सोमबार नेप्से परिसूचक अंक ३.२१ अंक बढेर २०६६.१६ विन्दुमा पुगेको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ०.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.२४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२५ अंक बढेको छ।
नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ३७ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३२२ स्टकको ६६ हजार ५१९ पटकको कारोबारमा ५ अर्ब ७ करोड ७२ लाख रुपैयाँ बराबरको १ करोड ७ लाख ७ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
१३ उपसमूहमध्ये यस दिन ६ उपसमूहको परिसूचक बढेको छ भने ७ उपसमूहको परिसूचक घटेको छ। यस दिन वित्त उपसमूहको परिसूचक सर्वाधिक २.११ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन विकास बैंक र लघुवित्त उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ भने जलविद्युत, म्युचुअल फण्ड र अन्य उपसमूहको परिसूचक सामान्य बढेको छ। यस दिन बैंकिङ्ग, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक घटेको छ।
यस दिन दुई कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन नेपाल फाइनान्स र गणपति लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। यस दिन मकर जितुमाया सुरी हाइड्रोपावरको शेयरमूल्य करिब साढे ७ प्रतिशत बढेको छ भने शिवश्री हाइड्रोपावरको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ। कारोबारमा आएको बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ७.०१ प्रतिशत घटेको छ।
कारोबार रकमका आधारमा यस दिन मेरो माइक्रोफाइनान्स वित्तीय संस्था शीर्ष स्थानमा रहेको छ। सो माइक्रोफाइनान्सको यस दिन २४ करोड ३२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको करिब साढे १८ करोडको शेयर कारोबार भएको छ भने पोखरा फाइनान्सको कारोबार रकम १६ करोड नाघेको छ।