मन्त्रीपरिषद्को निर्णय सकिनु १८ मिनेटअघि नै कुलमान हटाएको समाचार आयो, मन्त्री नै अनलाइनको समाचारदाता भन्नुपर्योः मन्त्री गुरुङ

Apr 25, 2025 02:42 PM Merolagani



सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाउने समाचार मन्त्रीपरिषद्को निर्णय हुनुभन्दा पहिले सञ्चारमाध्यममा आएको बताएका छन् ।

शुक्रवार काठमाडौंमा राष्ट्रिय सूचना आयोगद्वारा आयोजित सूचनाको हक सम्बन्धी विभागस्तरीय अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन । उनले मन्त्रिपरिषद्को बैठक सकिनुभन्दा १८ मिनेट अगाडी नै कुलमानलाई पदबाट हटाएको समाचार अनलाइन माध्यममा प्रकाशित भइसकेको बताए । उनले उक्त विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि कुरा गरेको बताए । उनले अनलाइनको समाचारदाता मन्त्री हो ? प्रवक्ताले नभन्दै कसले भन्यो ? र यसलाई कारबाहीको विषयमा प्रधानमन्त्रीसँग कुरा राखेको जिकिर गरे । उनले मन्त्रिपरिषद्को बैठकमा मोबाइल बाहिर राखेर आउन मन्त्रीहरूलाई आग्रह गरेको समेत बताए । उनले मन्त्रीपरिषद्को बैठकपछि कुलमान घिसिङलाई हटाएको सम्बन्धी सञ्चारमाध्यममा गरेको गरेको कुराकानी भाइरल बनेको बताउँदै आफूले प्रश्न मात्रैको व्यङ्ग्य गरेको बताए । मन्त्री गुरुङले सञ्चारमाध्यममा सूचना पुर्याउने मन्त्रीलाई आफूले चिनेको समेत धारणा राखे ।

उनले भने, “क्याबिनेटको बैठक चलिरहेको छ, कुलमान जीलाई हटाउने निर्णय गरेको बैठक सकिनुभन्दा १८ मिनेट अगाडी नै आइसक्यो अनलाइनहरूमा । त्यहाँ मन्त्रीहरू र मुख्यसचिव बाहेक अरू कोही छैन । कसले भन्यो त त्यो ? मैले प्रधानमन्त्री ज्यूलाई प्रश्न गरे, कसले भन्यो ? कि तपाईँले भन्नुभयो कि ? कि तपाईका माननीय मन्त्रीज्युहरूले भन्नुभयो कि ? कि मुख्यसचिवले भन्नुभयो ? कसैले त भन्यो ? प्रवक्ता तल गएर माइकको अगाडि अभिनुभन्दा अगाडी नै समाचारमा आइसक्यो, अनलाइनमा आइसक्यो । को छ यहाँ मन्त्री अनलाइनको समाचारदाता भन्नुपर्यो ? हैन भने, प्रवक्ताले नभनी किन भनेको ? अब यो क्याबिनेटमा मोबाइल लिएर आउन बन्द गर्नुपर्यो । कारबाहीको विषय बनाउनुपर्यो । अब क्याबिनेटको बैठकमा आउँदा खेरी मोबाइल बाहिर राखेर आउने । प्रवक्ताले बाहेक कसैले नभन्ने । यसरी भगवान् भरोस चलेको मुलुक के । त्यसको व्यवस्थापन त हामी आफैले गर्नुपर्छ । त्यो दिन अरू दुईवटा विषय थियो, आउन पाएको छैन गाडीबाट झर्ने बित्तिकै मन्त्रीज्यु कुलमान घिसिङलाई हटाएको हो ? कसरी थाहा पाउनुभयो तपाईंहरूले कुलमानले भनेको हो भने मैले । यो कुरा यति भाइरल भयो कि तपाईंले यसको नभन्नुपथ्र्यो । मैले त उसले पहिले नै सूचना थाहा पाइसकेको भनेर प्रश्न व्यङ्ग्य गरेको मात्रै । अहिले मलाइ थाहा पनि छ, त्यो मन्त्री को रहेछ भन्ने ।”

मन्त्री गुरुङले सरकारले गरेको निर्णयहरू कुनै बेला फिर्ता लिनुपर्ने हुनाले २४ घण्टापछि मात्रै मन्त्रीपरिषद्का निर्णयहरू सार्वजनिक गर्ने निर्णय गरिएको स्पष्ट पारे । उनले आफू निजी विचार राख्न प्रवक्ता नभएको बताए ।




comments powered by Disqus

गभर्नरमा गुणाकर भट्ट आउने भनेपछि शेयर बजार राताम्मे, किन एम अधिकारीको छायाँ देख्यो शेयर बजारले?

Apr 21, 2025 06:25 AM

गत बिहीबारसम्म शेयर बजार बढ्दो लयमा थियो। गएको बिहीबार मात्रै सूचक २६.५० अंकले बढेर २७२२.७३ अंकमा उक्लिएको थियो। नयाँ गभर्नर आउने भन्ने हल्ला बलियो बन्दै गएका कारण शेयर बजार समेत बढ्दो लयमा थियो।