अम्बिका पौडेलले कुल बजार पूँजीकरण गणनाको विषयमा उठाएको प्रश्नमा नेप्सेको उत्तर यस्तो छ, नेप्से सही या लगानीकर्ता ?

Aug 14, 2024 04:03 PM merolagani



सुवास निरौला

नेपालका शिक्षित र अग्रज लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मंगलबार सामाजिक सञ्जाल फेस बुकमा एक स्ट्याटस लेखे।

जसमा उनले ”नेप्सेमा कार्यरत विज्ञ साथीहरूलाई अनुरोध। खासमा नेप्सेको कारोबार हुने मूल्यको आधारमा हुने नेप्सेको बजार पूँजीकरण कति हो भनी दिनु न। नेप्सेको पूँजीकरण त कारोबार मूल्यमा हुनु पर्ने होइन र” लेखे।

सामाजिक सञ्जालमा गएको एक दुई दिनमा यस्तो प्रश्न गर्ने पौडेल एक्ला छैनन्। यसैगरी बजारका अनुभवी लगानीकर्ता केशव कोइराला जो शेयर बजारमा 'काका' उप नामले प्रसिद्ध छन्। उनले पनि सोही आशयको पोस्ट फेसबुकमा एक दिन अघि गरेका थिए। “फेक बजार पूँजीकरणले तर्साउने कहिले सम्म? दोस्रो बजारमा खरिदबिक्री नै नहुने शेयरको ठूलो हिस्साबाट बजार पूँजीकरण गणना गर्नु बिलकुलै गलत विधि हो। उदाहरणका लागि एनटिसिको कारोबार योग्य करिब ८% शेयरको मूल्यमा आएको उतारचढावले बजार पूँजीकरणमा ठूलो हलचल ल्याउँछ। जबकि करिब ९२% सरकारसँग रहेको शेयर कारोबार नै हुँदैन। वास्तविक बजार पूँजीकरण गणना कहिले होला? “ कोइरालाले लेखेका छन्।

यसैगरी अधिवक्ता तथा शेयर बजारका राम्रा जानकार लगानीकर्ता ज्योति दाहालले समेत सो विषयमा प्रस्ट्याउन खोजेका छन्। उनले “नेपालको शेयर बजारको बजार पूँजीकरण आजको मिति २०८१/४/२९ गते करिब ४७ खर्ब रुपैयाँ पुगेको छ। के यो पूँजीकरण यथार्थ हो कसैले खोजी गरेको देखिन्न। सम्भवतः सबैभन्दा पहिले मैले लिखित रूपमा नै नेपालको शेयर बजारको पूँजीकरण १४ खर्ब रुपैयाँ हो भनेर २०७८ असारमा लेखेको थिएँ। आजको दिनमा आइपुग्दा यो अंक बढेर २० खर्ब रुपैयाँ पुगेको मेले अनुमान गरेको छु। यति नै हो त अरू कसैले खोजी गरे हुन्छ। नभए म केही दिनमा सार्वजनिक गरुँला“ आफ्नो पोस्टमा लेखेका छन्।

माथि उल्लेखित पोस्टहरू प्रतिनिधि पोस्ट मात्रै हुन्। कुल बजार पूँजीकरणको विषयमा अहिले लगानीकर्तामा खुबै चर्चा छ। खासगरि नेपालको शेयर बजारको पूँजीकरणलाई नेपालको जिडिपी सँग तुलना गरेर हेर्न थालिएपछि यो विषय बहसमा आएको हो। किनकि नेपाल स्टक एक्सचेन्जका अनुसार अहिलेसम्म शेयर बजारको कुल बजार पूँजीकरण ४६ खर्ब ५३ अर्बसम्म पुगेको छ। अहिलेको नेपालको प्रक्षेपित कुल जिडिपी ५७ खर्ब चार अर्ब छ। उक्त जिडिपीसँग कुल बजार पूँजीकरण तुलना गर्दा कुल जिडिपीको ८१.५७ प्रतिशतसम्म पुगेको देखिन्छ। खासगरि जिडिपीकै साइजमा बजार पुग्न लागेको र जिडिपीकै साइजमा बजार पुगे त्यसले जोखिम निम्त्याउने भन्दै प्रचार हुन थालेपछि अग्रज लगानीकर्ताले कुल बजार पूँजीकरण माथि प्रश्न उठाउन थालेका हुन्।

उनीहरूकै प्रतिनिधि प्रश्न मेरो लगानीले नेपाल स्टक एक्सचेन्जका सिनियर म्यानेजर निरन्जन फुयाँल सँग राखेको छ। जसमा पूँजीकरणको विषयमा फुयाँल भन्छन् “ हामीले पूँजीकरण गणना गर्ने मेथड भनेको भ्यालु बेस मेथड हो। संसारभरिका धेरै जसो स्टक एक्सचेन्जहरूले गणना गर्ने मेथड यही हो। यसमा नम्बर अफ शेयर इनटु प्राइस पर शेयर गरेर कुल बजार पूँजीकरण निकालिन्छ। अहिले नेप्सेले दिँदै आएको कुल बजार पूँजीकरण यही मेथड मार्फत गणना हुने गर्छ ।”

