जसमा विकास बैंकतर्फ मुक्तिनाथ विकास बैंक,नारायणी डेभलपमेन्ट बैंक र सालपा विकास बैंक कारबाहीमा परेका छन् भने वित्त कम्पनी तर्फ पोखरा फाइनान्स र जानकी फाइनान्स छन्।
विकास बैंक तर्फको नारायणी डेभलपमेन्ट बैंक र वित्त कम्पनी तर्फका पोखरा फाइनान्स र जानकी फाइनान्सले लामो समयदेखि खराब वित्तीय विवरण सार्वजनिक गर्दै आइरहेका छन्। तर ती तीन बैंक वित्तीय संस्थाको दोस्रो बजार मूल्य भने अझै पनि उच्च नै छ। गत बिहीबार नारायणी डेभलपमेन्ट बैंकको अन्तिम शेयर मूल्य १६ सय ५० रुपैयाँ कायम भएको छ। गएको एक वर्षको अवधिमा उक्त बैंकको प्रति कित्ता मूल्य दुई हजार ६० रुपैयाँसम्म उक्लिएको थियो।
नारायणी डेभलपमेन्ट बैंकलाई राष्ट्र बैंकले राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १ को खण्ड 'ग' को व्यवस्था पालना नगर्दा कारबाहीमा परेको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। नारायणीलाई समस्याग्रस्त संस्थाको सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभित्र तोकिए बमोजिमको चुक्ता पूँजी पुर्याउन, चुक्ता पूँजीको शतप्रतिशतमा नबढ्ने गरी सर्वसाधारणबाट निक्षेप सङ्कलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पुँजीको बढीमा १० प्रतिशतसम्मको सीमाभित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न सर्त तोकिएकोमा सोहीअनुसार न्यूनतम चुक्ता पुँजी कायम नगरेको देखिएको विवरणमा छ। 
तोकिएको सीमाभन्दा बढी सर्वसाधारणबाट निक्षेप सङ्कलन गरेको,एकल ग्राहक कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमाभन्दा अधिक हुने गरी वित्तीय स्रोत सङ्कलन गरेको लगायत लामो समयदेखि राष्ट्र बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न नसकेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई कारबाही गरिएको हो। तोकिएको न्यूनतम चुक्ता पूँजी तथा पूँजीकोष अनुपात,२०८२ असारसम्म अनिवार्य कायम गर्न दिइएका निर्देशन बारम्बार उल्लङ्घन भएको हुँदा नियामकीय निर्देशन उल्लङ्घन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाका सञ्चालक समितिलाई लिखित आदेश राष्ट्र बैंकले जारी गरेको छ।
लगातार खराब वित्तीय विवरण सार्वजनिक गर्दै आएको बैंकको शेयर मूल्य भने माथिल्लो स्तरमा कारोबार भइरहेको छ। जबकि नारायणी भन्दा निक्कै राम्रो वित्तीय विवरण प्रस्तुत गर्दै आएका विकास बैंकहरुको शेयर मूल्य भने चार सय रुपैयाँ प्रति कित्ताको हाराहारीमा छन्। कम्पनीको शेयर मूल्य उच्च बनाउनको लागि दोस्रो बजारमा एक गिरोह नै लागिरहेको जानकारहरू बताउँछन्। उनीहरूले शेयरको मूल्य घट्न नदिन अनेक तिकडम लगाइरहेका छन्। जसले गर्दा अहिले पनि बैंकको मूल्य प्रति कित्ता १६ सयमा रहन पुगेको जानकारहरूको भनाई छ। दोस्रो बजारमा शेयरको मूल्य कति हुनु पर्ने हो। त्यो बजारले नै निर्धारण गर्ने गर्छ। बजारले निर्धारण गर्ने र निर्धारण गराइनुमा भने निक्कै फरक हुन्छ। त्यसले गर्दा नारायणीको हकमा बजारले निर्धारण गर्ने भन्दा गिरोहले मिलेर नै निर्धारण गराइरहेको आरोप जानकारहरूको छ।
उता राष्ट्र बैंकले पहिलो पटक पोखरा फाइनान्सले अनिवार्य नगद मौज्दात रकम कायम नगर्दा ४६ हजार ७ सय १८ रुपैयाँ २३ पैसा नगद जरिवाना लगाएको छ। दोस्रो पटकको कारबाहीमा पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ परेका छन् । उनले व्यवस्थापनको प्रमुख जिम्मेवारीमा रहेका संस्थाको प्रमुख कार्यकारी अधिकृतले आफ्नो जिम्मेवारी पूरा नगरेको पाइएको सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा चित्तबुझ्दो नरहेकाले गुरुङलाई राष्ट्र बैंक ऐन, २०५८ बमोजिम ५ लाख रुपैयाँ जरिमाना गरिएको छ।
उक्त अवधिमा कम्पनीले निष्क्रिय कर्जा ३३.४४ प्रतिशत रहेको तथा न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्डबमोजिम नरहेकाले संस्थाको वित्तीय परिसूचक ६ महिना भित्र राष्ट्र बैंकको निर्देशन बमोजिम कायम गर्नुपर्ने सर्तसहित संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरेको छ। तर उक्त वित्त कम्पनीको दोस्रो बजार मूल्य भने चार सय आठ रुपैयाँ छ। यस अघि गएको एक वर्षको अवधिमा कम्पनीको प्रति कित्ता शेयर मूल्य सात सय ९५ रुपैयाँसम्म पनि पुगेको थियो। पहिलो त्रैमास देखि नै राष्ट्र बैंकले कारोबार नै बन्द गर्ने जस्ता विषय बजारमा आउन थालेपछि उक्त कम्पनीको शेयर मूल्य अहिले घट्दो क्रममा छ।
यता जानकी फाइनान्सको २०८१ मंसिरसम्म न्यूनतम पूँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकाले संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख गरेको छ। तर दोस्रो बजारमा भने उसको प्रति कित्ता मूल्य चार सय ६८ रुपैयाँ छ। गएको एक वर्षको अवधिमा उसको प्रति कित्ता मूल्य एक हजार ८३ रुपैयाँसम्म पुगेको थियो। पछिल्ला केही दिन यता भने कम्पनीको शेयर मूल्य घट्दो अवस्थामा छ।