एक्कासी ६२ अंकले किन बढ्यो शेयर बजार ? यस्ता कारणले बढेको लगानीकर्ताको विश्लेषण

May 07, 2025 06:32 PM merolagani



सुवास निरौला

न कुनै फण्डा,न कुनै ठुलै कारण, तर शेयर बजार भने बुधवार एक्कासी ६२.२५ अंकले बढेर २६७३.६९ अंकमा उक्लियो। यस अघि कुनै निश्चित कारण सहित शेयर बजार फराकिलो अंकको वृद्धि कायम गर्ने गरेको थियो।

तर बुधवारको वृद्धिमा कुनै ठोस कारण देखिएन। तर पनि बजारका जानकारहरूले बजार बढ्नुका विविध कारणहरू औँल्याइएका छन्। उनीहरूले आआफ्नै तर्क पेश गरेका छन्। पछिल्लो समय बजार निक्कै तल्लो बिन्दुमा रहेको र बजारले बढ्ने प्रयास गर्दा गर्दै पनि बढ्न नसकिरहेको अवस्थामा आज सबै सेक्टर चल्दा सूचकमा ठूलो अन्तरको वृद्धि देखिएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पूर्व अध्यक्ष भरत रानाभाटले बताए । ”केही दिन यता शेयर बजार सुरुवातमा बढ्न खोज्ने तर बिस्तारै सेलिङ प्रेसर बढ्दै गएपछि सुरुवातमा कायम गरेको वृद्धि खुम्चिने वा नकारात्मक नै हुने गरेको थियो। तर कारोबार रकमले भने गएको केही दिन अघि देखिने बजार बढ्ने सङ्केत गरिरहेको थियो। आज त्यसैको रिफ्लेक्सन हो। बढ्नुको अरू कुनै ठोस कारण छैन। बजार निक्कै घटेकोले यसलाई बाउन्स ब्याकको रुपमा हेर्नु पर्छ” रानाभाटले भने।

यसैगरी दोस्रो बजारमा भेटिएका अर्का लगानीकर्ताले भने भारत पाकिस्तानको जारी द्वन्दले नेपालको शेयर बजार बढेको भनेर तर्क गरेका छन्। “नेपालका धेरै व्यवसायीहरूले भारतको बजारमा पनि लगानी गर्ने गरेका छन्। तर त्यहाँ एकाएक तनाव उत्पन्न हुने स्थिति देखेपछि भारतीय बजार के हुने हो भन्ने भएर उनीहरूले नेपाली शेयर बजारमा आज एकाएक लगानी बढाए। किनकि ट्रेडिङ गरिरहने बानी भएको मानिसले जहाँ अवसर देख्छ त्यही लगानी गर्छ। त्यही कारण आज सूचक फराकिलो अंकले बढेको हो,” ती लगानीकर्ताले तर्क गरे।

शेयर बढ्नु र घट्नु स्वाभाविक भएपनि फराकिलो अंकले घट्न र बढ्नलाई भने बजारले केही न केही कारण अवश्य खोज्ने गर्छ। शेयर बजारको प्राविधिक विश्लेषण गर्नेहरूले भने आज सबै सेक्टरले राम्रो प्रदर्शन गरेका कारण शेयर बजार बढेको भनेका छन्। अर्कोतर्फ फलिङ वेज ब्रेक आउट भएको भनेर पनि भनेका छन्। प्राविधिक विश्लेषकका अनुसार शेयर बजार लामो समयदेखि फलिङ वेजमा थियो। तर आज सबै समूहको भूमिकाले उक्त वेज ब्रेक आउट भएको छ। जसले बजार आउने दिनमा पनि सकारात्मक नै हुने अनुमान ती विश्लेषकको छ।

बुधवार शेयर बजार बढ्न सबैभन्दा बढी भूमिका निर्वाह गर्ने सेक्टर वाणिज्य बैंक समूह छ। उसले मात्रै सूचक बढ्न १८.३४ अंकको योगदान गरेको छ। दोस्रोमा सबैभन्दा बढी योगदान गर्ने समूह जलविद्युत छ। उसले सूचक बढ्न १३.२५ अंकको भूमिका खेलेको छ। तेस्रोमा जीवन बिमा समूह छ। यसको योगदान ६.९९ अंकको छ भने चौथोमा अन्य समूह छ। उसको योगदान ६.६४ अंकको छ।

यता कम्पनीगत रुपमा हेर्दा सबैभन्दा बढी योगदान गर्ने कम्पनी नेपाल रि इन्स्योरेन्स छ। उसले मात्रै दोस्रो बजारको सूचक २.६७ अंकले बढाएको छ। दोस्रो कम्पनीमा नेपाल टेलिकम छ। उसले २.४ अंकले सूचकमा योगदान गरेको छ।

 




हिमालयन रि इन्स्योरेन्सको लाभांश घोषणा

May 06, 2025 11:05 AM

हिमालयन रि इन्स्योरेन्स (HRL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।