शिक्षक आन्दोलनका मागहरुलाई सम्वोधन गरेर पठन पाठन सुचारु गराउन उनी रातदिन खटिइएकी थिइन । कहिले शिक्षक नेताहरुलाई एक्ला एक्लै र सामुहिक तथा कहिले प्रधानमन्त्री केपी ओली र उनका वरपरका नेताहरुसंग हारगुहार गर्दै समस्या समाधानको लागि पहल गरिन । नसकेपछि हार खाएर ‘स्वास्थ्यको कारण’ राजीनामा दिइन् ।
राजीनामा दिनु पर्ने वास्तविक कारण ‘खुलाउन नमिल्ने’ अवस्थामा ‘स्वास्थ्य’लाई कारण देखाउँदै राजीनामा दिनु नौलो होइन, पंचायतकाल भन्दा अगाडिदेखि चलेको चलन हो । भट्टराईले पनि पार्टी अध्यक्ष र प्रधानमन्त्रीको दबाब सहन सकिन वा शिक्षकहरुको आन्दोलनको अगाडि निरिह भएँ भन्न सक्ने अवस्था थिएन । त्यहीकारण उनले ‘स्वास्थ्य अवस्थाका कारण’ राजीनामा दिनु पर्यो ।
सुन्न र पढन पाएको कुरा के हो भने उनी आफ्नै पार्टीका नेता भएर पनि प्रधानमन्त्री ओलीकी ‘यसम्यान’ भन्दा पनि ‘शिक्षा मन्त्री’ नै बन्ने प्रयास गरिन् । गलतलाई गलत भनिन्, स्वीकार गर्न सकिनन् ।
कुर्सीमै बस्ने लोभ भएको भए उनी ओलीको मात्र होइन, उनको ‘किचन क्याविनेट’लाई पनि रिझाउने थिइन । शिक्षा नै नभए पनि अरु कुनै मन्त्रालयको मन्त्री बनिरहने थिइन । तर, उनले त्यो बाटो रोजिनन् । शिक्षक आन्दोलन फिर्ता गराउन नसकेपछि सहजरुपमा राजीनामा दिइन् ।
उनको राजीनामाले कुन कुन पक्षलाई कस्तो असर गर्यो, गर्ला त्यो भविश्यमा देखिदैं जानेछ ।
अहिले भने विद्याको राजीनामाले सबैभन्दा ठूलो प्रश्नको घेरामा अर्थमन्त्री विष्णु पौडेल परेका छन् ।
किनकी यति बेला देशको केन्द्रीय बैंक नेतृत्वविहिन छ । काम चलाउ गभर्नरको भरमा केन्द्रीय बैंक चलाइएको छ । केन्द्रीय बैंकमा गभर्नर नियुक्ति नहुनुका अदृश्य धेरै कारण होलान्, देखिने मुख्य कारण अर्थमन्त्री पौडेल नै हुन् ।
यसै पनि अर्थमन्त्री भनेको देशको समग्र अर्थतन्त्रको ‘बोस’ हो । त्यसमाथि उनी मन्त्रीपरिषद्ले गठन गरेको गभर्नर छनौट समितिको संयोजक पनि हुन् । एक महिना अगाडि नै छनौट समितिको गठन भएपनि एउटै बैठक नबसालिएको र छनौट समितिलाई ‘रबर स्ट्याम्प’ बनाउन खोजिएको भन्दै समितिका एक सदस्य तथा पूर्व गभर्नर विजयनाथ भट्टराईले राजीनामा दिइसकेका छन् । यसबाट अर्थमन्त्री पौडेलप्रति गम्भिर प्रश्न खडा भएको छ । या त उनलाई ओलीले दबाब दिएर गभर्नर नियुक्ति बल्झाइरहन लगाएका छन् या त उनी आफै शक्ति केन्द्रको दबाबलाई स्वीकार गर्न पनि नसक्ने र गर्न पनि नसक्ने दोधारको अवस्थामा छन् ।
होइन भने गभर्नर छनौट समितिको वैठक एक पटक पनि बसाल्न किन चासो दिएनन् ? गभर्नर जस्तो गम्भिर पदको नियुक्तिमा समेत संवेदनशिलता देखाउन नसक्ने, समितिको वैठक बसाल्न नसक्ने र नियुक्ति प्रकृयालाई बल्झाइ राख्ने अर्थमन्त्रीले देशको हितको लागि कडा निर्णयहरु गर्न सक्छन् भनेर कसरी विश्वास मान्ने ? अहिले एमाले भित्रै यस्तो प्रश्न उठ्न थालेको छ ।
साथै निवर्तमान शिक्षा मन्त्री विद्या के भट्टराईलाई जस्तै पौडेललाई पनि ओली र उनको ‘किचन क्याविनेट’ले काम गर्न नसक्ने पङगु बनाउन लागेको हो ? त्यसबारेमा यसै भन्न सकिदैन । तर, भट्टराईले समस्या समाधान गर्न नसकेपछि ‘स्वास्थ्यका कारण’ दिएको राजीनामाले पनि अर्थमन्त्री पौडेलमाथि नैतिक दबाब सृजना गरेको छ ।