उसले केही महिना अघि गरेको प्रक्षेपणमा विश्व अर्थतन्त्र यो वर्ष ३.३% ले बढ्ने प्रक्षेपण गरेको थियो । तर, यो साता आफ्नो पहिलेको प्रक्षेपणलाई संशोधन गर्दै केवल २.८%ले मात्र अर्थतन्त्र विस्तार हुने घोषणा गरेको हो ।
यसरी विश्वव्यापी आर्थिक वृद्धिमा मन्दी आउनुको प्रमुख कारण अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुरु गरेको व्यापार युद्ध नै प्रमुख कारण भएको आईएमएफको दावी छ । उस्ले व्यापार युद्धले निम्त्याएको अनिश्चयका कारण साना र कम विकसित देशहरुको तुलनामा विकसित देशहरुको आर्थिक वृद्धिदर घट्ने र त्यसको सबैभन्दा ठूलो असर भने संयुक्त राज्य अमेरिकालाई नै पर्ने स्पष्ट पारेको छ ।
गत जनवरीको शुरुमा कोषले अमेरिकाको यो वर्षको आर्थिक वृद्धिदर २.७% हुने प्रक्षेपण गरेको थियो । तर,अहिले त्यसलाई संशोधन गरेर १.८% ले मात्र अमेरिकी अर्थतन्त्र बढ्ने घोषणा गरेको छ । राष्ट्रपति ट्रम्पले व्यापार युद्ध शुरु गरेपछि परेको गम्भिर नकारात्मक असरका कारण अमेरिकी अर्थतन्त्र पूर्णरुपमा शिथिलतातर्फ उन्मुख भएको आईएमएफको भनाइ छ । तथ्यांकको बारेमा बोल्दै कोषका प्रमुख अर्थशास्त्री पिएर–ओलिभिए गुराँशाले कोरोनाले थला पारेको अर्थतन्त्रलाई चलायमान बनाउन जोड दिनु पर्नेमा ट्रम्पले व्यापार युद्ध शुरु गरेर अर्काे चुनौति थपेको बताएका छन् ।
ट्रम्पले ट्यारिफका कारण अमेरिकी उपभोक्ताले बढ्ता अमेरिकी सामान किन्ने, सरकारी राजस्व बढ्ने अनि देशभित्र ठूलो स्तरमा लगानी हुने भन्दै आएका छन् ।
तर अहिले परिणाम भने उल्टो देखिएको छ । विश्वभरकै आपूर्ति सृंखला खल्बलिएको छ र त्यसको सबैभन्दा ठूलो असर अमेरिकी उपभोक्ताहरुले भोगिरहेका छन् । उनीहरुको क्रय शक्ति उल्लेख्य रुपमा घटेको छ ।
अमेरिका मात्र होइन, युरोपेली देशहरुको आर्थिक वृद्धिदर निकै कम मात्र हुने आईएमएफले घोषणा गरेको छ । आईएमएफका अनुसार यो वर्ष बेलायतको वृद्धिदर १.१% मात्र हुने छ । जर्मनी, फ्रान्स र इटलीको आर्थिक वृद्धिदर त्यो भन्दा पनि घट्ने अनुमान गरेको छ । यो वर्ष जर्मनीको ०.३%, इटालीको ०.४% तथा फ्रान्स र जापानको ०.६ प्रतिशतले मात्रै आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको छ ।
युरोप र अमेरिकाको तुलनामा व्यापार युद्धबाट ट्रम्पले मुख्य निशाना बनाएका चीनको आर्थिक वृद्धिदर भने उच्च रहने आईएमएफले अनुमान गरेको छ । सो संस्थाका अनुसार सन् २०२५ मा चीनको आर्थिक वृद्धिदर यो वर्ष ४% रहने आइएमएफको ताजा प्रक्षेपण छ । यसअघि उसले चीनको वृद्धिदर ४.६% हुने भनेको थियो । अहिलेको अवस्थामा त्यति आर्थिक वृद्धिदर रहनु पनि सन्तोषजनक नै मान्नु पर्ने आईएमएफका अधिकारीहरुको भनाइ छ ।