चुनाव परिणामले भारतीय राजनीति अब ‘नेपाली बाटोमा’ हिड्न लागेको स्पष्ट संकेत, लगानीकर्ताहरुले गुमाएको रकम ‘गोदी मिडियाबाट असुल उपर गर्नुपर्ने’ तर्क

Jun 04, 2024 06:03 PM Merolagani

भारतमा सात चरणमा भएको आम निर्वाचनको मत परिणाम सार्वजनिक हुने क्रम जारी छ । अपवादमा वाहेक भएभरका राजनीतिक विश्लेषक र पत्रकारहरुले ‘अबकी बार, ४०० पार’ भन्ने भाजपाको नारालाई नै बल पुग्ने गरि राजनीतिक भविश्यवाणी गरिरहेका थिए । तर, चुनावी परिणामले भाजपाको एक्लै ४०० पारको नारामात्र होइन, गठबन्धनका दलहरुसहितको जोड्दा पनि ३०० पार नहुने निश्चित भएको छ । 

अघिल्लो पटक एक्लै झण्डै २ तिहाई जितेको भाजपा एक्लै सरकार बनाउनसमेत नसक्ने अवस्थामा समेत पुगेको छ । नेपालमा गठबन्धन बनाएर चुनाव लडेर आफू पहिलो पार्टी बनेर गठबन्धनका दलहरुसमेत मिलाउँदा बहुमत पुग्ने अवस्था हुँदा हुँदै पनि संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले जसरी सत्ता गुमाइरहेको छ, कथंकदाचित अहिले साथमा रहेका पार्टीहरुले समेत विपक्षी गठबन्धनसँग सहकार्य गरे भने संसदको सबैभन्दा ठूलो दल भएर पनि भाजपा सत्ताबाट बाहिरिन सक्ने सम्भावना छ ।

शिव सेनाका प्रवक्ता संजय राउतले चुनावी परिणाम अन्तिम चरणमा पुग्दै गर्दा ‘हरहालतमें अबकी प्रधानमन्त्री राहुल गान्धी’ भनेर भारतीय राजनीति अब ‘नेपाली बाटोमा’ हिड्न लागेको स्पष्ट संकेत गरेका छन् । मोदी र भाजपा अब पूर्णरुपमा विहारका मुख्यमन्त्री नीतिश कुमार र आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुको भरमा पर्नु पर्ने विवशता सृजना भएको छ । यदि नीतिश कुमार र नायडुले आनाकानी गरे भने विजेपी सत्ताबाट बाहिरिनु पर्ने खतरा उत्पन्न भएको छ ।

आज भारतमा विजेपीले ‘बम्पर स्टाइल’ मा जित्ने तमाम खाले ‘राजनीतिक पण्डितहरु’ को भविश्यवाणाीलाई गलत सावित गर्दै चुनावी परिणाम सार्वजनिक भइरहेको छ, त्यसको असर शेयर बजारमा परेको छ । र, भारतीय शेयर बजार ‘कोरोनाकाल कै अवस्थामा’ पुगेको भारतीय संचारमाध्यमहरुले उल्लेख गरेका छन् ।

कोरोनाकालको समयमा एकै दिनमा भारतीय स्टक मार्केट सूचकाँक (सेन्सेक्स) ६ प्रतिशतले घटेको थियो । सेन्सेक्स मंगलबार एकै दिन सात प्रतिशत अर्थात ४,३८९.७३ अंकले घटेर ७२,०७९ मा कायम भयो भने नेशनल स्टक एक्सचेन्ज (निफ्टी) पनि १,३७९.४० अंकले घटेर २१,८८४.५० मा समेटियो । यो आधारमा भारतीय लगानीकर्ताहरुले मंगलबार एकै दिनमा ४० लाख करोड भारतीय रुपैँया गुमाए । एकदिनमा पूँजीबजारका भारतीय लगानीकर्ताहरुले गुमाएको सबैभन्दा धेरै रकम भएको बताइएको छ ।

पूँजी बजारमा आएको यो गिरावटलाई धेरैले ‘गोदी मिडिया’ लाई दोष दिएका छन् । भारतीय प्रधानमन्त्री मोदीको चाकरी गर्दै तथ्यहरु तोड मरोड गरेर प्रस्तुत गरिने प्रवृत्तिलाई गोदी मिडिया भन्ने गरिन्छ । र, त्यस्तो पत्रकारिता गर्नेहरुले तथ्यहरु बंग्याएर समाचार दिने गर्दा लगानीकर्ताहरु भ्रममा परेको र उनीहरुले धेरै रकम गुमाउनु परेको धेरै विश्लेषकहरुले बताइरहेका छन् ।

कतिपय विश्लेषकहरुले त आज भारतीय शेयर बजारका लगानीकर्ताहरुले गुमाउनु परेको रकम ‘गोदी मिडियाबाट असुल उपर गर्नुपर्ने’ तर्क पनि पनि गरिरहेका छन् । त्यसैक्रममा भारतका चर्चित युट्युवर धुव्र राठीले सामाजिक संजाल एक्समा आज मध्यान्ह गरेको एउटा पोष्टले क्षणभरमै ‘ट्रेण्डिङ्ग’ बन्यो । उनले एक्जिट पोलको नाममा शेयर बजारमा हेराफेरि गर्नको लागि भारतीय संचारमाध्यमहरुले नागरिकहरुलाई गलत सन्देश प्रवाह गरिरहेको बताउँदै उनीहरुमाथि छानबिन हुने माग गरेका थिए ।

 

comments powered by Disqus

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

Jun 02, 2024 11:19 AM


नेपाल लाइफ इन्स्योरेन्सले नगद लाभांश वितरण गर्ने भएको छ । इन्स्योरेन्सले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्न लागेको हो ।