निष्काशन गरेको हो।
आईपीओमा कसरी आवेदन दिने?
कम्पनीले आज अर्थात चैत २८ गतेदेखि आईपीओ निष्काशन गरेको हो। सो आईपीओमा २०८२ बैशाख २ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिसम्ममा माग अनुसार पर्याप्त आवेदन नपरे निष्काशन अवधि बैशाख ११ गतेसम्म लम्बिनेछ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। त्यसैगरी, सिडिएससीले सञ्चालन गरिरहेको मेरोशेयर वेबसाइट तथा मोबाइल एपबाट पनि आवेदन दिन सकिनेछ।
कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। त्यसैगरी, कम्पनीको प्रत्याभूतिकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ।
कति कित्ता आवेदन दिने?
कम्पनीको आईपीओमा इच्छुक लगानीकर्ताले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। सोभन्दा बढीका लागि अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
आईपीओको बाँडफाँट प्रचलित ‘धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका, २०७४’ सम्बन्धी व्यवस्था अनुसार गरिनेछ। मागभन्दा बढी आवेदन परेमा कम्पनीको शेयर बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिनेछ। यस अनुसार १ लाख १९ हजार ५२० आवेदकले १० कित्ताका दरले कम्पनीको शेयर प्राप्त गर्न सक्नेछन्।
औषत जोखिम जनाउने रेटिङ्ग
साधारण शेयरको लागि धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ मा भएको व्यवस्था बमोजिम कम्पनीको इस्यूअर रेटिङ्ग गराउनुपर्ने भएकोले ‘क्रेडिट रेटिङ्ग नियमावली, २०६८’ को नियम ३ बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था केयर रेटिङ्ग नेपाल लिमिटेड, काठमाडौँबाट रेटिङ्ग गराएको छ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा औषत जोखिम रहेको संकेत गर्दछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई २०८१ भदौ १३ गते क्रेडिट रेटिङ्ग सम्बन्धी रेटिङ्ग ग्रेड प्रदान गरेको थियो। सो रेटिङ्गको अवधि १ वर्ष अर्थात २०८२ साउन २० गतेसम्म बहाल रहनेछ।
कस्तो कम्पनी हो?
पियोर इनर्जी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत स्थापित एक कम्पनी हो। कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौँ जिल्ला, काठमाडौँ महानगरपालिका वडा.नं.१३, सोल्टीमोड, छिन्नलता चोकमा रहेको छ। कम्पनीको सौर्य विद्युत उत्पादन केन्द्र लुम्बिनी प्रदेश, बाँके जिल्लाको खजुरा गाउँपालिका, वडा.नं ८ मा रहेको छ।
पियोर इनर्जी लिमिटेड सौर्य ऊर्जा उत्पादक कम्पनी हो। पियोर इनर्जी प्राईभेट लिमिटेड नामबाट २०७५ असार ५ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा प्राइभेट लिमिटेड कम्पनीको रुपमा दर्ता भएकोमा २०७९ असार ३० गते कम्पनी रजिष्ट्रारको कार्यालयको स्वीकृती पत्र अनुसार प्राइभेट लिमिटेड कम्पनीबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत भई पियोर इनर्जी लिमिटेडमा अभिलेख भई कारोबार सञ्चालन गर्दै आएको छ।
कम्पनीले सौर्य विद्युत आयोजना सञ्चालन तथा विद्युत उत्पादन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७७ पुस २ गते १० मे.वा सौर्य पि. भि विद्युत आयोजना ब्लक१ को अनुमतिपत्र प्राप्त गरेको थियो र उक्त अनुमतिपत्र २१०२ पुस १ गते सम्म बहाल रहने । त्यसैगरी, कम्पनीले सौर्य विद्युत आयोजना सञ्चालन तथा विद्युत उत्पादन गर्न नेपाल सरकार, ऊर्जा मन्त्रालयबाट २०७७ मंसिर २९ गते १० मे.वा. सौर्य पि.भि. विद्युत आयोजना ब्लक–२ को अनुमतिपत्र प्राप्त गरेको थियो र उक्त अनुमतिपत्र मिति २१०२ मंसिर २८ गते सम्म बहाल रहनेछ।
१० मेगावाट सौर्य पि.भि. विद्युत आयोजना ब्लक–१ र १० मे.वा. सौर्य पि.भि विद्युत आयोजना ब्लक–२ को मुख्य संरचनाहरु बाँके जिल्लाको खजुरा गाउँपालिका (साविकको रनियापुर गा.वि.स.) मा २ लाख ९१ हजार ७५७.१३ वर्ग मिटरमा फैलिएका छ।
कम्पनीद्वारा प्रबर्द्धित यी दुबै परियोजना मार्फत उत्पादित कुल २० मे.वा. विद्युत खरिद गर्न मञ्जुर गरी कम्पनी र नेपाल विद्युत प्राधिकरण बीच मिति २०७८मंसिर १२ गते छुट्टाछुट्टै विद्युत खरीद बिक्री सम्झौता समेत सम्पन्न भइसकेको छ।
सौर्य पि.भि. विद्युत आयोजना ब्लक १ को कुल लागत १ अर्ब २५ करोड ४७ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत १२ करोड ५५ लाख रुपैयाँ रहेको छ। त्यस्तै, सौर्य पि.भि. विद्युत आयोजना ब्लक २ को कुल लागत १ अर्ब १७ करोड ६ लाख रुपैयाँ रहेको छ भने प्रतिमेगावाट लागत ११ करोड ७१ लाख रुपैयाँ रहेको छ।
आईपीओ जारी गर्नुको उद्देश्य
कम्पनीको प्रवन्ध–पत्रमा रहेको जारी पूँजीको २० प्रतिशत शेयर सर्वसाधारणमा बिक्री गर्नुपर्ने प्रावधान अनुरुप आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, सर्वसाधारण नेपाली नागरिकहरु (वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरु, सामुहिक लगानी कोष तथा कर्मचारी समेत) लाई बिक्री वितरण गरी कम्पनीको चुक्ता पूँजी ८० करोड रुपैयाँ पुर्याउन कम्पनीले आईपीओ जारी गरेको हो।
यसका साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री गरी स्थानीय बासिन्दाहरुलाई लगानीको अवसर दिने र प्रबन्धपत्र तथा नियमावलीमा उल्लेख गरिएका उद्देश्यहरु अनुरुप गर्नुपर्ने कार्यहरुको लागि आवश्यक पर्ने पूँजी संकलन गर्न पनि कम्पनीले आईपीओ जारी गरेको हो।
निष्काशनबाट प्राप्त रकम आयोजनाको कर्जा भुक्तानीका लागि प्रयोग गरिने मुख्य उद्देश्य रहेको छ।
आईपीओबाट प्राप्त रकम कहाँ प्रयोग गरिन्छ?
