'बजारले छिट्टै अल टाईम हाई बनाउँछ'

Aug 24, 2024 11:05 AM Merolagani



निरन्तर बढेको बजार ३ हजारको वरपर आएर साइडवयजमा छ । दिन प्रतिदिन बढ्दो अवस्था रहेको कारोबार रकम घटेको छ ।

बजार निरन्तर बढ्दैन । बजारमा करेक्सन हुँदै बढ्यो भने बजारमा थप लगानीकर्ता भित्रने र बजार झन बलियो हुने मौका मिल्ने छ । नियमित बढेको बजारमा खराब कम्पनीमा लगानी बढ्ने जोखिम रहने छ । बजारको गतिलाई मजबुत र दीगो बनाउनको लागि करेक्सन र साइडवयज हुन जरुरी रहेको लगानीकर्ता अविनाश सिलवाल बताउँछन् । सुधा देवकोटाले गरेको कुराकानीः

निरन्तर रुपमा बढेको बजार यस हप्ता साईडवयजमा रह्यो । यो विन्दुमा आएर साईडवयज भएको बजारले के संकेत गर्छ ?

नेप्से सूचक दुई हजारको विन्दुलाई आधार मान्ने हो भने पनि करिब ५० प्रतिशत बजार बढिसकेको छ । यो विन्दुको साईडवयज नयाँ लगानीकर्ता भित्रने अवसर पनि हो । पुराना लगानीकर्ताहरुले बढ्दो क्रममा करेक्सन पर्खदा पखर्दै बजार तीन हजारको विन्दुमा पुग्यो । लगानीकर्ता  करेक्सन नभएसम्म बजार प्रवेश नगर्ने भनेर पैसा बनाएर बसेका छन् । त्यस्ता वर्गहरु छिरिसकेका छैनन । बजारमा करेक्सन  आउँछ भन्ने हल्लाको भन्दा मनोवैज्ञानिक असरले 'पर्ख र हेर' को अवस्थामा रहँदा करोबार रकममा राम्रो वृद्धि हुन नसकेको हो ।

यो साइडवयजले नयाँ उचाई तर्फ बढ्न थप रणनीति निमार्ण गर्ने अवसर दिएको बुझाई छ । तपाई के भन्नु हुन्छ ?

यसमा दुईवटा कुरा छ । बजार निरन्तर बढेर छिट्टै बुल सकिएला भन्ने हुँदैन । हजुरले भने जस्तै रणनीतिक रुपमा बजार साइवयजमा चल्ने हो । बजारले हालसम्मकै उचाई ब्रेक छिट्टै गर्दैछ । आम लगानीकर्ताको मनोभावना उच्च बन्दा नेप्से सूचक २ हजारको विन्दुबाट ३ हजारसम्म आएको छ ।
अबको बजारले नयाँ उचाई बनाउनको लागि आधारभूत र आर्थिक सूचकहरुले पनि साथ दिनुपर्यो । एक महिनाको अन्तरालमा सबै सुधार भइसकेको अवस्था होइन । तर शेयर बजार बढेको छ । त्यसको प्रभाव बजारमा देखिएको छ । शेयर बजार मैत्री सरकार बनेका कारण लगानीकर्ताले विश्वास गरेको अवस्था छ । सरकारको आर्थिक प्रगति देखिन बाँकी नै छ । यो थाहा पाउनको लागि चालु आर्थिक वर्षको पहिलो त्रैमासिक विवरण आउनु पर्ला । लगानीकर्ताको मनोभावनाले मात्रै बजार दुई हजारबाट तीन हजार हुँदै राता रात बढ्दैन । तर अहिलेको साईडवयज लामो समयसम्म चल्ने वाला छैन ।

करिब ३० अर्बसम्म कारोबार भएको बजारमा पछिल्ला कारोबार दिन २० अर्बको कारोबार हुन हम्मे पर्दैछ किन ?

