यतिबेला गभर्नर आफूमा लागेको ‘दाग’ मेटाउने गरी मौद्रिक नीति निर्माणमा जुटेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । खासगरी पूँजी बजारका लगानीकर्ताहरुले गभर्नर अधिकारीले आफूहरुलाई कहिल्यै पनि नसघाएको आरोप लगाउँदै आएका छन् । लगानीकर्ताहरुले ‘आफूलाई पूर्ण रुपमा नसघाएको र बजार बिरोधीप्रति हिमचिम बढाएको’ आरोप उनीमाथि लगाउँदै आएका छन् ।
अधिकारी गभर्नर नियुक्ति भएदेखि नै शेयर बजारप्रति उदासीन भएको आरोप लगानीकर्ताले लगाउँदै आएका छन् । शेयर बजारमा गरिएका नीतिगत कडाइका कारण उनी आएदेखि नै ओरालो लाग्दै आएको छ । शेयर बजारको ओरालो यात्राले पनि लगानीकर्ताहरु गभर्नर अधिकारीप्रति रुष्ट हुँदै आएका छन् ।
तर, कार्यकालको अन्तिम मौद्रिक नीतिमा भने गभर्नर अधिकारीले आफ्नो पुरानो छबिलाई बदल्ने प्रयत्नमा लागेका छन् । यतिबेला भने गभर्नर अधिकारीले आफूमाथि लगाउँदै आएको पुरानो ‘दाग’ लाई मेटाउन चाहेका छन् ।
गभर्नर अधिकारीले आफ्नो कार्यकालको अन्तिम मौद्रिक नीति लगानीकर्ताको ‘हितमा’ ल्याउने गरी निर्माणमा थालेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । ‘पूँजी बजारका लगानीकर्तामा निरन्तर छाएको निराशालाई अब आशामा बदल्ने तयारीमा गभर्नर जुट्नु भएको छ,’राष्ट्र बैंकका ती अधिकारीले भने, ‘भारतीय चलचित्र जस्तो सुखद इन्डिङको तयारीमा गभर्नर अधिकारी हुनुहुन्छ ।’
आगामी वर्षको मौद्रिक नीति साउनको पहिलो साता
राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति साउन ७ गते ल्याएको थियो । आगामी आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा पनि साउनको पहिलो साता नकटाउने गरी तयारी थालेको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि पनि विभागीयदेखि उच्च व्यवस्थापन तहमा छलफल हुन थालेको केन्द्रीय बैंकले बताएको छ । विभागपछि उच्च व्यवस्थापन तहमा छलफल भएपश्चात सञ्चालक समितिले पारित गरेपछि आगामी आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्ने चलन छ ।
गभर्नर अधिकारीको कार्यकाल सकिने समय नजिकिदै गर्दा मौद्रिक नीति पनि क्रमशः खुकुलो पार्दै लगिएको छ । पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने भन्दै गभर्नर अधिकारीले मौद्रिक नीतिलाई केहि लचिलो बनाउँदै लगेका छन् ।
शेयर बजारप्रति ‘कडा’ नीति ल्याउँदै आएका गभर्नरले आफ्नो कार्यकाल समाप्त हुने मिति नजिकिदै जान थालेपछि नीतिगत रुपमा क्रमशः खुकुलो बनाउँदै लगेका छन् । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा शेयर कर्जाको जोखिम भार १५० बाट १२५ झारिएको थिए । दोस्रो त्रैमासिक समीक्षामा त्यस्तो कर्जाको जोखिम भार अझै खुकुलो बनाएका छन् ।
त्यसैगरी, शेयर धितो कर्जाको सीमा पनि खुकुलो बनाउने तयारी भइरहेको छ । लगानीकर्ताहरुले शेयर धितो कर्जामा लगाइएको ‘क्याप’ हटाउन पनि माग गर्दै आएका छन् । क्यापका कारण शेयर बजार ओरालो लाग्दै आएको छ, यसलाई हटाउनु अत्यावश्यक भएको फोरमका अध्यक्ष ढकालले बताए । ‘अहिले मार्केटको समस्या भनेको नै ‘क्याप’ को हो,’ उनले भने, ‘कुनै किसिममको क्याप लगाउनु भएन ।’
