२०७२ को भूकम्पमा बैंकको केन्द्रीय कार्यालय बालुवाटार र थापाथलीमा भवन ध्वस्त भएकाले दुबै ठाउँमा नयाँ भवन बनाइएको छ । तोकिएको समयभन्दा झण्डै एक वर्ष अघि सम्पूर्ण निर्माण कार्य सम्पन्न भएकाले गभर्नर अधिकारीले भदौ ५ गतेदेखि बैंकिङ कार्यालय, मुद्रा व्यवस्थापन र मौद्रिक व्यवस्थापन विभागका नियमित कार्य थापाथली भवनबाट सञ्चालन गर्न निर्देशन दिएका थिए । भूकम्प अगाडि ती विभागहरु थापाथलीमा संचालनमा थिए । भूकम्प पछि भने विभिन्न ठाउँमा भाडामा राखेर संचालन गरिदैँ आएको छ ।
गभर्नरको आदेशपछि मातहतका अधिकारीहरुले पनि भदौ ५ गते देखि नै थापाथलीको नयाँ भवनबाट सेवा शुरु गर्ने तयारी गरेका थिए । तर, सम्पूर्ण तयारी गरेर पनि अन्तिम समयमा भने त्यसलाई रोकियो । त्यसको कारण थियो-गभर्नर अधिकारीको अनुरोधलाई अस्वीकार गर्दै नेपाली सेनाले पठाएको जवाफ ।
गम्भिर प्रकृतिको कार्यालय भएकोले राष्ट्र वैंकका देशैभरिका कार्यालयहरुको सुरक्षा नेपाली सेनाले गर्ने गर्छ । स्रोतका अनुसार गभर्नर अधिकारीले भदौ ५ गतेदेखि थापाथली कार्यालयबाट कार्य संचालन हुने भएकोले सुरक्षा उपलब्ध गराइदिन नेपाली सेनाको प्रधान कार्यालयलाई केही समय पहिले नै अनुरोध गरेका थिए । त्यसको जवाफ भदौं लागेपछि बल्ल सेनाले गभर्नर अधिकारीलाई दियो । जस्को कारण भदौं ५ गतेबाट थापाथली कार्यालय संचालन गर्ने तयारीबाट अन्तिम समयमा गभर्नर अधिकारी पछि हटे ।
स्रोतका अनुसार सेनाले थापाथली भवनको सुरक्षाको निम्ति सुरक्षा टोली बस्ने भवन, २४ घण्टा पहरा दिनुपर्ने ठाउँमा उपयुक्त पोष्टको निर्माण नै नभएको जनाउँदै सेनाले अहिलेकै अवस्थामा सुरक्षा दिन असमर्थ रहेको जवाफ दियो । ‘यो ठूलो गल्ती होइन, तर सुरक्षाकर्मीको लागि आवश्यक पर्ने पोष्ट र बसोबास स्थल बनाउने बारेमा भने ध्यान पुगेको रहेनछ । सेनाले ती संरचना नबनेसम्म सुरक्षा दिन नसक्ने बताएपछि कार्यालय संचालन गर्ने अवस्था नै रहेन’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले मेरो लगानीसँग भने ।
उनले गभर्नरको नियतवस नै नभई प्राविधिक कारणले भएको कमजोरीलाई नेपाली सेनाले गम्भिर रुपमा लिएपछि त्यसलाई स्वीकार गर्नुको विकल्प नै रहेन । आवश्यक पूर्वाधार नभइ सेनाले सुरक्षाको जिम्मा लिन सक्ने कुरा पनि भएन । उस्को तर्क पनि सही थियो ।
सेनाको जवाफपछि राष्ट्र बैंकले अहिले सुरक्षाकर्मीको लागि पोष्ट र आवास बनाउने प्रकृया शुरु गरेको छ ।