यो अस्वभाविक होइन । हप्ता १० दिन भयो धेरैको कारोबार रकम देख्न थालेकाले २० अर्बको कारोबार पनि सानो देख्न थालियो । यो आँफैमा सानो कारोबार होइन । अघि पनि भनेको छु । पैसा बोकेर बसेका लगानीकर्ताले बजारमा करेक्सन हुने हो कि भन्ने अपेक्षा गरेर बसेका छन् । बजारमा करेक्सन चाहियो भन्दैमा बजारमा करेक्सन हुने होइन । बजार सबै लगानीकर्ताको अपेक्षा अनुसार चल्दैन । तर आधारभूत वा प्राविधिक चाहे त्यो मनावैज्ञानिक बहुमत लगानीकर्ताकाे अपेक्षाले काम गर्छ । बजारमा सानो करेक्सन आउला र बजारमा प्रवेश गर्ने भनेर 'पर्ख र हेर' को अवस्थामा रहेका लगानीकर्ताको बहुल्यता बढेको छ । 

सडकदेखि संसदसम्म शेयर बजारमा जोखिम बढ्यो भन्ने चर्चा चुलिदै गर्दा सुस्ताएको नेप्सेले लगानीकर्तामा बुल सकिएको हो कि भन्ने दुविधा उत्पन्न त गराएको छैन नि ?

एउटा उख्खान छ, बाघ कराउने बाख्रा हराउने एकैपटक भएको हो । संसद र मिडियाहरुमा शेयर बजार बढी बढ्याे भन्ने हौवा फैलाइएको छ । त्यहि समयमा बजार साईडवयज चल्ने र कारोबार रकम घट्ने मात्रै भएको हो । विगतमा पनि बजार १८ सय देखि २२ सयको विन्दुमा धेरै पटक उचारचढाब भयो । तर यस पटकको बजार अवस्था फरक छ । किनभने लामो समय बजार घट्दो अवस्थामा रह्यो । बुल बजार अगाडि बढ्न लगानीकर्ताको आत्मविश्वास बलियो हुनुपर्छ । अहिले सरकार शेयर बजार मैत्री रहेको लगानीकर्ताहरुको विश्वास छ । बजारका लगानीकर्ताले रुचाइएका पात्र प्रधानमन्त्री र अर्थमन्त्री  छन् । यसले लगानीकर्ताको आत्मविश्वास बढाएको छ ।

 बजारमा लगानीकर्ताको सहभागिता बढेको छ । बजारमा ब्याजदर घटेको छ । यसले बजार बढ्ने संकेत गर्छ । हाम्रो के छ भने बजार बढेपछि बढेको बढ्यै हुन्छ भन्ने लाग्छ । सत्य त्यो पनि हुँदैन । घट्बढ् हुँदै बढेको बजार नै दीगो हुन्छ । निरन्तर बढेको बजारमा जोखिम धेरै हुन्छ । तर साइडवयज बजारमा लगानीकर्ता शान्त भएर बजारको विषयमा विश्लेषण गर्ने मौका मिल्छ । राम्रा कम्पनी छनोट गरि लगानी गर्ने मौका दिइएको हुन्छ । अहिले बजारमा डराउनु पर्ने अवस्था नै सिर्जना भएको छैन ।

नयाँ उचाइ उन्मुख हुँदै गरेको साघुँरो साईडवयजले बजारमा कस्तो प्रकृया जनाउँछ होला ?

केहि समयको साईडवयज पछि बजारमा पैसा बनाएर बसेका संस्थागत लगानीकर्ता भित्रने छन् । बजारमा खरिद पक्ष बलियो छ । बजारले नयाँ उचाई छिटै पार गर्नेछ । बजारले हालसम्मकै उचाइ पार गरेपछि बल्ल बुल सुरु भएको मान्न सकिन्छ । तर त्यसको लागि पनि केहि समय लाग्ने छ । बजार नयाँ उचाइमा पुगेर पुनः घट्न हुँदैन । निरन्तर बढ्नको लागि बजारले विस्तारै गति समायो भने दीगो रुपमा बढ्ने छ । धेरै कम्पनीको मूल्य अघिल्लो बुलमा कायम मूल्यको ७० प्रतिशत पनि पुगेको छैन भने केहि कम्पनीको मूल्यले दैनिक उचाइ बढाउँदै लगेका छन् । यहाँ लगानीकर्तामा दुविधा उत्पन्न गराएको छ । राम्रो र बलियो भनेका कम्पनीको शेयर मूल्य बढ्नै सकेको छैन । आधारभूत रुपमा कमजोर ठानिएका कम्पनीको मूल्य दैनिक नयाँ उचाइ बनाएका छन् । यस्तो असन्तुलनलाई सन्तुलनमा ल्याउने छ ।

