यी ७ अर्बपति जाे हेर्दा हेर्दै भए कंगाल, कैद सजायदेखि बदनामीसम्मकाे भाेगाइ

Aug 25, 2024 08:20 PM Merolagani



गलत माध्यमबाट पैसा कमाउने लक्ष्य राखेमा गरिब होस् या धनी एक दिन फस्नु त निश्चित नै छ । भारतमा पनि केही यस्ता धनाढ्य थिए जो कुनै समय सफलताको शिखरमा थिए । एक समय उनीहरूसँग धन, नाम सबै थियाे तर केही समयमै सबै सकियाे।

भनिन्छ नि "लाेभले लाभ, लाभले विलाप" । लोभकै कारण उनीहरू जुन ठगीको बाटोमा लागे, त्याे बाटाेकाे गन्तव्य कैद बन्याे । यस्तै, भारतका यी ७ अर्बपतिहरूसँग पनि भयो। कुनै समय मानिसहरूका लागि आदर्श मानिने उनीहरूकै नाम अहिले बदनाम छ। यी अर्बपतिहरूकाे करोडौंको व्यवसाय डुब्नुका साथै यिनीहरू आफै टाट पनि पल्टिन पुगे। 

काे हुन् त यी टाट पल्टिने अर्बपतिहरू ?

चन्दा कोचर : केही वर्षअघि चन्दा कोचर आईसीआईसीआई बैंकको सीईओ र प्रबन्ध निर्देशक थिइन् । उनीमाथि पदको दुरुपयोग गरेको आरोप छ । उक्त अनुसन्धान सीबीआईसम्म पुग्यो। भ्रष्टाचार प्रकरणमा चन्दा कोचर पक्राउ परेकी छिन् र हाल धरौटीमा जेलबाट रिहा भइसकेकी छिन्। चन्दा कोचरमाथि ६४ करोड भारू घुस लिएको आरोप छ ।

सीबीआईका अनुसार चन्दा कोचर र उनका श्रीमान् दीपक कोचरले ११ लाख भारू मात्रै तिरेर ५.३ करोड भारूको फ्ल्याट किनेका थिए । उनीमाथि भिडियोकन समूहका कम्पनीहरूलाई ऋण दिने भन्दै घुस लिएको गम्भीर आरोप रहेकाे छ । ऋणको सट्टामा चन्दा कोचरका श्रीमान् दीपक कोचरको न्यु पावर लिमिटेडमा ६४ करोड रुपैयाँ लगानी भएको थियो । आईसीआईसीआई बैंकले भिडियोकन समूहलाई ३ हजार २५० करोड भारतीय रुपैयाँ ऋण दिएको अनुसन्धान एजेन्सीले दाबी गरेको छ ।

वेणुगोपाल धूत: भिडियोकन समूहका प्रमोटर वेणुगोपाल धूत पनि ठगी मुद्दामा जेल परिसकेका छन्। आईसीआईसीआई बैंककी पूर्व सीईओ चन्दा कोचरमाथि भिडियोकन समूहलाई ऋण दिएको आरोप लागेको छ । जसपश्चात, भिडियोकन समूहले चन्दा कोचरको परिवारलाई फरक तरिकाबाट फाइदा पुर्‍याएकाे थियाे। ७० वर्षीय वेणुगोपाल धूत पनि आईसीआईसीआई बैंक ठगी मुद्दामा पक्राउ परेका थिए ।

फोर्ब्स पत्रिकाका अनुसार २०१५ मा धूतको सम्पत्ति करिब १.१९ बिलियन डलर थियो। त्यतिबेला, उनी भारतका ६१औँ धनी व्यक्ति थिए। २०१८ मा भिडियोकन कम्पनीले नै एनसीएलटीमा बैंकरप्ट प्रक्रियाको लागि आवेदन दिएकाे थियाे। कम्पनीले अझै पनि 'भिडियोकन' को रूपमा भारतमा पहिलो रंगीन टिभी लन्च गरेको दाबी गर्ने गरेकाे छ । सीबीआईले चन्दा कोचरले भिडियोकन समूहलाई करिब ३ हजार करोड भारतीय रुपैयाँ ऋण दिएकोमा अनियमितता गरेको आरोप लगाएको थियो ।

मालविन्दर सिंह र शिविन्दर सिंह: कुनै समय भारतमा रेनब्याक्सी ल्याबोरेटरीज प्रसिद्ध कम्पनी थियो। यो एक दशक मात्र पुरानो कुरा हो। २०१५ मा,रेनब्याक्सी प्रवर्द्धकहरू मालविन्दर सिंह र शिविन्दर सिंह संयुक्त रूपमा फोर्ब्सको भारतका धनी व्यक्तिहरूको सूचीमा ३५ औं स्थानमा थिए ।साे समयमा उनीहरूको सम्पत्ति २.५ बिलियन डलर अनुमान गरिएको थियो। तर अहिले भने यी दुई कंगाल भएका छन् । यसकासाथै, ठगीको आरोपमा दुवै जना थुनामा परेका छन् ।

यी दुई दाजुभाइको गरिबी र दु:खकाे यात्रा सन् २००८ मा सुरु भएकाे थियाे । रेनब्याक्सीमा आफ्नो शेयर जापानी कम्पनी दाइची साङ्क्योलाई ९,५७६ करोडमा बिक्री गरेसँगै उनीहरू टाट पल्टेका थिए। यसबाट प्राप्त रकम उनीहरूले गलत तरिकाले खर्च गरेका थिए। त्यसपछि उनीहरू ऋणमा डुब्न थाले र एक दिन रेनब्याक्सी कम्पनी पनि उनीहरूकाे हातबाट गुम्याे । सन् २०१६ मा यी दुई दाजुभाइको ऋण कुल १३ हजार करोड भारू थियो। उनीहरुको व्यापार असफल भएपछि आज यी दुबै बदनाम पनि भएका छन् ।

