किन खन्याउँदैछन् लगानीकर्ताले हाइड्रोपावरमा पैसा ?

May 08, 2025 06:38 AM MeroLagani



पछिल्लो केही कारोबार दिनदेखि हाइड्रोपावर समूहको कारोबार रकम बढ्दो क्रममा छ । कुल कारोबारको ५० प्रतिशतभन्दा बढी रकम हाइड्रोपावर समूहका शेयर मात्रै खरिद बिक्रीमा प्रयोग भएको छ ।

बुधबारको कारोबारमा नेप्सेको १३ उपसमूहमध्ये १२ वटा समूहको कारोबार १ अर्ब पनि नपुग्दा हाइड्रोपावर समूहकै मात्रै शेयर कारोबार भने ६ अर्ब ९६ करोड १९ लाख रुपैयाँ पुगेको छ । यो भनेको कुल कारोबारको ६६.१८ प्रतिशत हो । बुधबार नेप्सेमा कुल १० अर्ब ५१ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बुधबार नेप्सेको टप टर्नओभरमा आएका १० कम्पनीमध्ये ९ वटा कम्पनी हाइड्रोपावर समूहकै छन । बुधबार सानिमा हाइड्रोपावर ५९ करोड २० लाख, न्यादी ग्रुप पावर ५४ करोड ७९ लाख रुपैयाँ, राधी विद्युत कम्पनी ४३ करोड ११ लाख रुपैयाँ, युनिभर्सल पावर ४२ करोड ६३ लाख, सिंगटी हाइड्रो ४१ करोड ८ लाख रुपैयाँ, बुटवल पावर ३८ करोड ५६ लाख रुपैयाँ, अरुण भ्याली हाइड्रोपावर ३१ करोड ५८ लाख रुपैयाँ, अपि पावर २५ करोड २४ लाख रुपैयाँ र अरुण काबेली पावर २२ करोड ७९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । जबकि नेप्सेमा धेरै भार रहेको वाणिज्य बैंक समूहगत कारोबार ४८ करोड रुपैयाँ, लघुवित्त कम्पनीको समूहगत कारोबार २४ करोड ८७ लाख रुपैयाँ, लगानी समूहको ८४ करोड ५० लाख रुपैयाँ, जीवन बीमा समूहको ३२ करोड ५७ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।

बुधबार नेप्से परिसूचक ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा पुग्दा टप गेनरमा आएका १० कम्पनीमा ४ वटा कम्पनी हाइड्रोपावर समूहकै परे । बुधबार बुटवल पावर, पिपल्स हाइड्रोपावर, दोर्दी खोला जलविद्युत कम्पनी र इष्टर्न हाइड्रोपावर गरी चार वटा कम्पनी हाइड्रोपावर समूहकै परे । टप गेनरमा १० वटा कम्पनीमध्ये तीन वटा कम्पनी हालै आईपीओ निष्काशन भएर सूचीकृत भएका कम्पनी छन् भने अन्य तीन वटा कम्पनी फाइनान्स समूहबाट छन् ।

पछिल्लो समय न्यून चुक्ता पुँजी भएका हाइड्रोपावरसँगै वित्तीय विवरणका आधारमा बलियो मानेका कम्पनी पनि ठूलो कारोबार रकमसहित कारोबार भइरहेका छन् । बुधबारको कारोबारमा बुटवल पावर, अपि पावर, अरुण काबेली पावर, सानिमा हाइड्रोपावर, चिलिमे हाइड्रोपावर जस्ता कम्पनी पनि उच्च कारोबार भोल्युमसहित मूल्य बढेका छन ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल लामो समयदेखि केन्द्रीय बैंकमा रिक्त रहेको गभर्नरको पद चाँडै नै पूर्ति हुने प्रधानमन्त्रीको आश्वासन एवम् बजारमा धेरै नै घटेको हुँदा बढ्ने अवस्थामै रहेको तथा बजारमा प्रशस्त तरलता, न्यून व्याज दर लगायतका कारणले पनि बजार बढ्न मद्दत पुर्याएको बताए । पछिल्लो केही कारोबार दिनदेखि भने हाइड्रोपावर समूहमा लगानीकर्ताको आकर्षण बढेको देखिएको छ ।

अध्यक्ष ढकालका अनुसार हिउँदका कारण विगत लामो समयदेखि हाइड्रोपावर कम्पनीहरुले पर्याप्त बिजुली उत्पादन गर्न सकेका थिएनन । ‘अहिले समयमै वर्षा हुन शुरु गरेकाले हाइड्रोपावर कम्पनीहरुको बिजुली उत्पादन बढेको छ । दिउँसोको समयमा चर्को घाम लाग्ने गर्दा हिमालको हिउँ समेत पग्लेर हिम नदीहरुमा पानीको बहाव बढेको छ जसले गर्दा पनि ‘रन अफ रिभर’ टाइपको हाइड्रोपावर बिजुली उत्पादन बढेको छ । बिजुली उत्पादन बढेकाले आगामी दिनमा हाइड्रोपावरको नाफा बढ्ने आशामा लगानीकर्ता यो समूहमा झुम्मिएको मेरो अनुमान छ ।’–उनले भने ।

अर्कोतर्फ हाइड्रोपावर कम्पनीहरुमा ऋणको हिस्सा ठूलो हुन्छ । विगतमा १४–१५ प्रतिशतको व्याज दरमा लिएको ऋण व्याज दर अहिले एकदमै घटेको छ । एकातिर तिर्नुपर्ने ऋणको व्याज दर घट्नु भने अर्कोतर्फ बिजुली उत्पादन बढ्नु हाइड्रोपावर कम्पनीमा लगानीकर्ता आकर्षित हुनुको प्रमुख कारण रहेको अध्यक्ष ढकालले दाबी गरे ।




एनएलजी इन्स्योरेन्सको लाभांश घोषणा

May 11, 2025 10:21 AM

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड (NLG) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।