बुल बजारमा कसरी लगानी गर्दा कमाउन सकिन्छ ?

बजारमा फोमो फेयर अफ मिसिङ आउट सबै भन्दा ठूलो खतरा हो । बजार बढ्यो अब त्यो मुल्यमा शेयर किन्न पाइदैन होला भन्ने लाग्न थालेको छ । तर त्यस्तो हुँदैन । बजारमा कमाउनकै लागि बलिया कम्पनीहरुले भन्दा नन फण्डामेन्टल कम्पनीले धेरै दिएको जस्तो देखिन्छ । केही समयको लागि राम्रो होला । तर बजार सधै बढी मात्रै रहदैन । बजार घट्ने अवस्थामा त्यस्ता कम्पनी नै सबै भन्दा धेरै घटेका हुन्छन । बजारमा आउने अप्रत्यासित घटाइबाट जोगिनको लागि आधारभूत रुपमा बलिया कम्पनीहरुकाे छनोट गरि लगानी गर्नुपर्छ । फण्डामेन्टल मात्रै हेरेर बजारमा चलेन भने पनि बुलको लाभ लिन सकिदैन । फण्डामेन्टल बलिया र लगानीकर्ताले रुचाएको कम्पनीको छनोट गरि लगानी गर्नुपर्ने हुन्छ । आफ्नो लगानीको जोखिमलाई व्यवस्थापन गर्दै कमाउन सकिने कम्पनीको छनोट गरि लगानी गर्नुपर्ने हुन्छ । यसो भन्दै गर्दा बजारमा प्रवेश गर्न जति सजिलो छ निस्कन उत्तिकै मुस्किल छ ।
बुल बजारमा लगानीकर्ताहरुमा देखिने लोभ कै कारण बजारबाट आएको भन्दा गुमाउने खतरा हुन्छ भनिन्छ । यसलाई कसरी सन्तुलनमा ल्याउने ?

शेयर बजारमा डर र लोभले धेरै भुमिका खेलेको हुन्छ । घट्दो बजारमा डर र बढ्दो बजारमा लोभले लगानीकर्तालाई सबै भन्दा धेरै असर गरेको हुन्छ । शेयर बजारमा बच्न पर्ने यि दुई कुराबाट नै हो । फेरि बच्न नसकिने पनि यिनै कुराहरु हुन । नयाँ लगानीकर्तामा मात्रै हाेइन । पुराना सहित संस्थागत लगानीकर्ता पनि यो कुराबाट बञ्चित हुन सक्दैनन । बुल बजारमा लगानीकर्ताको लोभ कस्तो हुन्छ भने एकको दुई आइसक्यो होइन तीन नै चाहियो भन्ने लोभ हाबी हुन्छ । बजार सधै बढ्ने मात्रै हुदैन घट्छ पनि । त्यसैले आएको नाफा सुरक्षित गर्दै लगानीका रणनीतिहरु अपनाउनु पर्ने हुन्छ ।

बाँकी भिडियोमा

 

 

 

 

 




comments powered by Disqus

शेयर बजारलाई आफ्नो स्वभाविक लयमा चल्न नदिने यी खलपात्रहरु

Aug 23, 2024 06:20 AM

आनन्दकुमार भट्टराई

शेयर बजारलाई बिभिन्न तत्वहरुले असर गरिरहेको हुन्छ ।