विजय माल्या : विजय माल्यालाई कसले चिन्दैन ? माल्या विलासी जीवन बिताउनका लागि भारतमा परिचित छन् । तर विजय माल्यासँगै  "फरार" नाम पनि जोडिएको छ । किनकी उनी भारतका बैंकहरूलाई ठगी गरेर फरार छन् । उनीमाथि भारतका १७ बैंकमाथि करिब ९ हजार करोड रुपैयाँ ठगी गरेको आरोप छ । उनको धेरै सम्पत्ति भारतमा लिलामी पनि भइसकेको छ। कुनै समय, विजय माल्याको एयरलाइन्स लगायतका अन्य धेरै ठूला व्यवसाय थिए। तर अहिले भने ती सबै तहसनहस छन् । २०१६काे मार्चदेखि माल्या बेलायतमा छन् । भारत सरकारले माल्यालाई फिर्ता ल्याउने प्रयास जारी राखेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

मेहुल चोक्सीः सन् २०१८ मा अचानक मेहुल चोक्सीको नाम भारतीय पत्रिकाकाे हेडलाइनमा आउन थाल्यो । भारतीय बैंकिङ प्रणालीलाई हल्लाएकाे भन्दै चाेक्सीकाे नाममा समाचार बन्न थाले । मेहुल चोक्सीमाथि पञ्जाब नेशनल बैंकको १४ हजार करोड भारू ठगी गरेर फरार भएकाे अभियाेग छ । करिब ६ वर्षअघिसम्म उनको कुल सम्पत्ति करिब ११५० करोड भारतीय रुपैयाँ थियो । तर ठगीका कारण सबै ध्वस्त भयो । हाल उनी पनि भारबाट फरार छन् । मेहुल चोक्सी र उनका भतिजा नीरव मोदी १३ हजार ५०० करोड भारूको पीएनबी घोटालामा आरोपित छन्। सन् १९९६ मा मेहुल चोक्सीले गीताञ्जली ग्रुपको स्थापना गरेका थिए । गीताञ्जलीको अझै पनि भारतका धेरै सहरमा पसलहरू छन्। चोक्सीले सन् २०१७ को डिसेम्बरमा एन्टिगुवा र बारमुडाको नागरिकता पाएका थिए । पीएनबीसँग ठगीको यो मुद्दा २०१८काे जनवरीमा सार्वजनिक भएकाे थियो।

नीरव मोदी: बहुचर्चित पीएनबी घोटालाका मास्टरमाइन्ड नीरव मोदी आज रूपैयाँ रूपैयाँकाे हिसाब गर्ने भएका छन्। नीरव मोदीको कथा पनि मेहुल चोक्सीसँग मिल्दोजुल्दो छ । २०१८ अघि धेरैले उनलाई धनाढ्य भनेर चिन्दैनथे, तर जब उनकै कारणले पञ्जाब नेशनल बैंक टाट पल्टियाे, उनको ठगीको बारेमा भारतभर चर्चा हुन थाल्यो। उनी गुजरातका हीरा व्यापारीको रूपमा परिचित थिए। ६ वर्षअघिसम्म उनको कुल सम्पत्ति १३ हजार करोडभन्दा बढी थियो तर अहिले उनी ३० हजार करोडभन्दा बढीको ऋणी बनेका छन् । नीरव मोदी हाल लण्डन प्रहरीको हिरासतमा छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरण, आपराधिक षड्यन्त्र र ठगी, सरकारी कर्मचारीलाई दुर्व्यवहार गर्ने जस्ता धेरै मुद्दा दर्ता भएका छन् ।

राणा कपूर: राणा कपूर एस बैंकका संस्थापक र पूर्व प्रबन्ध निर्देशक तथा सीईओ थिए। तर अहिले जेल उनको दोस्रो घर बनेको छ।

करिब ४ वर्षकाे कैद सजायपछि राणा कपुर यहिँ अप्रिलमा जेलबाट बाहिर निस्केका थिए । आफ्नो पदको दुरुपयोग गरी परिवारलाई फाइदा पुर्‍याएको आरोपमा राणा कपुरविरुद्ध मुद्दा चलिरहेको छ । जसका कारण बैंकले ठूलो घाटा बेहोर्नु परेको थियाे । यिनै कारणले गर्दा, एस बैंक एक समय टाट पल्टिने अवस्थामा समेत पुगेकाे थियो।

२०२०काे मार्चमा सीबीआईले राणा कपुर विरुद्ध ठगी र आपराधिक षड्यन्त्रको मुद्दा दर्ता गरेको थियो। यसकासाथै, ईडीको अनुसन्धान पनि चलिरहेको छ। ईडीले आरोप लगाएको छ कि राणा कपुर र उनको परिवारका सदस्यहरू र अन्यले यस बैंकबाट केही कम्पनीहरूलाई ठूलो ऋण लिनको लागि करिब ४३०० करोड भारतीय रुपैयाँ घुस लिएका थिए। ईडीका अनुसार राणा कपुर अध्यक्ष हुँदा यस बैंकले करिब ३०,००० करोड रुपैयाँको ऋण स्वीकृत गरेको थियो, जसमध्ये २०,००० करोड रुपैयाँ खराब ऋणमा परिणत भएको थियो।

एजेन्सी ।




comments powered by Disqus

शेयर बजारलाई आफ्नो स्वभाविक लयमा चल्न नदिने यी खलपात्रहरु

Aug 23, 2024 06:20 AM

आनन्दकुमार भट्टराई

शेयर बजारलाई बिभिन्न तत्वहरुले असर गरिरहेको हुन्छ ।