तर लगानीकर्ताले भने संस्थापक शेयरको मूल्य एक हुने र पब्लिकको शेयरको मूल्य अर्को हुने गर्छ। तर बजार पूँजीकरणमा भने पब्लिकको शेयर मूल्यलाई लिने गरिन्छ। जुन ठिक नरहेको पौडेलको तर्क छ। तर यस विषयमा फुयाँल भन्छन्, “हो हामीले पनि लगानीकर्ताले संस्थापकको शेयर मूल्य र पब्लिकको शेयर मूल्य फरक फरक पारेर निकालिनु पर्ने भन्ने माग सुनेका छौ। जुन कुरा गर्न मिल्दैन। किन मिल्दैन भने संस्थापकको शेयर मूल्य माग र आपूर्तिले निर्धारण गर्दैन। माग र आपूर्तिले निर्धारण नगरेको मूल्य राख्न मिल्दैन। अर्को तर्फ बजार पूँजीकरण गणना गर्दा दुई थरी मूल्य राख्न पनि मिल्दै मिल्दैन। एउटै मूल्य राख्नु पर्छ। बेलायतको लण्डन स्टक एक्सचेन्ज  अनि दक्षिण अफ्रिकाको स्टक एक्सचेन्जले निकाल्ने बजार पूँजीकरणको विधि पनि यही नै हो।”

यता लगानीकर्ता भने बजार पूँजीकरण धेरै देखिदा अरू निकायबाट अलि बढी भयो भन्ने कुरा उठ्ने र त्यसले फेरि बजार घटाउला कि भनेर उनीहरू भरसक बजार पूँजीकरण कम भइदिए हुन्थ्यो भन्नेमा छन्। तर लगानीकर्ताले बजार पूँजीकरण धेरै भयो भनेर समेत चिन्ता गर्नु पर्ने अवस्था नरहेको र लगानीकर्ताले खोजे जस्तै सबै प्रकारका बजार पूँजीकरण नेप्सासेले सार्वजनिक गर्दै आइरहेकोले बरु त्यसलाई हेर्ने बानी गर्नु उचित हुने फुयाँल बताउँछन्। “लगानीकर्ताले जसरी ट्रेडमा आउने शेयरको मात्रै क्यालकुलेशन गरिदिए हुन्थ्यो भनिरहनु भएको छ। त्यसको लागि फ्लोट मार्केट क्यापिटलाइजेसन हेर्नु राम्रो हुन्छ। किनकि त्यसमा संस्थापक शेयर वा जुन शेयर ट्रेड हुँदैन त्यसको गणना गरिँदैन। लगानकर्ताले खोजेको त्यही हो। जुन हेर्न नेप्सेको सुझाव छ। अझै नेप्सेले कुल बजार पूँजीकरण, सेन्सेटिभ बजार पूँजीकरण, कारोबारमा मात्रै आउने शेयरको फ्लोट बजार पूँजीकरण, सेन्सेटिभ फ्लोट मार्केट क्यापिटलाइजेसन र हरेक सेक्टरको कुल बजार पूँजीकरण समेत राखिदिने गरेको छ। आफूलाई जे हेर्न मन लाग्छ त्यही हेर्न सकिन्छ,” फुयाँलले भने।

फुयाँलले भने अनुसार र लगानीकर्ताले माग गरे अनुसारको अहिलेको बजार पूँजीकरण गणना गरेर मेरो लगानीले हेरेको छ। कारोबारमा मात्रै आउने शेयरको कुल बजार पूँजीकरण वा नेप्सेले सार्वजनिक गरेको फ्लोट मार्केट क्यापिटलाइजेसनसँग तुलना गर्दा अहिले कुल बजार पूँजीकरण २८.४५ प्रतिशत मात्रै हुन आउँछ। अहिलेसम्मको सबैभन्दा बढी फ्लोट कुल बजार पूँजीकरण १६ खर्ब २३ अर्ब छ। अहिलेको प्रक्षेपित जिडिपीसँग तुलना गर्दा २८.४५ प्रतिशत मात्रै हुन्छ। 




comments powered by Disqus

गठ्ठाघरकाे दुर्घटनामा ज्यान गुमाएका स्कुटर चालककाे पहिचान खुल्याे

Aug 15, 2024 06:06 PM 0

भक्तपुरकाे गठ्ठाघरमा भएकाे दुर्घटनामा ज्यान गुमाउने स्कुटर चालककाे पहिचान खुलेकाे छ। प्रहरीका अनुसार बिहीबार दिउँसाे भएकाे दुर्घटनामा ज्यान गुमाउने सुस्मा नेपाली हुन् । ट्राफिक प्रहरीकाे चेकजाँचकाे क्रममा राेकिएकाे नेपालीकाे स्कुटरलाई ट्रकले ठक्कर दिएकाे थियाे ।