समग्र नेप्सेको सूचकलाई हेर्दा लगानीकर्ताहरु दुई तीन कुराले दुविधामा छन् । अहिलेका लगानीकर्ताहरुले टेक्निकल ब्रेक आउट भन्दा पनि पोलिटिकल ब्रेक आउट खोजीरहेका छन् । विभिन्न निकायममा देखिएको अस्थिरताको प्रभाव बजारमा परेको छ । बजारमा भइरहेका आधार तथा निराधार कुराहरुको प्रभाव धेरै छ । जस्तो प्रत्येक दिन आउने गरेका सरकार परिवर्तनका हल्ला र नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अनि सडकमा भइरहेको आन्दोलन देखि यावत कुराको दबावमा बजार परेको छ ।
बाघ कराउनु र बाख्रा हराउनु जस्तै भएको छ । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिले बजारलाई अझ बढी गिजोलेको छ । नेपालको शेयर बजारमा वित्त नीति भन्दा मौद्रिक नीतिको प्रभाव धेरै छ । यस्तो निकायको प्रमुख नियुक्तिमा देखिएको बिलम्वताले लगानीकर्ताको मनोभावना बिगारेको छ ।
सधै अप्रेटरले बढाएको बजार सुरक्षित छ भनेर भन्न सकिने आधार त देखिँदैन नि ?
पछिल्लो समयमा बजारमा ट्रेन्डको पछि लाग्ने लगानीकर्ताले आम्दानी गरेका छन । सधैभरि वर्षाै लाभांश वितरण नगर्ने कम्पनीलाई फण्डामेन्टल भनेर आँखा चिम्लदै लगानी गर्नुपर्छ भन्ने पनि नहुने रहेछ नि । नेपालमा बैंक तथा वित्तीय संस्थालाई नै प्रथम फण्डामेन्टल कम्पनी भनेरै बुझ्ने गरेको पाइन्छ । तर उनीहरुको अवस्थालाई सुष्म रुपमा हेर्दा सन्तोष हुने अवस्था छैन ।
वित्तीय संस्थाहरु वा पुराना कम्पनीहरु भन्दैमा बैंक वा बीमा कम्पनीलाई आधारभूत रुपमा बलिया कम्पनी मान्न सकिदैन । त्यस्ता कम्पनीमा लगानी गर्नेहरु अहिले हेरेको हेर्यै छन् । अझ भन्ने हो भने कमाउने भन्दा पनि गुमाएका छन । अहिले समय परिवर्तन भएको छ । जुन लगानीकर्ताले ट्रेन्डसँगै हल्लाकोपछि लागेको छ त्यस्ता लगानीकर्ताले बजारबाट आर्जन गरेका छन् । खुल्ला अर्थतन्त्रको पक्षमा वकालत गरिहेको अवस्थामा यहि कम्पनी किन्नु पर्छ भनेर कसैलाई दबाव दिन सकिदैन । बजारमा सूचीकृत भएका कम्पनीहरु सबै लगानी योग्य छन् । त्यसमा कतिसम्मको जोखिम लिने भन्ने कुरा स्वयं लगानीकर्ताको हातमा छ । समग्र अर्थतन्त्रलाई हेर्दा फरक पर्ला, विस्तारै लो क्याप हुँदै मिड क्यापका कम्पनी चल्न थालेका छन् भने हाई क्याप नचल्नुमा डिमान्ड एण्ड सप्लाईको कुरा पनि छ ।
वित्तीय रुपमा सवल भएका कम्पनीको छनोट गरेर लगानी गर्ने लगानीकर्ताहरुले मनग्य कमाई राखेका छन् । लगानीकर्ताले कम्पनी छनोटलाई पहिचान गर्न सक्नुपर्यो । सधै परम्परागत शैलीमा भन्दा केही परिवर्तित र अध्ययनशील भएर लगानी गर्ने समय आएको छ । जर्वजस्ती बैंक हो भन्दैमा फण्डामेन्टल मानिदिनु पर्छ भन्ने पक्षमा म छैन ।
दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताहरुमा बैंक तथा वित्तीय संस्थाको विकल्प कम भएको हो की ?
त्यस्तो होइन । बजारमा विस्तारै विकल्पको रुपमा धेरै कम्पनीहरु भित्रिएका छन् । राष्ट्रिय अन्तराष्ट्रिय रुपमा प्रगति गर्न सक्ने कम्पनहरु बजारमा रहेका छन् । बैंक तथा वित्तीय संस्थाले भन्दा आकषर्ण प्रतिफल वितरण गर्न सक्ने क्षमताका कम्पनीहरु रहेका छन् । जुन कम्पनीहरुले रियल सेक्टरमा राम्रो योगदान पुर्याउने सम्भावना बोकेका छन् । दोस्रो बजारमा सूचीकृत हुनकै लागि होइन कि,वास्तवमा नै नाफामा छन । त्यस्ता कम्पनीहरुको संख्या बढ्दै छ ।
अहिलेको अवस्थामा पर्याप्त विकल्प कम भएता पनि वित्तीय अवस्था दरिलो भएका कम्पनी भित्रदैछ । पछिल्लो समय लगानी,अन्य वा हाईड्रेपावर सेक्टरका कम्पनीमा राम्रो अकषर्ण देखिएको छ । त्यस्ता कम्पनीको मूल्य पनि बढेको छ । प्रतिफलको हिसाले हेर्दापनि सन्तोषजन नै रहेको छ । यिनै भएका राम्रा विकल्पको छनोट गर्दै लगानी गर्ने लगानीकर्ताहरुको लागि बजारले राम्रो आम्दानी दिन सक्छ ।
शेयर बजारमा ढुक्कले लगानी गर्ने वातावरण राजनीति स्थायित्व तथा गभर्नर नियुक्तीले मात्र सम्भव हुने हो ?
मैले अघि भने नि बजारले अहिले खोजेको भनेको राजनीतिक ब्रेक आउट हो । विगत देखिनै राजनीतिक चपेटामा बजार पर्दै आएको छ । लगानीकर्तामा सरकार परिवर्तनकाे दुविधा सँधै छ । ठूला राजनीति दलको गठबन्धनमा बनेको सरकारलाई बजारले विश्वास गरेको थियो । सूचक निरन्तर रुपमा बढेर तीन हजार माथिको विन्दुमा पु्गेको हो । त्यसपछिको करेक्सनबाट बजार दरिलो हुन सकेको छैन । याे सरकार र राजनीति गतिविधिकै कारण हो ।
लगानीकर्ताले सरकारबाट आशा गरे अनुरुप नीतिगत व्यवस्था वा अन्य कुराहरु नपाएकै कारण बजार सुस्ताएको हो । पछिल्ला एक दुई महिनादेखि सरकार आजै ढल्छ भोलि भन्ने हल्ला बजारमा छ । यसले लगानीकर्ताको मनोभावना कमजोर बनाएको छ । साथै विभिन्न निकायमा भएको नियुक्तिको कुराहरुले पनि बजारमा असर गरिराखेको छ । बजार संवेदनशील छ । लगानीकर्ताले स्पष्टता खोजेका हुन्छन । तर सरकारले प्रत्येक निकायको नियुक्तिमा लगानीकर्तालाई निरस बनाइ राखेको छ । यस्तो राजनीतिक गतिविधिबाट लगानीकर्ताहरु पार पाउन खोजी राखेका छन् ।