खाता खोल्दा भने उनले अर्को कम्पनीमा भएको डिम्याट(हितग्राहि)खाता उपलब्ध गराए। अहिले जति पनि टिएमएस खोल्न पाइने सुबिधा छ तर डिम्याट खाता भने दुई भन्दा बढी खोल्न नपाउने नियम छ। सोही नियम अनुसार थापाले दुई ठाउँमा खाता खोलिसकेको दलिल दिएर कुमारीमा टिएमएस खाता खोलेका थिए।
थापाले टिएमएस खाता मात्रै खोलेनन्, शेयर किन्न भनेर ६० लाख रुपैयाँ कोल्याट्रल लोड पनि गरे। थापाले ६० लाख रुपैयाँ कोल्याट्रल लोड गरेपछि ब्रोकर कम्पनीले त्यसको चार गुणा स्वरूप दुई करोड ५० लाख रुपैयाँ शेयर किन्ने लिमिट राखिदियो। थापाले उक्त लिमिट प्रयोग गर्दै शेयर किने। शेयर खातामा पठाउनु पर्ने थियो। तर उनको डिम्याट खाता कुमारीमा थिएन। अर्कै ठाउँमा डिम्याट भएकोले शेयर किनेको पुरै रकम भुक्तानी दिएपछि मात्रै शेयर खातामा पठाउन सकिने जानकारी कुमारीले दियो। तर थापाले त्यहाँ दुई डिम्याट खाता खोल्न पाउने सुविधामा खेल्ने ठाउँ पाए।
थापाले उक्त शेयर बैंकमा राखेर निकाल्ने भएकोले खातामा पठाइदिन अनुरोध गरे। बैंकमा राखेर पैसा दिने भनेपछि कुमारीले उनको अर्कै ठाउँमा भएको खातामा शेयर पठायो। तर थापाले आफ्नो खातामा शेयर आएपछि बैंकमा धितो राखेनन्। बरु उनले बिओ टु बिओ (एउटा डिम्याट खाताबाट अर्को डिम्याटमा शेयर सार्ने)गरेर अर्को खातामा शेयर सारे। अर्को खातामा शेयर मात्रै सारेनन्, थापाले तुरुन्तै उक्त शेयर बिक्री गरे। थापाले अर्को ब्रोकर कम्पनीबाट शेयर बिक्री गरेर पैसा लैजान लागेको कुमारीले थाहा पायो। त्यसपछि कुमारीले आफ्नोबाट शेयर किनेर पैसा नतिरेकोले उसको भुक्तानी रोकिदिन अनुरोध गर्यो। अन्तिममा कुमारीले आफ्नो पैसा फिर्ता पायो। तर आफ्नो पैसा ल्याउन कुमारीले निक्कै धेरै पापड भने बेल्नु पर्यो।
कुमारीले ठुलो रकम भएकोले बढी चासो राखेको थियो। तर यसरी १० देखि १५ लाख र सानो सानो रकम भने यस्तै खाले काण्डले धेरै ब्रोकर कम्पनीको पैसा फसेको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकालको भनाइ छ। “कुमारीको भर्खरैको घटना हो। अलि ठुलो रकम भएकोले त्यसलाई ब्रोकर साथीहरू मिलेर समाधान गर्न सकियो। तर यसरी थुप्रैको पैसा अड्किएको गुनासो एसोसिएसनमा थुप्रै आएका छन्,” ढकालले भने।
अर्कोतर्फ केही लगानीकर्ताले दुईवटा भन्दा बढी डिम्याट खाता खोल्न पाइँदैन भनेर यसरी फ्रड गर्ने गरेका छन् भने केहीले भने निर्बाध रुपमा आफूले चाहे जति डिम्याट खाता अहिले पनि खोलिरहेका छन्। कुनै पनि व्यक्तिको दुई वटा डिम्याट खाता हुँदैमा अर्कोमा थप खोल्न पाइँदैन भन्ने नियम मात्रै छ। तर कसैले अहिले पनि तेस्रो,चौथो, पाँचौँ वा ५० औ ठाउँमा पनि निर्बाध खाता खोल्न सक्छ।
सिडिएससीको सिस्टमले रोक्दैन वा भनौँ ट्र्याक गर्न सक्दैन। कुनै पनि व्यक्तिले त्यसरी धेरै खाता खोल्न चाहेमा उसले नियम अनुसार निवेदन दिएर खाता खोल्न सक्छ। जसकोमा खाता खोल्न लागेको उसको कर्मचारीले अरू ठाउँमा खाता रहे नरहेको सोध्ने गर्छन्। तर खाता खोल्न आउनेले छैन भने ती कर्मचारीले सिस्टम मार्फत खाता रहे नरहेको पत्ता लगाउन सक्दैनन्। अर्कोतर्फ सिडिएससीको सिस्टमले पनि तेस्रो खात खोल्न रोक्दैन। जसले गर्दा जति पनि खाता खुल्न सकिने भएको हो। जबकि कतिपय डिपिहरुले डिम्याट खाता खोल्दा बायोमेट्रिकदेखि डिजिटल हस्ताक्षर र फोटो समेत खिच्ने गर्छन्। तै पनि खाता तेस्रो खाता खोल्न सकिने अवस्था छ।
यसरी एकातर्फ जति खाता खोले पनि हुने अवस्था छ भने अर्कोतर्फ दुई खाता मात्रै हुँदा ब्रोकर ठगिने अवस्था पनि छ। त्यसकारण कि त सिस्टमले नै तीन पुस्ते मिलेपछि अर्को खाता खोल्न नसक्ने अवस्था सिर्जना गर्नु पर्छ। अन्यथा दुई मात्रै खाता खोल्न पाउने नियम नै खारेज गर्नु पर्ने एसोसिएसनको माग छ। “यो दुई वटा मात्रै डिम्याट खाता खोल्नु पर्ने भन्ने नियम संसारमा कतै पनि छैन। त्यसकारण यो नेपालमा पनि व्यवहारिक छैन। यसलाई खारेज गर्नु पर्छ,” ढकालले भने।