लाभांश क्षमतामा अब्बल देखियो नेष्डो समृद्धि लघुवित्त, कुन लघुवित्तको क्षमता कति ? (सूचीसहित)

Aug 15, 2024 06:16 PM Merolagani



हालसम्म नेप्सेमा सूचीकृत ४६ लघुवित्त कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । अहिले नेप्सेमा ४९ वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । सार्वजनिक वित्तीय विवरणले लघुवित्त कम्पनीहरु विस्तारै तंग्रिन लागेको आभास दिएको छ । 

यस अवधिमा अधिकांश कम्पनीको खुद नाफासँगै वितरणयोग्य मुनाफा पनि बढेको छ । वितरणयोग्य नाफा बढेसँगै लाभांश वितरण गर्ने क्षमता पनि वृद्धि हुँदै गएको देखिन्छ ।

वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुको लाभांश क्षमता न्यूनतम १.४४ प्रतिशतदेखि अधिकतम १७७.५५ प्रतिशतसम्म छ । कम्पनीहरुको लाभांश वितरण गर्ने क्षमता उच्च देखिए पनि यी कम्पनीले क्षमता अनुसार सबै लाभांश दिन भने पाउँदैनन् । लघुवित्त कम्पनीहरुले वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरणको प्रस्ताव गरेमा १५ प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको ३५ प्रतिशतले हुने रकम साधारण जगेडा कोषमा जम्मा गर्नुपर्ने हुन्छ । यसले गर्दा लघुवित्त कम्पनीहरुले क्षमता हुँदाहुँदै पनि धेरै लाभांश वितरण गर्दैनन । गत वर्ष धेरै लघुवित्तले ऋणात्मक प्रति शेयर आम्दानीको साथै वितरणयोग्य नाफा समेत ऋणात्मक रहेका कारण लाभांश दिएको थिएन । यस वर्ष लाभांश नदिने लघुवित्त धेरै कम हुने देखिएको छ ।

सत्ता समीकरण परिवर्तनसँगै पछिल्लो समय शेयर बजारले बुल र्याली समातेको छ । गत वर्ष लघुवित्त ऋणीको आन्दोलन, राष्ट्र बैंकको नियमनका कडाई तथा बैकिङ प्रणालीमा देखिएको तरलता अभावले गर्दा लघुवित्त संस्थाहरु नराम्ररी प्रभावित भएका थिए जसका कारण लघुवित्तको मुनाफा नराम्ररी प्रभावित भएको थियो । अहिले लघुवित्त संस्थाको लागि सबैभन्दा सुखद पक्ष भनेको वाणिज्य बैंकको बेस रेट घटेको छ । लघुवित्तले वाणिज्य बैंकले बेस रेटमा केही प्रतिशत प्रिमियम थपेर ऋण पाउँछन् जुन ऋण ग्रामीण इलाकामा पुनः लगानी गर्ने गर्दछन् । राष्ट्र बैंकले लघुवित्तलाई १५ प्रतिशतको सीमाभित्र बसेर ऋण दिन पाउने माथिल्लो सीमा तोकिएको हुँदा तरलता अभावको समयमा बैंकको बेस रेट नै बढी हुने हुँदा लघुवित्तको कस्ट अफ फन्ड नै एकदमै उच्च थियो जसका कारण अधिकांश लाभांश नोक्सानीमा थिए । अहिले भने धेरै बैंकहरुको बेस रेट ८ प्रतिशतभन्दा पनि तल झरिसकेको हुँदा लघुविक्तको कस्ट अफ फन्ड पनि एकदमै घटेको छ जसको फाइदा लघुवित्तले लिन सक्ने हुँदा लघुवित्त कम्पनीको वासलात गत वर्षभन्दा धेरै नै सुधारिएको देखिएको हो । त्यसमाथि लघुवित्त कम्पनीहरु थोरै पुँजीका हुने हुँदा यी कम्पनीहरुमा शेयर आपूर्ति कम हुुन्छ । न्यून चुक्ता पुँजी भएका लघुवित्तको शेयर मूल्य विगतमा पनि ५–६ हजारसम्म पुगेको हुँदा यस यो बुलमा पनि सोही प्रक्रिया दोहोरिने आँकलनमा मूल्य बढ्दै गएको देखिएको छ ।

