शेयर बजारमा 'फेक वायर', बजार सञ्चालक र नियामक दुवै बेखबर, सर्वसाधारण लगानीकर्ता जोखिममा

Jun 06, 2024 06:06 AM Merolagani

सुवास निरौला

दोस्रो बजारमा दुई थरी लगानीकर्ता छन्। एक थरी वास्तविक लगानीकर्ता छन्। जसले आफूलाई शेयर किन्न र बेच्न व्यस्त राख्छन्।

बजारमा अर्काथरी लगानीकर्ता छन्। जसले शेयर किन्ने पनि होइन र बिक्री पनि गर्दैनन्। तर उनीहरूले नै सर्वाधिक खरिद र बिक्री आदेश राख्ने गर्छन्। तिनीहरू नै दोस्रो बजारका 'फेक वायर' र 'सेलर' हुन्। शेयर बजारमा कारोबार गर्ने लगानीकर्ताहरूबाट छुपेको विषय भने यो होइन।

दोस्रो बजारमा कारोबार गर्ने सबै लगानीकर्ता यस विषयमा जानकार छन्। कुनै पनि कम्पनीको मार्केट डेप्थमा ९/१० लाख कित्ता शेयर किन्ने देखिन्छन्। फेरि एकै छिनमा ती आदेशहरू हराउँछन्। दिनभरी जस्तो नै निश्चित कम्पनीहरूमा यस्ता खालका गतिविधि देखिइरहन्छ। उनीहरूले मूल्यलाई प्रभाव पार्न मात्रै त्यस्ता आदेशहरू दाखिला गर्ने गरेका छन्। जुन दोस्रो बजारको स्वच्छ कारोबारको लागि हितकर होइन। कुनै पनि व्यक्तिलाई दोस्रो बजारको मूल्य प्रभाव पार्ने गतिविधि गर्न छुट छैन। तर त्यस विषयमा बजार सञ्चालक र नियामक दुवैले चासो दिने गरेका छैनन्। जसले गर्दा त्यस्ता गतिविधिमा रमाउँदै आएकाहरू अझै धेरै छाडा हुँदै गएका छन्। त्यस्तो कार्य गरेको बारेमा कसैले सोध खोज नगर्ने भएपनि उनीहरू थप हौसिँदै गएको दोस्रो बजारमा प्रस्टै देखिन्छ।

यसरी दोस्रो बजारमा मूल्यमा प्रभाव पार्नेलाई सचेत गराउने र त्यसको सूक्ष्म निगरानी गर्ने काम बजार सञ्चालक र नियामक दुवैको हो। यस अघि त्यस्ता गतिविधिमा संलग्न हुनेहरूलाई बेला बेलमा बोलाएर सचेत गराउने गरेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)का पूर्व प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद बताउँछन्। “आफ्नो कार्यकालमा धेरै पटक त्यस्ता खालका आदेश दाखिला गर्नेहरूलाई कार्यालयमा नै बोलाएर सचेत गराएको थियाे। सचेत गराएकै कारणले त्यति बेला केही हदसम्म फेक वाइ/सेल अर्डर राख्ने क्रम कम भएको थियो,” साउदले मेरो लगानीसँग भने। उनका अनुसार कुनै निश्चित कम्पनीमा लाखौँ लाख कित्ता अर्डर राख्नेलाई पहिचान गर्ने गरिन्थ्यो। वास्तवमै उसले शेयर किनिरहेको छ या छैन भनेर अध्ययन गरिन्थ्यो। अर्डरचाहिँ धेरै राख्ने तर किन्ने बेच्ने काम भने असाध्यै न्यून गर्नेलाई पहिचान गरी सतर्क गराइन्थ्यो। त्यसैगरि त्यसरी अर्डर मात्रै राख्नेले कुन ब्रोकर कम्पनी मार्फत त्यसरी काम गरेको छ। त्यो पहिचान गरेर ब्रोकर कम्पनीलाई समेत त्यस बेला सचेत गराउने गरिएको थियो।

तर अहिले भने बजार सञ्चालकले त्यसरी सूक्ष्म निगरानी गर्ने गरेको छैन। नियामकले त बजारमा हुने कारोबारको विषयमा ध्यान नै दिँदैन। सोही कारण पनि हिजो आज धेरै कम्पनीमा त्यस्ता खालका आदेशहरू निरन्तर देखिदै आएका छन्। त्यस्ता अर्डरबाट आम सर्वसाधारण लगानीकर्ता जोखिममा पर्न सक्ने सम्भावना निक्कै बढी हुने नेप्सेका पूर्व कर्मचारी बिसम पोखरेल बताउँछन्। “एकै छिनमा लाखौँ कित्ता बाइ देखिने गर्छ। होला नि त भन्दै वास्तविक लगानीकर्ताले शेयर किन्छन्। उसले शेयर किन्न नपाउँदै वायर हटिसकेको हुन्छ। १० औ लाख कित्ता बाइ अर्डर एकै छिनमा हराउने पनि हुन्छ ? यो त सिधै मूल्यमा प्रभाव पार्ने काम भइरहेको छ। यसमा नियामक र बजार सञ्चालक दुवै चनाखो हुनु पर्छ। बजारको स्वच्छता कायम गर्ने जिम्मा त उनीहरूकै हो नि,” पोखरेलले भने।

बजारमा फेक अर्डर आउनुमा सबैभन्दा ठूला दोषी ब्रोकर कम्पनी रहेको नेपाल स्टक ब्रोकर एसोसिएसनका पूर्वअध्यक्ष सन्तोष मैनाली बताउँछन्। “फेक अर्डर राख्नेहरूलाई सबैभन्दा ठूलो सहयोग ब्रोकर कम्पनीले गर्ने गर्छन्। जब उनीहरू वास्तविक शेयर किन्ने होइनन् भन्ने थाहा पाउँदा पाउँदै पनि यति धेरै लिमिट किन दिने ? ब्रोकरले लिमिट नदिएसम्म त्यति धेरै रकमको आदेश दाखिलै गर्न मिल्दैन। हरेक ब्रोकरलाई आफ्ना ग्राहकको क्षमता राम्रै गरी थाहा हुन्छ। ब्रोकरले साथ दिएकै कारण यस्तो बिकृति मौलाएको हो। यसमा नियामक र बजार सञ्चालकले पनि चुस्त सुपरिवेक्षण गर्नु पर्छ,” मैनालीले भने।   

comments powered by Disqus

भारतमा ७ कलाकारले चुनाव जितेर सांसद बने

Jun 05, 2024 11:33 AM

भारतीय लोकसभा चुनावमा यसपल्ट ७ कलाकार विजयी भएका छन् । लोकसभा सदस्यमा निर्वाचित हुनेमा कंगना रनौत, वरिष्ठ कलाकार शत्रुघ्न सिन्हा, भोजपुरी सुपरस्टारका रूपमा परिचित मनोज तिवारी, वरिष्ठ कलाकार हेमा मालिनी लोकसभा सदस्यमा निर्वाचित भएका छन् ।