त्यो धक्का नभोगेको भए शेयर बजारको स्वरुप नै अर्कै हुन सक्ने पो थियो कि ?

Jun 02, 2025 03:29 PM mero lagani



जेठ १९ गते नेपालको राजनीतिक इतिहासमा एउटा ‘ऐतिहासिक दुर्घटना’ भएको दिन । अर्थात् राजा विरेन्द्र र उनको परिवारको बंश विनास भएको दिन । 

त्यो कहालीलाग्दो हत्याकाण्डको रहस्य अझै खुल्न सकेको छैन । अहिलेसम्म कतिपय मानिसहरुले विश्वास गरेझै आफ्नी प्रेमिकासंग विहे गर्न नपाएको झोंकमा तत्कालिन युवराज दिपेन्द्रको सनकको कारण उक्त घटना घटेको थियो कि कुनै देशी विदेशी षडयन्त्रको कारण वा दरवार भित्रकै सत्ता संघर्षको कारण उक्त घटना घटेको थियो, यसै भन्न सकिदैन । मानिसहरुले अहिले पनि थरिथरिका आशंका गरिरहेको पाइन्छ । ती आंशकाहरुमा कति सत्यता र कति झुट छ त्यो पनि कसैले भन्न सक्दैन । र, अहिलेसम्मको अवस्था हेर्दा दरवार हत्याकाण्डको रहस्य शायद कहिल्यै खुल्न सक्ने छैन ।
लोकप्रिय राजा विरेन्द्र र उनको परिवारको वर्वरतापूर्ण हत्यापछि नेपालको राजनीतिमा मात्र होइन, आर्थिक सामाजिक क्षेत्रमा पनि ‘आमूल परिवर्तन’ नै भएको छ । त्यो ‘आमूल परिवर्तन’ कति औचित्यपूर्ण हुन सक्यो, त्यसमा मानिसहरुका आ-आफ्ना तर्क वितर्क हुनु स्वभाविक हो ।

दरबार हत्याकाण्डपछि लामो समयसम्म नेपालको पर्यटन क्षेत्रमा गम्भिर नकारात्मक असर पर्यो । विसं २०५७मा नेपालमा ४ लाख ६३ हजार पर्यटक आएका थिए, तर दरबार हत्याकाण्ड भएको वर्ष अर्थात् विसं २०५८ मा त्यो संख्या घटेर ४ लाख ६ हजार भयो भने अर्काे वर्ष २०५९ मा त त्यो भन्दा निकै थोरै अर्थात २ लाख ७५ हजार पर्यटक मात्र नेपाल आएका थिए ।

पर्यटकको संख्या घटनुमा त्यतिबेला युद्धरत माओवादीले सृजना गरेको आतँक एउटा कारण थियो भने अर्काे कारण दरबार हत्याकाण्डपछि सृजना भएको राजनीतिक अनिश्चितता थियो । नेपालीहरु मात्र होइन, विदेशीहरु समेत नेपालको आर्थिक र राजनीतिक अवस्थादेखि आतँकित भैरहेका थिए ।

पर्यटकको संख्या घटेपछि वैदेशिक मुद्रा संचिति घट्नेदेखि अर्थतन्त्रका हरेक क्षेत्र सूचकहरुमा नकारात्मक असर परेको थियो । परिणाम स्वरुप कूल ग्राहस्थ उत्पादन –न्म्ए) वृद्धि दर ५.५% बाट झरेर ०.८% सम्म पुग्यो । नेपालको इतिहासमा जिडीपीमा एकै पटक यति ठूलो गिरावट आएको सम्भवतः त्यो पहिलो र अहिलेसम्मकै एक मात्र घटना हो ।

दरबार हत्याकाण्डपछि अर्थतन्त्रमा परेको गम्भिर असरको अर्काे दृष्टान्त त्यतिबेलाको नेपाल स्टक एक्सचेन्जको परिसूचक (नेप्से इण्डेक्स) हो ।

दरबार हत्याकाण्डको खबर फैलिएपछि त्यसपछि केही दिनभित्रै बजारमा शेयर बिक्रीको चाप अत्याधिक भयो । सिमित संख्यामा रहेका लगानीकर्ताहरू आतँकित भए, उनीहरुको मनोबल खस्कियो र शेयर किन्ने होइन, बेच्नेहरु बढे । कतिसम्म भने आइपिओ भर्नसमेत मानिसहरुले वास्ता नगर्ने अवस्था सृजना भयो ।

अहिलेको तुलनामा निकै सानो रहेको शेयर बजारमा दरवार हत्याकाण्ड हुने समयसम्म ११५ वटा कम्पनीको शेयर कारोवार हुने गरेको थियो, तर दरवार हत्याकाण्डपछि लगानीकर्तामा यस्तोसंग आतंक फैलियो कि त्यसले नेप्से परिसूचकमात्रै होइन, कारोबार हुने कम्पनीको संख्या नै घटाइदियो । फलस्वरुप २०५९ मा केवल ९६ वटा कम्पनीहरु मात्र सूचीकृत रहे । पहिले सूचीकृत रहेका मध्ये डेढ दर्जन कम्पनीहरुको शेयर सूचीकरण खारेज भयो वा उनीहरु आफैले निवेदन दिएर बाहिर निस्किए ।
२०५७/५८मा २२६.५ विन्दुमा पुगेको नेप्से परिसूचक दरबार हत्याकाण्डको वर्ष २०५८/५९मा २०४.५मा सिमित रह्यो ।

शेयर बजारमा वार्षिक १०% गिरावटलाई पनि खासै ठूलो ‘दूर्घटना’ नमानिन सक्छ, त्यसमाथि सिमित लगानीकर्ता भएको समयमा त्यसले आम मान्छेलाई नछुन सक्छ । तर भरखर भरखर बामे सर्दै गरेको नेपाली शेयर बजारको लागि त्यति बेलाको त्यो धक्का अहिलेसम्मकै सबैभन्दा पीडादायी ‘सर्किट’ थियो भन्दा अन्यथा हुँदैन । त्यतिबेला त्यो धक्का नभोगेको भए शेयर बजारको स्वरुप नै अर्कै हुन सक्ने पो थियो कि ? सवा दुईसयबाट २६-२७ सयको आँकडामा पुग्न २ दशक भन्दा लामो समय लाग्दैनथ्यो कि ? त्यतिबेला नै शेयर कारोवारमा संलग्न रहेकाहरुले अहिले पनि यस्ता प्रश्नहरु गर्ने गर्छन्, जस्को जवाफ भने कसैसंग छैन ।




स्टक एक्सचेन्जको पुन संरचना गर्ने लगायत पूँजी बजार सम्बन्धमा बजेटले यसो भन्यो

May 29, 2025 05:16 PM

नेपाल सरकाले नेपाल स्टक एक्सचेन्जको पुन संरचना गर्ने भएको छ। आज संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री विष्णु प्रसाद पौडेलले सो कुरा बताएका हुन्।