बुधबार नेप्से परिसूचक ८.१४ अंकले घटेर २६ सय २३ दशमलब २३ विन्दुमा बन्द भयो । बजार घट्दा पनि अपरेटरहरुले केही कम्पनीलाई जबरजस्ती माथिल्लो मूल्यमा राख्ने प्रयास गरेको देख्न सकिन्छ ।
विन नेपाल लघुवित्तको शेयर बुधबार २७ सय ३५ रुपैयाँमा अन्तिम कारोबार भयो । कम्पनीको बुधबार जम्मा ७ हजार १ सय ४२ कित्ता शेयर कारोबार भएको छ ।
कम्पनीको अधिकांश समय २७ सय मुनि नै कारोबार भएको फ्लोरसिस्टमा देखिन्छ तर कुल ७ हजार १ सय ४२ कित्ता शेयरमध्ये १ हजार कित्ता शेयर भने २९ सय २२ रुपैयाँमा कारोबार भएको देखिन्छ। यहाँ ६४ नम्बरको ब्रोकरले शेयर बेच्दा २८ नम्बरको ब्रोकरले बेचेको देखिन्छ । यो कारोबार अन्तिम १५ मिनेटमा भएको छ । कारोबार भएको शेयरमध्ये उच्च कित्ता शेयर उच्च मूल्यमा कारोबार हुँदा कम्पनीको अन्तिम मूल्य नै २९ सय १३ रुपैयाँ कायम भयो ।
त्यसैगरी त्रिशुली जलविद्युत कम्पनीको शेयरमा पनि माथिल्लो मूल्यमा बजार पुर्याउने कोशिस स्वरुप ८६ नम्बरको ब्रोकरले ६ हजार, २ हजार ११३, २ हजार ३८७ कित्ता शेयर म्याचिङ कारोबार ५ सय ४९ रुपैयाँ ५० पैसामा गरेका छन् जुन बुधबार दिनभरिकै उच्च मूल्य हो । ८६ नम्बरको उच्च मूल्यमा ठूलो कित्ता शेयर म्याचिङ कारोबार गर्दा कम्पनीको अन्तिम मूल्य रु ५४०.०७ कायम भएको छ । कम्पनीको शेयर अधिकांश समय ५ सय २० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो ।
त्यस्तै मातृभूमि लघुवित्तको शेयरमा अपरेटरले बुधबार सर्किट लगाउने असफल प्रयास भयो । मातृभुमी लघुवित्तको २ सय कित्ता शेयर १४ नम्बर ब्रोकरले १२ सय ६८ रुपैयाँको उच्च मूल्यमा म्याचिङ कारोबार गरेका छन् जबकि बजारमा कम्पनीको शेयर ११ सय ५० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको थियो । अन्तिम १५ मिनेटमा उच्च मूल्यमा उच्च कित्ता शेयर कारोबार हुँदा कम्पनीको शेयरको अन्तिम मूल्य १२ सय ४३ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
विगतमा दिनभरी घटेर कारोबार भइरहेको कम्पनी अन्तिम सेकेन्डमा पोजिटिभ सर्किट लगाएर मूल्य बढाउने विसङ्गती असाध्यै धेरै बढेको थियो। हरेक दिनजसो कुनै न कुनै कम्पनीमा यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो। बजार घट्दो समयमा होस् या बढ्दो लयमा रहँदा यस्तो प्रवृत्ति बारम्बार दोहोरिएको थियो। खासगरी यस अघि अन्तिम कारोबार मूल्यलाई नै क्लोजिङ प्राइस मानिने भएकोले यस्तो प्रवृत्ति दोहोरिँदै आएको थियो।
नेप्सेको क्लोजिङ प्राइस र दिनभरिमा बढ्न सक्ने प्रतिशतको लुप होलमा स्पेकुलेटरहरुले खेल्ने गरेका थिए। नेप्सेको सिस्टमले एक दिनमा १० प्रतिशतसम्म बढ्न सक्ने र १० प्रतिशतसम्म नै घट्न दिने गरेको थियो। तर सर्किट लाउन खोज्नेले कारोबारको सुरुवाती सेकेन्डमा नै कम्पनीको मूल्य १० प्रतिशतसम्म बढाउने गर्थे,त्यो पनि असाध्यै कम कित्ता शेयरको कारोबारमा। दिनभरि पुनः तल्लो मूल्यमा नै कारोबार गराएर अन्तिममा एमकेटी प्रयोग गर्दै १० प्रतिशत बढाउने गरिन्थ्यो। जसले एकै पटक अघिल्लो कारोबार र पछिल्लो कारोबार मूल्य आठ प्रतिशतसम्मको फरक पर्ने गरेको भेटिनु सामान्य जस्तै बनेको थियो ।
लगानीकर्ताबाट धेरै नै गुनासो आएपछि नेप्सेले अन्तिम १५ मिनेटको भारित औसत मूल्यलाई अन्तिम मूल्य गणना गर्ने विधि ल्याएको थियो तर नेपालका लगानीकर्ताहरुले नयाँ अन्तिम मूल्यमा पनि ‘लुपहोल’ खोजेर अन्तिम १५ मिनेटमा उच्च मूल्यमा ‘म्याचिङ कारोबार’ गरेर शेयर मूल्यलाई माथिल्लो विन्दुमा राख्ने प्रयास गरेका छन् । पछिल्लो समय ह्वात्तै मूल्य बढेका कम्पनीहरु हेर्ने हो भने प्रायमा उच्च मूल्यमा म्याचिङ कारोबार गरेर मूल्य बढाएको भेटिएको छ ।