नेष्डो समृद्धिको वितरणयोग्य नाफा सबैभन्दा बढी

हालसम्म वित्तीय विवरण सार्वजनिक गर्ने ४६ लघुवित्त कम्पनीमध्ये सबैभन्दा धेरै लाभांश वितरण गर्ने क्षमता नेष्डो समृद्धि लघुवित्तको रहेको छ । कम्पनीले १७७.५५ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्दछ । त्यसैगरी गत वर्षको नाफाबाट युनिक नेपाल लघुवित्तले शेयरधनीलाई १२५.५६ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता राख्छ । छिमेक लघुवित्तको लाभांश वितरण गर्ने क्षमता ५७.६४ प्रतिशत छ भने साना किसानको लाभांश वितरण गर्ने क्षमता ४५.४४ प्रतिशत छ ।

यता, स्वाबलम्बनको ३३.११ प्रतिशत छ भने नेसनल लघुवित्तको २९.२५ प्रतिशत लाभांश वितरण गर्ने क्षमता रहेको छ । महिला लघुवित्तको लाभांश वितरण गर्ने क्षमता भने २८.६१ प्रतिशत रहेको छ । गुराँस, फर्वार्ड, एनआईसी एसिया, मिथिला, आशा, समाज, आरम्भ चौतारी, सर्पोट र आत्मनिर्भरको लााभांश क्षमता २० प्रतिशतभन्दा बढी रहेको छ । किसान र जाल्पा मर्जर भएर बनेको मातृभूमिले १६ प्रतिशत, नाडेपले १५ प्रतिशत, मेरोले १४, फस्ट माइक्रोले ११, आरएसडीसीले १० र ग्लोबल आईएमइ लघुवित्तकोे १० प्रतिशत लाभांश क्षमता रहेको छ । कालिका लघुवित्तको ९ प्रतिशत, इन्फिनिटी लघुवित्तको ६ प्रतिशत क्षमता हुँदा लक्ष्मी, नेरुडे मिर्मिरे र गणपति लघुवित्तको लाभांश क्षमता भने ५ प्रतिशत भन्दा पनि तल रहेको छ ।

उन्नति सहकार्य, हिमालयन लघुवित्त, एनएमबी लघुवित्त, अभियान लघुवित्त र ग्रामीण लघुवित्तले गतवर्षको नाफाबाट लाभांश दिन नसक्ने अवस्थामा छन् ।

प्रति शेयर आम्दानीको आधारमा सबैभन्दा राम्रो नाफा महिला लघुवित्तको देखिएको छ । गत आवको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार सबैभन्दा धेरै प्रति शेयर आम्दानी भएको लघुवित्तमा भने महिला लघुवित्त नै देखिएको छ । खु्द मुनाफा धेरै आर्जन गर्ने कम्पनीमा छिमेक लघुवित्त र वितरणयोग्य नाफा धेरै साना किसान लघुवित्तको १ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

अहिलेसम्म सार्वजनिक भएको लघुवित्तमध्ये अभियान, एनएमबी, सामुदायिक र धौलागिरी लघुवित्त गरी ४ वटा लघुवित्तको मात्रै प्रति शेयर आम्दानी ऋणात्मक देखिएको छ ।

पछिल्लो समय लघुवित्त कम्पनीको शेयर मूल्य हेर्दा प्रति शेयर आम्दानी र कम्पनीको नेटवर्थलाई भन्दा पनि न्युन चुक्ता पुँजी भएकै कम्पनीको शेयर मूल्य उच्च देखिएको छ । बिहीबारको बजारमूल्य अनुसार सबैभन्दा महंगो माइक्रोफाइनान्स आत्मनिर्भर लघुवित्तको ३ हजार १६ रुपैयाँ र सबैभन्दा सस्तो माइक्रोफाइनान्समा एनएमबी माइक्रोफाइनान्स कम्पनीको शेयर रहेको छ ।




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।