सेबोन स्रोतका अनुसार रिप्लाइड एन्ड रिभ्यु अन्तर्गत रहेका कम्पनीहरुको स्वीकृति केही दिनमै हुनेछ । नेप्सेको हकप्रद पाइपलाइनमा रहेका कम्पनीहरुमध्ये रिप्लाईड एन्ड अन्डर रिभ्यु अन्तर्गत रहेका छ्याङदी हाइड्रोपावर, लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल, ङादी ग्रुप पावर लिमिटेड र लिबर्टी इनर्जी कम्पनी लिमिटेड रहेका छन । सेबोनको हकप्रद निष्काशनको पाइपलाइनमा २२ वटा कम्पनी छन् । हकप्रदको शेयर निष्काशनको लागि १८ वटा कम्पनी ‘अन्डर प्रिलिमिनरी रिभ्यु’ र ४ वटा कम्पनी ‘रिप्लाईड एन्ड अन्डर रिभ्यु’ अन्तर्गत रहेका छन् ।
सेबोनमा अध्यक्ष पद रिक्त हुँदा बीमा प्राधिकरणले पुँजी वृद्धि गर्न स्वीकृति दिएको हकप्रद शेयर निष्काशनमा समेत ढिलाई भएको छ । बीमा प्राधिकरणले गत वर्षको असारसम्मै चुक्ता पुँजी जीवन बीमा कम्पनीको लागि ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीको लागि साढे २ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो ।
सेबोनको अन्डर रिभ्यु सूचीमा बीमा कम्पनीतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपाल रहेको छ । कम्पनीले चुक्ता पुँजीको ८८.४५ प्रतिशत बराबरको २ करोड ३४ लाख ६८ हजार कित्ता शेयर निष्काशन गर्न अनुमति मागेको हो ।
त्यसैगरी नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा ३५ वटा कम्पनी आइपीओ स्वीकृतिको पर्खाइमा छन् जसमध्ये अन्डर प्रिलिमिनरी रिभ्यूमा १९ वटा र ‘रिप्लाईड एन्ड अन्डर रिभ्यु’ मा १६ वटा कम्पनी छन् ।
नेपाल धितोपत्र बोर्डमा रमेश हमालको बहिर्गनमसँगै आइपीओ र हकप्रद निष्काशन प्रक्रिया लगभग ठप्प जस्तै छ । हमाल बाहिरिएसँगै सरकारले सूचना प्रकाशित गरेर अध्यक्ष नियुक्ति प्रक्रिया थाले पनि विभिन्न प्राविधिक कारणले बोर्डले अध्यक्ष पाउन सकेको छैन । अर्थ मन्त्रालयबाट नियुक्त भएका गएका प्रतिनिधिले अध्यक्षको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् । हाल अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा मन्त्रालयका सहसचिव महेश बरालले अध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन् भने त्यस अगाडि रितेश शाक्यले सो जिम्मेवारी पाएका थिए । हमाल बोर्डबाट बाहिरिएपछि तत्कालीन अर्थमन्त्री वर्षमान पुनले सर्वप्रथम नरेन्द्रकुमार रानालाई अध्यक्षकाे जिम्मेवारी सम्हाल्नर् गरी पठाएका थिए । हमाल हटेपछि अहिलेसम्म सेबोनमा ३ जना अर्थ मन्त्रालयका प्रतिनिधिले अध्यक्षको हैसियतमा काम गरेका छन् ।
हमाल हटेपछि अर्थ मन्त्रालयका प्रतिनिधि रानाले बोर्ड अध्यक्षको हैसियतमा हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडको १ बराबर १ को अनुपातमा ९९ लाख कित्ता शेयर र आँखुखोला जलविद्युत कम्पनीको १ रबराबर १.५ को अनुपातमा १ करोड २० लाख कित्ता शेयर स्वीकृत गरेका छन् भने आइपीओतर्फ बुक बिल्डिङ विधिबाट रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको ११ लाख ५५ हजार ९ सय ६० कित्ता शेयर निष्काशन गर्न स्वीकृति पाएको छ । बुक बिल्डिङ विधिबाट प्रति कित्ता ८२०.८० रुपैयाँमा स्वीकृति पाएको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको आइपीओ भने विवादमा परेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई खुल्ला गरिसकेको आइपीओ समेत स्थगन भएको थियो जुन अहिलेसम्म खुल्न सकेको छैन ।