आईपीओ निष्काशनबाट संकलन भएको १६ करोड रुपैयाँमध्ये १४ करोड ४७ लाख रुपैयाँ कम्पनीले नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल बैंकको ऋण भुक्तानी गर्न प्रयोग गरिनेछ भने बाँकी १ करोड ५३ लाख रुपैयाँ धरौटी भुक्तानी तथा अन्य दायित्व भुक्तानी गर्न प्रयोग गरिनेछ।
वित्तीय अवस्था
चालु आर्थिक वर्षको पुस मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको सञ्चित नोक्सानी २ करोड ३ लाख ४६ हजार रुपैयाँ रहेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ८२ पैसा रहेको छ भने प्रतिशेयर आम्दानी ३८ पैसा रहेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको सञ्चित नोक्सानी २ करोड २६ लाख ९४ हजार रुपैयाँ थियो। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा थियो भने प्रतिशेयर आम्दानी २ रुपैयाँ ७५ पैसा ऋणात्मक थियो।
चालु आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १ करोड १४ लाख रुपैयाँ सञ्चित नाफा कमाउने प्रक्षेपण गरेको छ। सो अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०१ रुपैयाँ ४३ पैसा र प्रतिशेयर आम्दानी ५ रुपैयाँ २६ पैसा पुग्ने प्रक्षेपण गरिएको छ।

सञ्चालक समितिको संरचना
कम्पनीको नियमावलीको नियम २७ (३) मा भएको व्यवस्था अनुसार ५ जनाको सञ्चालक समिति हुने व्यवस्था रहेको छ। जसमध्ये संस्थापक शेयरधनीहरुको प्रतिनिधित्व गने सञ्चालकहरु ३ जना, स्वतन्त्र सञ्चालक १ जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना रहने व्यवस्था रहेको छ।
कम्पनीको सञ्चालक समितिको अध्यक्षमा अक्षय गोल्याण रहेका छन् भने अन्य सञ्चालकहरुमा सुरभी गोल्याण, शक्ति कुमार गोल्याण, निशान्त गोयल र मर्यक रोहिल्ला रहेका छन्।
भावी योजना तथा रणनीति
कम्पनीको मुख्य उद्देश्य भनेको विद्युत ऊर्जाको माग अनुसार नेपाल भर नवीकरणीय श्रोत सौर्य, जलविद्युतका साथै वैकल्पिक ऊर्जा जस्तै वायु, बायोग्यास आदि बाट विद्युत उत्पादन गरी नेपालको विद्युत उत्पादक कम्पनीहरु माझ सौर्य लगायतको वैकल्पिक ऊर्जा मार्फत विद्युत उत्पादन गर्ने अग्रणी कम्पनीको रुपमा स्थापित गर्नु रहेको छ। सोहि उद्देश्य अनुरुप १० वर्ष भित्रमा यस कम्पनीले सम्भाव्य नयाँ ऊर्जा आयोजनाहरुको अध्ययन गरी त्यस्ता आयोजनाहरुको विकास गर्ने तथा उपयुक्त नयाँ आयोजनाहरुमा लगानी गर्नेछ।
ओपनिङ्ग रेञ्ज कति?
आईपीओ बाँडफाँटपश्चात कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनका लागि नेप्सेमा सूचीकृत हुन्छ। पहिलो कारोबारका लागि नेप्सेले ओपनिङ्ग रेञ्ज प्रदान गर्दछ। नेप्सेले वास्तविक प्रतिशेयर नेटवर्थका आधारमा कम्पनीलाई ओपनिङ्ग रेञ्ज दिन्छ। कम्पनीले वास्तविक नेटवर्थको ३ गुणासम्म ओपनिङ्ग रेञ्ज प्राप्त गर्दछ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ ९६ रुपैयाँ ४५ पैसा रहेको छ। यस अनुसार नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ९६ रुपैयाँ ४५ पैसादेखि २८९ रुपैयाँ ३५ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गर्ने देखिन्छ।