राष्ट्र बैंकले शेयर धितो कर्जाको सीमामा क्याप लगाएको छ । शेयर धितो कर्जामा व्यक्तिगतलाई १५ करोड र संस्थागतलाई २० करोड रुपैयाँसम्म मात्र ऋण लिन पाउने व्यवस्था गरेको छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा त्यस्तो क्यापलाई खुकुलो बनाएर आफूलाई शेयरमैत्री गभर्नर भएको पुष्टि गर्न चाहेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
पछिल्लो समय बैंकका ब्याजदर निरन्तर घट्दै गएको छ । तर, ब्याजदर घट्दा पनि शेयर बजार बढ्न सकेको छैन् । गभर्नर अधिकारी बैंकको ब्याजदर अझै घटाउने पक्षमा उभिएका छन् ।
राष्ट्र बैंकले लिएका कतिपय कठोर नीतिको सिकार शेयर बजार पर्दै आएको छ । ३२ सय नजिक पुगेको शेयर बजार अहिले २१ सय अंक वरिपरि घुमिरहेको छ ।
राष्ट्र बैंकले ल्याउन लागेको आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा कतिपय कठोर नीतिहरु क्रमशः खुकुलो बनाउँदै लगेमा न्यूनतम बिन्दुमा आएको बजारलाई राहत मिल्ने लगानीकर्ताहरुको भनाइ छ । लगानीकर्ताको यही भावनालाई समेट्दै गभर्नर अधिकारीले खुकुलो नीति ल्याउने तयारी थालेको राष्ट्र बैंक स्रोतको भनाइ छ ।
शेयर बजारका लागि मौद्रिक नीति यसकारण महत्वपूर्ण
बजेटले जस्तै मौद्रिक नीतिले पनि सर्वसाधारणलाई समेत प्रभावित पार्ने भएकाले त्यो महत्वपूर्ण हुने जानकारहरुको भनाइ छ ।
मौद्रिक नीतिले ब्याजदर तल लाने वा माथि लाने भन्ने निर्धारण गर्छ । त्यसले शेयर बजारका लगानीकर्ता र सर्वसाधारणलाई प्रत्यक्ष रुपमा असर पार्छ ।
राष्ट्र बैंकले ब्याजदरका बारेमा लिने नीतिमा धेरैको चासो हुन्छ । मुद्रास्फीतिप्रति पनि सर्वसाधारणको चासो धेरै हुने गर्छन् । मुद्रास्फीतिले सर्वसाधारणको जीवनमा प्रत्यक्ष प्रभाव पारेको हुन्छ । त्यसैले महँगी नियन्त्रणका लागि कस्तो नीति राष्ट्र बैंकले लिन्छ भन्ने धेरैलाई चासोको विषय बनेको छ ।
शेयर बजारप्रति लिइने नीतिले बजार बढ्न र घट्नमा महत्वपूर्ण भूमिका निभ्याउने गर्छ । बिगतमा बजार ओरालो लाग्नुको मुख्य भूमिका राष्ट्र बैंकले लिएको कडा खालको नीतिले नै हो ।
यतिबेला सबैको ध्यान मौद्रिक नीति तिर
संकटोन्मुख अर्थतन्त्रका कारण राष्ट्र बैंकले कस्तो मौद्रिक नीति जारी गर्नेछ भन्नेमा शेयर बजारका लगानीकर्तादेखि सर्वसाधारणसम्म सर्वत्र चासो छ । बजेटले राखेको आर्थिक वृद्धिदरको लक्ष्य प्राप्त गर्नका निम्ति बजारमा मुद्रा आपूर्तिको लक्ष्य राख्न, मूल्यवृद्धि नियन्त्रण गर्न र विदेशी मुद्राको सञ्चिति, शोधनान्तर स्थिति, व्यापार घाटा सन्तुलनमा राख्न मौद्रिक नीतिको ठूलो भूमिका हुने भएकाले यस्तो चासो स्वाभाविक पनि छ ।
अर्थतन्त्र सुधार्ने समग्र जिम्मेवारी सरकारको भए पनि त्यसमा राष्ट्र बैंकको भूमिका पनि उत्तिकै अहम् हुन्छ । अर्थतन्त्रप्रतिको आम आत्मविश्वास डगमगाउन नदिन राष्ट्र बैंक र गभर्नरले गर्ने कार्यको ठूलो अर्थ रहन्छ । यसको मतलब, अहिलेको आर्थिक परिस्थितिसित मुकाबिला गर्न सरकार सफल हुनु–नहुनुमा राष्ट्र बैंकको नेतृत्वमा रहेका गभर्नर अधिकारीको ठूलो हात हुन्छ ।
गभर्नर अधिकारीको अन्तिम कार्यकाल भएकाले जादाँ जादै भारतीय चलचित्र जस्तो ‘सुखद इन्डिङ’ गराउन चाहिरहेको राष्ट्र बैंक स्रोतको भनाइ छ । ‘गभर्नरले कडा नीतिलाई परिमार्जन गरी खुकुलो बनाउने र लगानीकर्ताका लोकप्रिय गभर्नर हुन चाहिरहेका छन्,’ राष्ट्र बैंकको स्रोत भन्छ, ‘गभर्नर अधिकारी जादाँ जादै शेयर बजार मैत्री खुकुलो नीति बनाउने ‘बकुल्लाको जस्तो’ चेष्टामा हुनुहुन्छ ।’