अदालतकाे आदेश र ओली प्रधानमन्त्री हुने भएपछि सेवाेन अध्यक्षका उम्मेदवार सन्तोषनारायण श्रेष्ठकाे दुबै हातमा लड्डु

Jul 03, 2024 06:00 AM Merolagani

नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया पेन्डुलम बनेको छ। सरकारले सोमबार मात्रै पुन: यस अघि कै छनोट समितिलाई निरन्तरता दिने निर्णय गर्‍यो। तर मंगलबार सर्वोच्चले पहिलेको प्रक्रिया तत्काल रद्द नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गर्‍यो।

तत्कालका लागि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति प्रक्रिया न यता न उताको पेन्डुलम अवस्थामा पुगेको छ। अब न सोमबार सरकारले निरन्तरता दिएको छनाेट समितिले नयाँ प्रक्रिया अघि बढाउन सक्छ न त सर्वोच्चले नै तत्काल अध्यक्ष दिने स्थिति छ। अहिले समय लम्बिने बाहेक अरू केही हुने अवस्था देखिँदैन। अल्पमतमा परिसकेकाे याे सरकार नैतिकरूपमा प्रकृया बढाउन सक्ने अवस्थामा छैन भने नयाँ सरकार बन्न केही दिन लाग्ने निश्चित छ । त्यही माथि छनाेट समितिकाे संयाेजक रहेका योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठकाे पनि पद धरापमा परिसकेकाे अवस्था छ । उनी माओवादी काेटाबाट नियुक्त भएका थिए, नयाँ प्रधानमन्त्रीको नियुक्तिसँगै उपाध्यक्ष श्रेष्ठ पनि हट्ने छन् ।

समितिमा अर्काे संयाेजक आएपछि मात्र प्रकृया थालिने हाे भने झन धेरै समय लाग्ने देखिन्छ ।

यस अघि धितोपत्र बोर्ड अध्यक्ष छनाेट समितिले सर्ट लिस्टमा परेका पाँचमध्ये तीन जना उपस्थित नभएको भन्दै सम्पूर्ण प्रक्रिया नै रद्द गर्ने निर्णय गरेको थियो। सोही प्रक्रिया रद्द गरेको भन्दै अन्तिम पाँचमा परेका सन्तोषनारायण श्रेष्ठले प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका लागि गठित सिफारिस समिति लगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । सोही रिटमाथि मंगलबार सुनवाइ भएको थियो। जसमा तत्कालको लागि प्रक्रिया रद्द नगर्न सर्वोच्चले आदेश दिएको छ। सर्वोच्चले मुद्दाका विपक्षीसँग लिखित जवाफ माग गरेको छ र अन्तरिम आदेशमा दुवै पक्षलाई छलफलमा बोलाएको छ । 

यता सरकारले भने सोमबार नै अध्यक्ष नियुक्तिको लागि पुरानै छनाेट समितिलाई निरन्तरता दिने निर्णय गरेको थियो। मंगलबार भएको आदेश अनुसार अब सर्वोच्चको अन्तिम निर्णय नआएसम्म नयाँ प्रक्रियाले निरन्तरता पाउने छैन। 

सर्वोच्चले पुरानै प्रक्रियालाई निरन्तरता दिने गरी फैसला गरिदिएमा सन्तोष नारायण श्रेष्ठ नै अध्यक्षका प्रमुख हकदार देखिने छन् । अब बन्ने सरकारले नयाँ प्रक्रिया अघि बढाए सन्तोष नारायण श्रेष्ठकै दुवै हातमा लड्डु हुने छ। 

यस अघि सर्ट लिस्टमा परेका श्रेष्ठ नै धितोपत्र बोर्डको अध्यक्ष नियुक्त हुने प्रबल सम्भावना रहेको भन्दै तीन जना उमेदवारले अन्तरवार्ता नै बहिस्कार गरेका थिए। किनकि श्रेष्ठ एमाले अध्यक्ष केपी ओलीले रूचाइएका उम्मेदवार हुन्। व्यवसायी बाबु चोपनारायण श्रेष्ठ लगायतका सिंगो परिवार नै कांग्रेसका कार्यकर्ता रहेका सन्तोष नारायण आफै पनि कांग्रेसी भनेर चिनिन्छन् । उनलाई आश्चर्यजनक रुपमा एमाले अध्यक्ष केपी ओलीले वोर्डको अध्यक्ष बनाउन दबाव दिइरहँदा स्वंय कांग्रेसकै नेता कार्यकर्ताहरु आश्चर्यमा परिरहेका छन् । यस्तो अवस्थामा कांग्रेस, एमाले गठबन्धन बन्नु र स्वंय ओली प्रधानमन्त्री बन्ने निश्चित प्रायः भएको अवस्थामा सन्तोष नारायण श्रेष्ठको लागि धितोपत्र वोर्डको अध्यक्षमा नियुक्ति ‘लगभग कन्फर्म’ भएको अर्थमन्त्रालयकै अधिकारीहरु बताउन थालेका छन् । 

सरकारले नयाँ प्रक्रिया अघि बढाउँदा श्रेष्ठ नै बलिया देखिने छन् भने उता सर्वोच्चले पुरानै प्रक्रियालाई निरन्तरता दिन भन्याे भने पनि श्रेष्ठ बलिया छँदै छन्। किनकि उनै श्रेष्ठलाई अध्यक्ष हुन नदिन माओवादीका  नजिकका तीन उम्मेदवार  अनुपस्थित भएर प्रक्रिया नै रद्द गर्ने खेल खेलेका थिए।

 

comments powered by Disqus

रिलायन्स स्पिनिङ्ग मिल्सले असार २७ गतेदेखि आईपीओ निष्काशन गर्ने, प्रतिकित्ता मूल्य कति?

Jul 03, 2024 06:00 AM

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले असार २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।