बालेनले दिए ओलीलाई चेतावनी –१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउनु होला

Jun 03, 2024 11:03 AM Merolagani

काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई १० हजार करोड काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्याउन सचेत गराएका छन् ।

झापाको गिरीबन्धु टि–स्टेटको जग्गा बैना लिनेहरुलाई दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिने भनेर थम्थम्याएको भन्दै बालेनले ओलीलाई अर्को काण्ड गरेर जनता झुक्याउने प्रयत्नमा नलाग्न आग्रह गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत उनले गिरीबन्धुको काण्डको फाइल कसैले पल्टायो भने ओलीलाई जेल पुर्याउन सक्ने चेतावनी दिँदै यसअघि पनि जेल बसेकै हो भनेर सचेत गराएका छन् ।

बालेनले समयमै गिरीबन्धुको जग्गा पीडितको बैना फिर्ता गर्न पनि सुझाएका छन् ।

 उनले लेखेका छन्, ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू । झापा गिरीबन्धुमा बैना लिनेहरूलाई ‘दुई वर्षभित्र गिरीबन्धुकै जग्गा दिलाउँछौँ’ भनेर थम्थमाउनु भएछ । गिरीबन्धु चिया बगानको जग्गामा गर्न खोजेको नीतिगत घोटलामा तपाईंको सहभागिताको इतिहास हेर्दा त्यहाँ तपाईंलाई नभनी पात पनि हल्लन्छ भन्ने लाग्दैन । यही १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुलाउन राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फुटपाथ फेरि सडक बनाउनु थाल्नु भएछ । अब बल्ल देश बन्ने भएछ । आफ्ना कर्तुत लुकाउन र विषयान्तर गरे पनि काम हुनु राम्रो हो । तपाईंको शक्तिले अब रिङरोड बनाउनु, बुटवल चितवन बाटो बनाउनु, यस्ता धेरै आयोजनामा लगाउनुहोला । हामी साथमा छौँ । अनि समयमै गिरीबन्धुमा पीडितको बैना फिर्ता गर्नु होला । नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला । हुन त पहिले पनि जेल बस्नु भएको हो । धन्यवाद ।’

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jun 02, 2024 11:19 AM


नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।